सार्वजनिक हितका लागि सक्रिय हितबहादुर

  • त्रिशूली प्रवाह
  • ५ माघ २०७९, बिहीबार १३:२७

बागेश्वरी, सूर्यगढी गाउँपालिका-३ मा सार्वजनिक जनहितको कार्यमा आजीवन सक्रिय हितबहादुर प्याकुरेलले शिव मन्दिर र चौतारो मास्ने स्थानीय सरकारको निर्णयलाई रोकेका छन् । दुई हजार वर्षअघिको ऐतिहासिक, धार्मिक शिव मन्दिर र गाउँको चौतारो तथा ढुङ्गेधाराको अस्तित्व मेटाउने कार्यलाई उनी अदालतसम्म पुगेर रोक्न सफल भएका छन् ।

प्याकुरेलले बागेश्वरी चोगदे क्षेत्रमा गणेश, सरस्वती, राधाकृष्ण, प्रजापिता ब्रह्माको मन्दिर निर्माण गरिसकेका छन् । गाउँको सूर्यगढी भँगेरी सामुदायिक वन उपभोक्ता समूहको कार्यक्षेत्रभित्र रहेको तीन थुम्कामा रहेको शिव मन्दिर गाउँपालिकाले भत्काएर पालिका भवन बनाउने निर्णय गरेपछि त्यसविरुद्ध उनी अदालत गएका थिए । प्याकुरेलले उच्च अदालत पाटनमा मन्दिर संरक्षण र पुनर्निर्माण गर्न पाऊँ भनी निवेदन दर्ता गराएका थिए । अदालतले उनको मागलाई सदर गर्दै पालिकाले आफ्नो क्षेत्राधिकारभित्रको सरकारी तथा सार्वजनिक सम्पत्तिको रेखदेख मर्मतसम्भार तथा अन्य प्रबन्ध गर्नुपर्नेमा अतिक्रमण गरी मास्न नपाइने फैसला गरेको थियो । निवेदकको मागअनुसार धार्मिक सम्पदासहितको सामुदायिक वन क्षेत्रभित्रको जग्गा कानुनले कोही कसैलाई अतिक्रमण गर्न नपाइने फैसला गरिदिएपछि पालिकाको निर्णय बदर भएको छ । उक्त क्षेत्रमा पालिकाले भवन बनाउने निर्णय गरेको थियो । अदालतले स्थानीयको भावना र प्राकृतिक मनोरम स्थलको संरक्षणको पक्षमा फैसला गरेर न्याय दिएको प्याकुरेलले बताए । यस क्षेत्रमा रहेको पुरातात्विक संरचनालाई स्थानीय पालिकाले मास्न खोजेपछि ढुङ्गेधारा र चौतारोको संरक्षण गरिपाऊँ भनी प्याकुरेलले अदालतमा मुद्दासमेत विगतमा दर्ता गरेका थिए । उनको मागअनुसार ढुङ्गेधारा र चौतारो विनाश हुनबाट जोगिएको छ । प्याकुरेलले १४ वर्ष शैक्षिक कर्म गरेको बागेश्वरी माविको परिसरमा रहेको सरस्वती मन्दिर ०७२ सालको भूकम्पले भत्किएपछि जीर्ण रहेको थियो ।

उक्त जीर्ण मन्दिर नयाँ बनाएर सरस्वतीको मूर्ति नयाँ पदस्थापना गरेर विद्यालयलाई हस्तान्तरण गरेका थिए । उनले उक्त विद्यालयमा जीवनको ऊर्जाशील समय निःशुल्क शिक्षण सेवा गरी प्रधानाध्यापक भएर आर्थिक, भौतिक, शैक्षिक उन्नयनमा १४ वर्ष योगदान गरेकोमा विद्यालयले गत महिना कृतज्ञता ज्ञापन गरेको थियो । विभिन्न सामाजिक कार्यमा विगतदेखि नै क्रियाशील प्याकुरेल हाल ब्रह्माकुमारी राजयोग सेवामा सक्रिय छन् । ८४ वर्षको उमेरमा समेत उनको सामाजिक कार्यमा गरिरहेको जोस, जाँगर युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेको सूर्यगढी गाउँपालिका– ३ का अध्यक्ष पिङ्गलबहादुर थापामगरले बताए । सुरु गरेका सामाजिक अभियानलाई अदालतले समेत कदर गरेर फैसला गरेपछि आत्मबल बढेको उनले बताए । आफ्नो पूर्णजीवन नै अरूको सेवामा समर्पित गरिरहेका प्याकुरेलले सार्वजनिक सम्पत्तिप्रति कुदृष्टि लगाउनेको सातो उडाउने गरेका छन् ।