विदुर, गोरु जुधाउने परम्पराको जननी दाबी गर्ने नुवाकोट जिल्लाको तारुकामा बर्सेनि हुने गोरुजुधाई मेलालाई लिएर सधैँ राजनीति हुँदै आएको छ । अहिले नुवाकोट जिल्लामै गोरुजुधाईलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचन भइरहेको छ ।
०६२ सालअघि पनि मेला गर्ने चलन थिएन । सो बेला तारुकाकै गैराबारी, ढकालगाउँ, सिम्पानी, बँदालीलगायतको ठाउँमा किसानले आफूअनुकूल स्थानीयको उपस्थितिमा गोरुजुधाई गर्दै आएका थिए । समाजको विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गोरुजुधाईलाई प्राथमिकता दिन थालेपछि पछिल्लो समय मेला थप व्यवस्थित हुँदै आएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घले गरेको पहिलो नुवाकोट महोत्सवबाट तारुकामा सीमित गोरुजुधाई कार्यक्रम बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको चौरमा गरेपछि राष्ट्रियस्तरमा चर्चामा आएको हो । गाउँमा गोरु पाल्ने किसान भन्दा पनि गोरुजुधाई मेलामा स्थानीय जम्मा गरेर भाषण गर्ने मञ्च बनाउन भने सधैँ राजनीतिक खिचातानी हुँदै आएको छ । मेलालाई जति सञ्चारमाध्यमले प्राथमिकता दिन थाल्यो स्थानीय रूपमा त्यति नै राजनीति हुँदै आएको छ । यस वर्ष पनि मेला सञ्चालनको क्रममा स्थानीय सरकारको आडमा एकलौटी मेला चलाएको आरोप अन्य दलले नेपाली काङ्ग्रेसमाथि लगाएको छ । गठबन्धनबाट स्थानीय सरकारको नेतृत्वमा पुगेका गाउँपालिका अध्यक्ष शिव अधिकारीले गाउँपालिकाबाट आठ लाख अहिलेसम्मकै बढी बजेट विनियोजन गरेपछि गोरुपालक किसान र स्थानीयको चासो बढेसँगै मेलामा थप राजनीतिकरणको बीजारोपण भयो ।
पुस १४ गते मेला तयारीका लागि बसेको स्थानीय किसान जनप्रतिनिधिसहितको बैठकमा सर्वसम्मतिबाट मेला सञ्चालन समिति बनाउने प्रयास स्थानीय सकारको आडमा काङ्ग्रेसका कार्यकर्ताले अवरोध गरी रातको समयमा एकलौटी समिति बनाएपछि स्थानीय एमाले र माओवादीका कार्यकर्ता विरोधमा उत्रेका थिए । हुन त विगतमा पनि काङ्ग्रेस र माओवादीले चन्दनीस्थित कटहरबोट पाटामा तत्कालीन पर्यटनमन्त्री पोष्टबहादुर बोगटीलाई प्रमुख अतिथि बनाएर मेला सञ्चालन गर्दा एमाले एक्लैले ठूलोपोखरीस्थित क्याम्पस ग्राउन्डमा एमाले युवा नेता महेश बस्नेतको उपस्थितिमा कार्यक्रम सञ्चालन गरेको थियो । त्यस घटनाले तारुकाको गोरुजुधाईको विवाद थप चर्चामा आएको थियो । अवोध पशु जुधाएर रमाइलोबाहेक मेलालाई लिएर राजनीति पनि बढ्दो छ । अहिले सत्तासाझेदार एमाले र माओवादीले मेला काङ्ग्रेसले एकलौटी गरेको भन्दै उपस्थिति नै जनाएनन् । गाउँपालिका अध्यक्ष शिव अधिकारी प्रमुख अतिथि काङ्ग्रेस प्रवक्ता डा. प्रकाशसरण महत र प्रदेश सभाका सांसद बहादुरसिंह लामालाई लिएर दुई घण्टाको मोटरबाटोमा हेलिकोप्टर चढेर पुगेपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । हेलिकोप्टर चढ्न मेलाका लागि छुट्याइएको बजेटको दुरुपयोग हुने भन्दै एमाले-माओवादीका कार्यकर्ताले विरोध जनाएका छन् भने गाउँपालिका अध्यक्ष अधिकारीले सरकारी खर्च हेलिकोप्टर भाडामा प्रयोग नहुने जनाएका छन् । करिब एक लाखभन्दा बढीको हेलिकोप्टर खर्च कसले व्यहोर्छ भन्ने अहिले जिज्ञासाको विषय बनेको छ । यस वर्ष तारुकामा २८ हल गोरु जुधाइएको थियो ।