कराँते प्रतियोगिता सम्पन्न

  • त्रिशूली प्रवाह
  • १२ माघ २०७९, बिहीबार ११:५४

धुन्चे, ‘सांस्कृतिक तथा खेलकुदको प्रवद्र्धन गरौँ, सुन्दर समुन्नत राष्ट्रको निर्माण गरौँ’ भन्ने मूल नाराका साथ रसुवामा प्रथम तामाङ सांस्कृतिक तथा कराँते प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।

हिमाली जिल्ला रसुवामा तामाङ समुदायको बाहुल्य रहेकाले तामाङ समुदायको मौलिक परम्परा, कला, संस्कृति, पर्यटन क्षेत्रको विकास तथा खेलकुद क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोनाम ल्होछारको अवसरमा रसुवा स्पोर्टस् एकेडेमीले कराँते र सांस्कृतिक प्रतियोगिता आयोजन गरेको हो । प्रतियोगिता कालिका गाउँपालिका-१ राम्चेस्थित खेलकुद ग्राउन्डमा कालिका गाउँपालिकको उपाध्यक्ष मीरा लामाको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो । प्रथम कराँते प्रतियोगितामा पुरुष र महिला सहभागी रहेका थिए । प्रतियोगितामा पुरुषतर्फ २० देखि ६० केजी तौल समूह र महिलातर्फ २० देखि ५५ केजी तौल समूहका खेलाडीले सहभागिता जनाएका थिए । कराँते प्रतियोगितमा स्वर्ण १०, रजत एक र कांस्य चार हासिल गरी कालिका डोजो टिमले प्रथम हासिल गरेको हो भने स्वर्ण तीन, रजत आठ र कांस्य १२ हात पार्दै राम्चे द्वितीय र स्वर्ण तीन, कांस्य दुई प्राप्त गरी गुम्बाडाँडाले तृतीय स्थान हासिल गर्न सफल भएको हो । त्यसैगरी, अनुशासन टिम भने ग्राङ डोजो भएको थियो । विजेता समूहलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कराँते प्रतियोगितामा राइजिङ स्टार ५० केजी महिलातर्फबाट सञ्जिला तामाङ र पुरुष २५ केजीतर्फबाट मिङ्मार दोर्जे तामाङ भएका छन् र बेस्ट प्लेयर ५५ केजी महिलातर्फबाट अनिता लोप्चन र ६० केजी पुरुषतर्फबाट मोहन मोक्तान बनेका छन् । खेलाडीलाई ट्रफी र नगद पाँच हजार प्रदान गरिएको थियो ।

त्यसैगरी, तामाङ सांस्कृतिक प्रतियोगितामा रसुवा जिल्लाभित्रका प्रतिस्पर्धीको सहभागिता रहेको थियो । सांस्कृतिक प्रतियोगितामा गोल्जुङ प्रथम, सानु हाकु द्वितीय र नेसिङले तृतीय स्थान हासिल गरेका छन् । प्रथम समूहलाई ४० हजार, द्वितीय समूहलाई ३० हजार र तृतीय समूहलाई २० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगी समूहले रसुवामा प्रचलित विभिन्न तामाङ संस्कृति झल्किने पहिरन, भाषा प्रयोग, टुङ्ना, विगुल र एक समूहमा पाँच महिला र पाँच पुरुष, तामाङ चौतारी होई (वर वर होई, तामाङ दोहोरी) प्रस्तुत गरेको रसुवा स्पोर्टस् एकेडेमीका अध्यक्ष विजय मोक्तानले बताए । कार्यक्रममा कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकाका वडाध्यक्ष, वडासदस्यलगायत राष्ट्रिय तामाङ कलाकार भविता पाख्रिन, सुमन घले र सञ्जीव वाइवालगायत स्थानीय कलाकारको समेत सहभागिता रहेको थियोे ।