सशस्त्र प्रहरी दिवस सम्पन्न

  • त्रिशूली प्रवाह
  • १२ माघ २०७९, बिहीबार ११:४३

विदुर, २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्म हेडक्वार्टर नुवाकोटले विविध कार्यक्रम सम्पन्न गरेको छ ।

दिवसको अवसरमा सशस्त्र प्रहरी बल नुवाकोटले विदुर नगरपालिका-१, त्रिशूलीका राममन्दिर ढुङ्गेको ढुङ्गेधारा सरसफाइ रक्तदान र आमाको माया छात्रावासमा रहेका विद्यार्थीलाई भोजन गराएको थियो । दिवसको अवसरमा विपत् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कक्षा सूर्यगढी गाउँपालिका– ४ को गणेश मावि गणेशस्थान र सूर्यगढी गाउँपालिका-४ गणेश मावि रातमाटेमा सञ्चालन गरेको थियो । सशस्त्र प्रहरी बल नुवाकोटले दिवसको अवसरमा कार्यालयपरिसरमा ब्याडमिन्टन, टेबलटेनिस, रिले दौड र हाजिरीजवाफ आन्तरिक प्रतियोगिता गरेको थियो । उक्त प्रतियोगितामा विजेता तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी र रक्तदानमा सहभागीलाई प्रशंसापत्र र पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला सुरक्षा समितिका प्रमुख नारायणप्रसाद रिसालले गरेका थिए । दिवसको अवसरमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिसालले सलामी ग्रहण गर्दै अमर सशस्त्र प्रहरी कर्मचारीको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए । ०५७ माघ ९ गते अर्धसैनिक सुरक्षा निकायका रूपमा स्थापना भएको सशस्त्र प्रहरी बल नुवाकोटमा २०७५ भदौ २६ गतेदेखि जिल्लाको सुरक्षामा कार्यरत रहेको छ । सशस्त्र प्रहरी बल नेपाल १९ गुल्म हेडक्वार्टरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक उत्तम पुडासैनीले सशस्त्र प्रहरी बलप्रति जनविश्वास बढाउन अहोरात्र खटिरहेको बताए । सो कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको निर्देशन तथा शुभकामना सन्देश वाचन गरिएको थियो ।