यस वर्ष पनि नुवाकोटमा गोरु जुधाइयो

  • त्रिशूली प्रवाह
  • ५ माघ २०७९, बिहीबार १२:३४

बेत्रावती, माघेसङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाएर माघी पर्व मनाईएको छ ।

विशेषगरी नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका-१० रसुवासँगको संगमस्थल बेत्रावतीमा नौ हल, पञ्चकन्या गाउँपालिकामा ११ हल, लिखु गाउँपालिकाको कट्टिछाप, तादी गाउँपालिकाको सातबिंसे, शिवपुरी गाउँपालिकाको शेराबगरलगायतका स्थानमा गोरु जुधाईएको छ । स्थानीय सरकार गाउँपालिकाको सहयोगमा स्थानीय क्लब तथा समूहमार्फत नुवाकोटको पञ्चकन्या गाउँपालिका-३ पिपलडाँडा, लिखु गाउँपालिका-३ कट्टिछापलगायतका स्थानमा गोरुजुधाई प्रतिस्पर्धा आयोजना गरिएको थियो । नुवाकोटसहित छिमेकी जिल्ला धादिङको नीलकण्ठ नगरपालिका-५ खाल्टेको फ्याक्सेमा सात हल र नीलकण्ठ नगरपालिका-१४ धुवाँकोटको भँगेरीमा १७ हल गोरु जुधाइएको थियो । केही स्थानमा जुधाउने गोरुको यसअघि नै दर्ता गरेर ‘वान भर्सेज वान’अनुसार जुधाइएको थियो । बेत्रावतीमा प्रत्येक वर्ष वान भर्सेज वान गरी गोरुको प्रतिस्पर्धा गराउने गरिएको छ । नुवाकोट र रसुवाको सीमास्थल बेत्रावतीमा गोसाइँकुण्ड युवा क्लबले गोरुजुधाई मेला आयोजना गर्दै आएको छ । यस वर्ष क्लबको रजतजयन्तीसमेत रहेको मेला दुईदिने बनाइएको छ । गोरु जुधाउन सुरु भएको तारुकामा पनि दुईदिने महोत्सवको रूपमा यस वर्षबाट सुरु भएको छ । माघ १ र २ गते गोरुजुधाईका साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना भइरहेको छ ।

नेपालको गोरुजुधाईलाई स्पेनको ‘बुलफाइट’सँग तुलना गरेर प्रत्यक्ष अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यो मेला निकै प्रभावकारी बन्दै आएको छ । पछिल्लो समय स्थानीय सरकारसहित सङ्घ र प्रदेश सरकार, पर्यटन प्रवद्र्धनको क्षेत्रमा क्रियाशील सङ्घ-संस्थाको प्राथमिकतामा परेको पर्यटन व्यवसायी तथा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख एवम् हाल तादी गाउँपालिकाको अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी सन्तमान तामाङले बताए । यता, तारुकामा दुई दिन जुधाइने माघेसङ्क्रान्ति पर्वका अवसरमा तारुकामा आयोजित गोरुजुधाई ‘माघेसङ्क्रान्ति गोरुजुधाई महोत्सव’ व्यवस्थापन समितिमार्फत सञ्चालन भएको छ । समितिका अध्यक्ष मदन श्रेष्ठले यस वर्ष विभिन्न सांस्कृतिक कार्यक्रमसहित गोजुधाईलाई महोत्सवका रूपमा दुई दिन सञ्चालन गरेको बताए । अघिल्लो वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यस वर्ष महोत्सवका रूपमा दुई दिन मनाइएको हो । गोरुलाई समय निर्धारण नगरी जुधेसम्म जुधाइने गरिन्छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गरिएको थियो ।

विगतमा भन्दा पृथक् शैलीमा यस वर्षको गोरुजुधाई प्रतियोगिता सञ्चालन भएको छ । तारुकाको गोरुजुधाईलाई नेपालकै उद्गम थलोको रूपमा लिइन्छ । तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा वि.संं. १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने यहाँका बुढापाकाको भनाइमा गोरुजुधाईलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले जानकारी दिए । तारुकाको गोरुजुधाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका प्रवक्ता एवम् प्रतिनिधिसभा सदस्य डा. प्रकाशशरण महत, विशेष अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामासहित गाउँपालिका अध्यक्ष शिव अधिकारी र अन्य सरोकारवाला निकायका प्रमुख प्रतिनिधिीो उपस्थिति रहेको थियो । गोरुजुधाईलाई अहिले धेरै स्थानमा अनुशरण गरिएको र आधुनिकता दिए पनि तारुकाको गोरुजुधाईमा मौलिकपन कायम राखेर परम्पराको निरन्तरता र माघेसङ्क्रान्ति पर्वको महत्वको गरिमालाई कायम राखेर सञ्चालन गरिँदै आएको गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ । तारुकामा हरेक वर्ष गोरुजुधाई कार्यक्रम विवादरहित हुन सकेको छैन । हरेक वर्षको कार्यक्रममा दलीय सहमति नहुँदा कुनै न कुनै दलले बहिष्कार गर्ने, हुलदङ्गा मच्चाउने काम भइरहेको छ ।

यस वर्ष पनि गाउँपालिकाका उपाध्यक्ष र सम्बन्धित वडाध्यक्षसहित जनप्रतिनिधिले उक्त कार्यक्रमलाई बहिष्कार गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि ल्याउन आयोजक र गाउँपालिकाले हेलिकोप्टर चार्टर गरेको खर्चबारे सामाजिक सञ्जालमा अनर्गल म्यासेज आइरहेका छन् । त्यसबारेमा आयोजक र पालिकाले स्पष्ट पार्न नसक्दा आगामी दिनमा मेला हुने-नहुने अवस्था बनेको छ । प्रतियोगितामा विजेता गोरुका धनीलाई दिने पुरस्कार र व्यवस्थापन खर्च अन्योल भएपछि स्थानीयले विरोध जनाएका छन् । बेत्रावतीमा नेपाल-भोट सन्धिमा प्राप्त उपलब्धिमा सुरु बेत्रावतीको गोरुजुधाईको इतिहास भने फरक रहेको यहाँ गोरु जुधाउँदै आएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुवास डङ्गोलले बताए । नेपाल र भोटबीच भएको युद्धअन्तर्गत वि.सं. १८४९ मा बेत्रगंगा (फलाखु) नदी किनारमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जितको उत्सवमा गोरुजुधाई सुरु भएको उनको भनाइ छ । नेपाल-भोट युद्धमा नेपालले के पायो भनेर प्रश्न पनि उठ्ने गरेको छ । तर, बेत्रावतीमै भएको सन्धिमा नेपाल-तिब्बत मैत्रीपूर्ण सम्बन्ध रहने, उपहार साटासाट गर्ने, नेपालीलाई बाह्य शक्तिले आक्रमण गर्दा चीनले सघाउने, नेपालले लुटेको सम्पत्ति फिर्ता दिने, दुई पक्षबीचको विवादमा चिनियाँ आवासीय मन्त्रीसमक्ष पेस गर्नेलगायत सहमति भएको पाइन्छ । नेपाल आक्रमण गर्न बेत्रावतीसम्म आएको चिनियाँ सैनिक फौज फर्केर गएपछि नेपालको सीमा रसुवागढीसम्म कायम भयो । यसलाई यहाँ नेपालको जितको उत्सवमा गोरु जुधाएर विजयीको गाथा गाइएका इतिहास रहेको छ । नुवाकोट–रसुवावासीको संयुक्त पहलमा बेत्रावतीमा ०६७ देखि गोसाइँकुण्ड युवा क्लबको पहलमा व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको क्लबका पूर्वअध्यक्ष सुरज लवटले जानकारी दिए ।
कार्यक्रम आयोजना गर्दै आइरहेको गोसाइँकुण्ड युवा क्लबको यस वर्ष रजत महोत्सव पनि भएकाले कार्यक्रम विशेष रूपमा सम्पन्न भएको छ । क्लबको अगुवाइमा निर्मित बेत्रावती सामुदायिक भवन शिलान्यास, रक्तदान, साङ्गीतिक कार्यक्रम र गोरुजुधाई प्रदर्शनी भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्यले उद्घाटन गरेको कार्यक्रममा क्लबले विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो । कार्यक्रमको उद्घोषक गणेश श्रेष्ठ तथा विपसना र कार्यक्रमका सभापति एवम् क्लबका अध्यक्ष सुवास डङ्गोल ‘दीपु’ले पत्रकार महासङ्घ नुवाकोट अध्यक्ष कपिलदेव खनाल तथा नुवाकोट जिल्लाका ज्येष्ठ पत्रकार एवम् त्रिशूली प्रवाह साप्ताहिकका सम्पादक शरण उत्सुक सापकोटा, क्लबका पूर्वअध्यक्ष अष्टमान डङ्गोल, योगेश डङ्गोल, पूर्णबहादुर डङ्गोल, सुरज लवट, समाजसेवी सोमलाल लवट र मंगलदास लवटलाई सम्मान गरेका थिए । त्यसैगरी, मरणोपरान्त सम्मानबाट समाजसेवी स्व. शंकरदास डङ्गोल र चक्रबहादुर डङ्गोलका परिवारलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार डिभेन साउल ब्यान्ड, ध्रुव तामाङ, राधिका पुन बेलबासे, सुवास शर्मा, स्थानीय कलाकारको नृत्य र झाँक्री प्रदर्शनमा बेत्रावती नेवार समुदायको लाखेनाच, जिबजिबे रसुवाको ब्राह्मण बालन, भजनकीर्तन, रसुवा मगर सङ्घबाट सोरठी नाचगानले उक्त दिनभर बेत्रावती बजार अस्तव्यस्त नै बन्यो । सो कार्यक्रममा विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङलगायतको उपस्थिति रहेको थियो ।

पञ्चकन्यामा घले राजाको मनोरञ्जन तथा विजयोत्सवमा नुवाकोटको तारुका, बेत्रावतीभन्दा पञ्चकन्यामा गोरु जुधाइने परम्पराको इतिहास फरक छ । पञ्चकन्या गाउँपालिकामा तत्कालीन समयमा घले र तामाङ समुदायको बसोवास रहेको स्थानमा गोरुजुधाईको इतिहास घले राजालाई मनोरञ्जन दिनदेखि तत्कालीन घले राज्यमा विजयोत्सव मनाइने गरिएकोसँग जोडिन्छ । पञ्चकन्यामा जुधाइने गोरु बाइसे÷चौबीसे राज्य सञ्चालनको समयमा घले राजाले मनोरञ्जन लिन गोरुलगायतका पशु–चौपाया जुधाउने गरेको इतिहासलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले जानकारी दिए । यहाँ ०७२ देखि संस्थागत रूपमा गोरु जुधाउन थालिएको हो । गोरुधनी किसानको उल्लेख्य सहभागितामा यहाँ जुधाइने गोरुलाई ‘वान भर्सेज वान’का आधारमा नछुट्टिएसम्म जुधाइने गरिएको छ भने विजेता गोरुधनीलाई नगदसहित प्रशंसापत्रले सम्मान गर्ने गरिएको छ । प्रतिस्पर्धामा गोरु सहभागी गराउन गोरुधनी किसान उत्साहित हुने गरेका छन् भने उनीहरूलाई आकर्षण गर्न आयोजकले जुधाइने गोरुको बिमा, उत्कृष्ट तथा आकर्षण जुधाइलाई थप प्रोत्साहनको समेत व्यवस्था मिलाइएको थियो । खेती गर्नसमेत गोरु पाल्न छाडेका किसानले मकरसङ्क्रान्तिमा प्रतिस्पर्धा गराउनलाई भनेर व्यावसायिक रूपमा गोरु पालेर जुधाउन ल्याउने गरेका छन् ।

तारकेश्वर गाउँपालिका-३ नुवाकोटका वडाध्यक्ष सूर्यमान श्रेष्ठका अनुसार उत्कृष्ट गोरुधनी बन्न किसानले पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर हिमालजस्तो जुरो बनाएर गोरु पाल्ने गरेका छन् । गोरुजुधाई भिडन्तले धार्मिक एवम् सांस्कृतिक प्रतिस्पर्धा मात्र नभई पछिल्लो समय खेल पर्यटनको प्रवद्र्धनमा समेत टेवा पुग्दै आएको छ । गोरुजुधाईलाई आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन सम्बन्धित पालिकामार्फत आर्थिक सहयोग पुगेको छ भने नेपाल पर्यटन बोर्डले समेत प्रवद्र्धन गर्दै आइरहेको छ । मकरसङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको विभिन्न स्थानमा जस्तै नुवाकोटसँग सीमा जोडिएको धादिङको खाल्टे, भँगेरीलगायत स्थानमा गोरुजुधाई प्रतिस्पर्धासहित कृषि प्रदर्शनीलगायतका माध्यमबाट परम्परालाई निरन्तरता दिइएको छ ।