नौ करोडको लगानीमा लिची वन रिसोर्ट सञ्चालन

  • त्रिशूली प्रवाह
  • ५ माघ २०७९, बिहीबार १३:३९
  • राजेन्द्र बस्नेत

गजुरी, माछाबजारको नामले सुप्रसिद्ध धादिङको मलेखु बजारबाट दुई किलोमिटरभित्र तीन वर्षअघि सञ्चालनमा आएको लिची वन रिसोर्टमा जग्गा र भौतिक पूर्वाधारमा नौ करोड लगानी भइसकेको छ । कृषि पर्यटनमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित पारिवारिक वातावरणमा ०७६ सालबाट गजुरी गाउँपालिका-२ वितलव (मायाटार) मा लिचीवन रिसोर्ट सञ्चालनमा आएको थियो ।

सञ्चालन भइरहेको रिसोर्टमा लिची बगैँचा, आभा कृषि तथा पशुपक्षी फर्मले उत्पादन गरेको प्राङ्गारिक तरकारी तथा चामल, माछामासु, नेपालीपनको खाना उपलव्ध छ । रिसोर्टको बीचमा एउटा नेपाली मौलिक घर छ । जसमा बुइँगल, बार्दली, चुलो र मझेरी, पालीमुनि ढिँकी, जाँतो, फलैँचा, सिँढी, बार्दलीमा सुकाएको मकैको झुत्ता छन् । नेपालीपनको घरको मौलिकता जोगाउन ०७२ सालको भूकम्पले क्षति पु¥याएको घरलाई प्रबलीकरण गरिएको छ । अर्काे तीनवटा आरसिसी गरेको आधुनिक घरमा एयर कन्डिसन रुम एटेज बाथरुम रहेका छन् । रिसोर्टमा पर्यटकले आफ्नोे क्रयशक्ति र शोखलाई नेपाली मौलिकपन र आधुनिक सुविधामा रम्न पाउने व्यवस्था गरिएको छ ।

पर्यटन विकाससँगै आधुनिकताको विकास भइरहेको र नेपाली मौलिकपन हराउँदै जाने क्रम देखिएकाले कृषि पर्यटनको एकीकृत विकास योजनाअनुसार ११ रोपनी जग्गामा लिची लगाएको रिसोर्टका सञ्चालक राजनकुमार कँडेलले बताए । पढाइलेखाइ र जागिरको दौरान जहाँ पुगे पनि पेसा-व्यवसाय आफैँ जन्मे-हुर्केको ठाउँमा गर्नुपर्छ भन्ने मान्यता बोकेर रिसोर्टमा लगानी गरिरहेको कँडेलले बताए । रिसोर्ट निर्माण सम्पन्न हुँदा नौ करोड लगानी हुने भए पनि अहिले पाँच करोड रुपैयाँ लगानी भइसकेको छ । रिसोर्टमा १९ वटा शयनकक्ष, सेमिनार हल, बैठककक्ष, रेस्टुरेन्टको व्यवस्था छ । रिसोर्ट निर्माण सम्पन्न गरिसकेपछि सञ्चालन गर्नुभन्दा निर्माण गर्दै रिसोर्ट सञ्चालन गर्दा प्रचार-प्रसार भइरहने र पर्यटक आगमनसमेत भइरहने भएकाले रिसोर्ट सञ्चालनमा ल्याएको कँडेलले बताए ।

विशेषगरी पारिवारिक भ्रमणलाई ध्यानमा राखी रिसोर्टमा शान्त वातावरण, स्थानीय मनभोग चामलको बासनादार भात, लोकल कुखुराको मासु, आफ्नै बारीमा लगाइएको अर्गानिक तरकारी, मुला, गुन्द्रुकको अचार, दही, दूध खानाका रूपमा खान पाइने प्रबन्ध-निर्देशक विष्णुमाया कँडेलले बताइन् । लिची फुल्ने र फल्ने समयमा त यसले झन् सुन्दरता दिनेछ । लिची बगैँचाभित्र टेबुल-कुर्सी राखेर खाना खाने प्रबन्ध मिलाइएको प्रबन्ध-निर्देशक कँडेलले बताइन् । माछाबजारका रूपमा पहिचान बनाएको मलेखु बजारबाट दक्षिण मलेखु भण्डारा सडकखण्डको मलेखुबजारबाट दुई किलोमिटरमा लिची वन रिसोर्ट पुग्न सकिन्छ । त्रिदेशीय द्रुतमार्गका रूपमा चर्चामा रहेको रसुवागढी-गल्छी-मलेखु-भण्डारा-ठोरी सडकखण्ड छेउमै रिसोर्ट रहेकाले पनि रिसोर्टको भविष्य उज्ज्वल रहेको सञ्चालक कँडेलले बताए । रिसोर्टले पर्यटकको भ्रमण समय लम्ब्याउन मनकामना जानेहरूलाई एक रात वास बसाउने प्याकेज ल्याएको छ । जलयात्रामा रमाउनेलाई त्रिशूली नदीमा जलयात्रा गराउने प्रबन्ध गरेको छ ।

रिसोर्टदेखि वितलवसम्म हाइकिङ, तुदी झरना स्नान गर्ने व्यवस्था मिलाएको छ । चेपाङ जातिको बसोवास रहेको क्षेत्र र संस्कृतिको अवलोकन गर्न पाइने यस रिसोर्टबाट नजिकै रहेको पुष्पलाल पार्कको मनोरम दृश्यको विशेषता रहेको छ । रिसोर्टको कार्यालय नागार्जुन नगरपालिका-१ राधाकृष्ण मन्दिरनजिकै र सम्पर्क कार्यालय खिचापोखरी मेट्रो प्लाजामा रहेको सञ्चालक कँडेलले बताए । सुरुमा एयरलाइन्स र पछि औद्योगिक क्षेत्रमा काम गरेका कँडेल राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अङ्ग पर्यटन क्षेत्र भएकाले आफूले लगानी गरेको बताए । पर्यटन प्रवद्र्धन गर्न होटेल तथा रिसोर्ट सञ्चालन गर्नुपर्ने हुन्छ । पर्यटन क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न सके मात्र बाह्य पर्यटक भित्र्याउन सकिने कँडेल बताउँछन् ।