निर्माणजन्य सामग्रीको अभावले निर्माणाधीन आयोजना ठप्प निर्माण औजार प्रशासनमा बुझाउने तयारीमा व्यवसायी

  • त्रिशूली प्रवाह
  • १२ माघ २०७९, बिहीबार ११:३३
  • शम्भुराम दाहाल

विदुर, निर्माण उद्योगका लागि अति आवश्यक कच्चा पदार्थ गिटी, बालुवा, ढुङ्गा, माटोलगायतका निर्माण सामग्री उत्खनन, ओसार–पसारलगायत कार्य गर्न जिल्ला प्रशासन कार्यालयले रोकेपछि जिल्लाका सम्पूर्ण निर्माण उद्योग प्रभावित भएको छ । निर्माण उद्योग प्रभावित भएपछि निर्माण व्यवसायी र यससँग संलग्न व्यवसायीले निर्माण कार्यमा प्रयोग हुने सम्पूर्ण औजार जिल्ला प्रशासन कार्यालयमा बुझाउने तयारी गरिरहेका छन् ।

जिल्लामा सबै निर्माण कार्य बन्द भएपछि नुवाकोट निर्माण व्यवसायी सङ्घले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र निर्वाचित जनप्रतिनिधिलाई सहजीकरण गरिदिन आग्रह गर्दै आए पनि कार्यान्वयन नहुँदा व्यवसायी सडकमा ओर्लिनुपरेको सङ्घका महासचिव सुशीलप्रसाद फुँयालले बताए । नुवाकोटको सबै क्रसर तथा बालुवा प्रशोधन उद्योगमा अनुगमन गरेर जिल्ला प्रशासन कार्यालयले ताला लगाएपछि दुई हप्तादेखि निर्माण सामग्री अभावमा निर्माणाधीन आयोजना ठप्प भएका छन् । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएर उद्योगको वैध/अवैधको अवस्थासहित नवीकरण भए-नभएको स्थलगत अध्ययन गर्न निर्देशन दिएको थियो । गृहको निर्देशनपछि प्रशासनले जिल्लाका सबै क्षेत्रमा रहेका उद्योगको स्थलगत निरीक्षण गर्दा क्रसर तथा जिल्लाको सबै बालुवा प्रशोधन उद्योग अवैध रहेकाले बन्द गरेको बताएको छ । ढुङ्गा, गिटी तथा बालुवा उत्खनन, प्रशोधनसम्बन्धी क्रसर तथा उद्योग सञ्चालन गर्दा कानुनबमोजिम व्यवसाय दर्ता तथा नवीकरण गर्नुपर्नेमा उद्योग सञ्चालन गर्दा अनुमति लिनुपर्ने तथा नियमअनुसार तोकिएबमोजिमको स्थान तथा परिमाणमा मात्र उत्खनन तथा प्रशोधन कार्य नगरेको पाइएकाले बन्द गर्नुपरेको प्रशासन कार्यालयले बताउँदै आएको छ । कानुनविपरीत सञ्चालनमा रहेका क्रसर र बालुवा प्रशोधन उद्योग बन्द गरिएको प्रशासनले बताइरहे पनि निर्माण व्यवसायीले आयोजनाको नाममा अनुमति लिएर सञ्चालन गरेको वा क्रसर व्यवसायीले सञ्चालन गरेका क्रसरबाट निर्माण सामग्री नपाएकाले निर्माण कार्यले गति लिएको बेला सबै काम सरकारले बन्द गराएको आरोप व्यवसायीले लगाएका छन् । निर्माण व्यवसायी सङ्घ नुवाकोटले गत हप्ता पत्रकार सम्मेलन गरेर नदीजन्य तथा खानीजन्य निर्माण सामग्रीको हालको समस्याले गर्दा चालू निर्माण परियोजनाको लागत र समय बढ्ने बताएको छ ।

जिल्लामा सञ्चालित साना–ठूला सबै आयोजनालाई गिटी, बालुवा, ढुङ्गा र माटोको अभावले रोकिएको नुवाकोट निर्माण व्यवसायी सङ्घका महासचिव सुशील फुँयालले बताए । कार्य क्षेत्रमा सिमेन्ट, रडसहित कामदार रहे पनि बालुवा र गिटीका कारण त्रिशूलीबजारमा निर्माणाधीन पुल, भैरमकोट–देउराली सडक, बेत्रावती–धुन्चेको सडकको ढलान, मध्यपहाडी लोकमार्गको पुल निर्माणदेखि राष्ट्रिय गौरवको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजनाको काम पूरै ठप्प रहेको छ । गल्छी–त्रिशूली–मैलुङ सडकखण्डका ठेकेदार क्रसर सञ्चालनका लागि र स्टक सामग्री लैजान स्वीकृतका लागि प्रशासन र स्थानीय पालिकामा एक हप्तादेखि धाइरहेका छन् । शिवपुरी र पञ्चकन्यामा निर्माणाधीन अस्पतालमा ढलानका लागि फर्मा ठोकेको महिना दिन हुन लागेको छ । बालुवा र गिटी नहुँदा ढलान हुन सकेको छैन । सरकारी आयोजनाको भन्दा पनि निजी घर निर्माण गर्नेको पनि गिटी र बालुवाको अभावले सिमेन्टी बिग्रेको बताउन थालेका छन् ।

नदी तथा खानीजन्य सामग्रीको उत्पादन, उत्खनन र सङ्कलनका लागि रोयल्टीको निर्धारण स्थानीय निकायले गर्ने गरेकाले अहिले स्थानीय निकायको राजस्वसमेत गुमिरहेको छ । प्रशासनले नदीजन्य तथा खानीजन्य निर्माण सामग्रीको हालको समस्याले त्यस्तो सामग्रीको अभाव सिर्जना भई कार्टेलिङले प्रश्रय पाउने र विगतमा जस्तै चरम मूल्य वृद्धि हुने र केही समयदेखि चर्केको मूल्य वृद्धिको मारमा परेका निर्माण व्यवसायीलाई थप मार पर्ने निश्चित रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए । यसले निर्माण परियोजनाको लागत र समय बढ्नेसमेत उनले बताए । अहिलेको निर्माणजन्य सामग्रीको अभाव हल गर्न सरकारले लचिलो हुनुपर्ने दबाब सरोकारवाला पक्षले दिइरहेका छन् । करोडौँ लगानी भएर सञ्चालनमा रहेका क्रसर तथा बालुवा उद्योगको वैज्ञानिक तथा व्यावहारिक ढङ्गले समाधान गर्नुपर्ने आवाज नागरिक समाजका अगुवाले उठाइरहेका छन् ।