संसद्ले सभामुख र उपसभामुख पायो

  • त्रिशूली प्रवाह
  • १२ माघ २०७९, बिहीबार ११:५०

विदुर, नेपालमा प्रजातान्त्रिक व्यवस्था सुरु भएपछि नौजनाले प्रतिनिधिसभाको सभामुख हुने अवसर पाएका छन् । गत बिहीबार माघ ५ गते प्रतिनिधिसभाले नेकपा एमालेका सांसद देवराज घिमिरेलाई सभामुखमा चयन गरेको छ । ०१५ सालको पहिलो संसद् र ०४७ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि बनेका संसद्को इतिहासअनुसार देवराज घिमिरे नेपालका नवौँ सभामुख हुन् । ०१५ सालको पहिलो संसद्मा कृष्णप्रसाद भट्टराई सभामुख थिए ।

प्रतिनिधिसभाको उपसभामुखमा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छिन् । सत्तासाझेदार दलको तर्फबाट उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रानामगर उपसभामुखमा निर्वाचित भएकी हुन् । शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा रानामगरले प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गरेकी हुन् । मत विभाजनको प्रक्रियाबाट भएको निर्वाचनमा राना एक सय ६६ मतसहित निर्वाचित भएकी हुन् । रानामगरको विपक्षमा यादवलाई ९७ जना सांसदको समर्थन रहेको थियो ।
घिमिरे गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापाको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । बिहीबार सभामुखका लागि भएको मतदानमा घिमिरेको पक्षमा एक सय ६७ र विपक्षमा उम्मेदवारी दिएकी नेपाली काङ्ग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेको पक्षमा सय मत परेको थियो । प्रतिनिधिसभा सभामुखमा निर्वाचित देवराज घिमिरे ताप्लेजुङ सिरिजंघा गाउँपालिका-३ मा १३ जेठ ०१३ मा जन्मिएका हुन् । उनी हाल झापा अर्जुनधारा नगरपालिका-६ का स्थायीवासी हुन् । स्नातकसम्म अध्ययन गरेका घिमिरेले बाल्यकालमा स्थानीय श्री सिंहदेवी प्राथमिक विद्यालयबाट शिक्षा प्रारम्भ गरे । पछि ताप्लेजुङको भानु पब्लिक हाइस्कुलबाट उनले ०२९ सालमा एसएलसी उत्तीर्ण गरे । घिमिरेले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आइए र त्रिचन्द्र क्याम्पस काठमाडौंबाट स्नातक गरेका छन् । ०३१ सालमा ‘झापा विद्रोह’पछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेर ०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारीको विद्यार्थी राजनीतिमा लागे । ०३३ सालपछि शिक्षासमेत थाती राखेर पार्टी सङ्गठन निर्माणमा खटिएका घिमिरेले भूमिगत अवस्थामै ०३५ भदौमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरे । ०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका उनले ४५ वर्ष लामो औपचारिक राजनीतिक जीवनमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । ११ पुस ०३५ मा कम्युनिस्ट घटक मिलेर बनेको नेकपाको तेह्रथुम र पाँचथर जिल्लाको संगठक, २०३९ सालमा इलाम जिल्ला पार्टी प्रमुख, ०४९ सालमा नेकपा माले र नेकपा एकीकृत एकीकरणपछि सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य हुँदै ०५० सालमा नेकपा एमाले मेची अञ्चल इन्चार्ज भएर घिमिरेले काम गरिसकेका छन् ।

०५८ सालमा एमाले केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभाग इन्चार्ज हुँदै इन्जिनियरिङ विभाग, युवा सङ्घ नेपाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, प्रगतिशील प्राध्यापक सङ्घ इन्चार्जको जिम्मेवारीसमेत पूरा गरिसकेका छन् । ०७५ सालमा तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा प्रदेश १ अध्यक्ष, ०७८ सालमा सम्पन्न नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशनबाट पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज बनेका उनी भूमिगत राजनीतिमा रहँदा पञ्चायती शासकले गतिविधि नियन्त्रणका लागि पटक–पटक पक्राउ पुर्जी जारी गरेको थियो । ०५६ सालमा राष्ट्रिय सभा सदस्य बनेका घिमिरे ०७९ मङ्सिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ बाट निर्वाचित भएका थिए ।
०४८ सालमा दमननाथ ढुङ्गाना, ०५१ सालमा रामचन्द्र पौडेल, ०५६ सालमा तारानाथ रानाभाट, ०६३ सालको अन्तरिम संसद्देखि पहिलो र दोस्रो संविधानसभामा सुवासचन्द्र नेम्वाङ, संविधान जारीपछि रूपान्तरित संसद्मा ०७० सालमा ओनसरी घर्ती, ०७४ सालको प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालमा कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा सभामुख भए । सभामुखको मासिक पारिश्रमिक ६७ हजार तीन सय २० रुपैयाँ तोकिएको छ । यसबाहेक प्रतिमहिना थप ३७ हजार विभिन्न शीर्षकमा सभामुखले पाउँछन् । सरकारले सभामुखका लागि लैनचौरमा आवास व्यवस्था गरेको छ ।