महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ

  • त्रिशूली प्रवाह
  • १९ माघ २०७९, बिहीबार १४:०९

ताराबहादुर कार्की
अध्यक्ष
नुवाकोट उद्योग वाणिज्य सङ्घ
संयोजक
सातौँ नुवाकोट महोत्सव, मूल समारोह समिति

महोत्सवको आवश्यकता र प्रभावकारिताबारे बताइदिनुहोस् न ?
नुवाकोट उद्योग वाणिज्य सङ्घ ०४५ सालमा स्थापना भएको हो । सङ्घले ०६३ सालदेखि मेलाको आयोजना गर्दै आइरहेको अवगत गराउन चाहन्छु । सङ्घले यसअघि ६ पटकसम्म महत्वपूर्ण मेला तथा महोत्सव गरिसकेको छ । यो महोत्सवले उद्योग, व्यापार, कृषि, पर्यटनलगायतको क्षेत्रमा महत्वपूर्ण टेवा पु¥याउँछ भन्ने हाम्रो ठम्याइ छ । गाउँघरमा रहेका विभिन्न कृषि उपजको प्रदर्शनी, कुना-कुनामा लुकेका प्रतिभा प्रस्फुटन गर्नुका साथै विभिन्न धर्म, संस्कृतिलाई पनि उजागर गर्नमा यो मेला फलदायी हुने अपेक्षा गरेका छौँ । मेलाले सर्वपक्षीय हित र प्रवद्र्धन गर्नेमा हामी विश्वस्त छौँ । यो मेला हाम्रो मात्रै नभई नुवाकोट जिल्लाकै एउटा महोत्सव हो ।

मेलाको तयारी कसरी गर्नुभएको छ ? कति स्टल राखिएको छ ?
अहिले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवमा तीन सयवटा स्टल रहनेछ । महोत्सवको ७५ प्रतिशत तयारी भइसकेको छ । महोत्सवमा कृषि, व्यापार, उद्योग, पर्यटनलगायतका सबैखाले स्टलको राखिएको छ । साना व्यवसायी पनि धेरै मेलामा समेटिनुहुन्छ । मेला अवधिभर करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । स्थानीय सरकारले पनि हामीलाई धेरै सहयोग गरेका छन् । सुरक्षा निकायबाट पनि हामीले ठूलो सहयोग पाएका छौँ । विनपा-५ पीपलटारमा माघ २७ गते महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । यसमा सबैतिरको साथ र सहयोग पाइरहेका छौँ । सबै उद्योगी-व्यवसायी र जिल्लावासीको साथ रहेको छ । स्थानीय सरकार, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसहित सबै तह र तप्काका मानिसले मेला सफल बनाउन सहयोग गरिरहेका छन् । यसबाट हामीलाई थप हौसला मिलेको छ ।
मुलुक यतिबेला आर्थिक सङ्कटबाट पनि गुज्रिरहेको छ, व्यवसाय धराशायी भएका छन् भने आमउपभोक्ताको क्रयशक्ति पनि घटेको छ, यस्तो

बेलामा गरेको महोत्सवले व्यापार, व्यवसाय प्रवद्र्धन हुनेमा कसरी विश्वस्त हुन सकिन्छ ?
एकदम महत्वपूर्ण प्रश्न गर्नुभयो । मुलुककै आर्थिक स्थिति बिग्रिरहेको अवस्थामा, उद्योगले पनि आफ्नो उत्पादन कटौती गर्दै गइरहेको अवस्थामा, बैंकको ब्याज बढ्दै गइरहेको अवस्थामा मेला, महोत्सव गर्दा प्रभावकारी हुँदैन कि भनेर चासो र चिन्ता हुनु स्वाभाविक हो । तर, वर्तमान अवस्थामा मुलुकको गहिरिँदो आर्थिक सङ्कटलाई टार्नका लागि महोत्सव प्रभावकारी हुनेमा हामी विश्वस्त छौँ । किनभने महोत्सवमा जिल्ला तथा जिल्लाबाहिरबाट धेरै मानिस भेला हुन्छन्, आर्थिक कारोबार चलायमान हुन्छ र वस्तु तथा सेवाको खरिद-बिक्री बढ्छ । जसले गर्दा केही हदसम्म भए पनि आर्थिक स्थिति सुधारमा महोत्सवले टेवा पु¥याउँछ । महोत्सवमा बाहिरी जिल्लाबाट पनि धेरै दर्शक र ग्राहक आउँछन् । जसले गर्दा स्थानीय व्यवसायी, व्यापारीले प्रत्यक्ष लाभ लिन सक्दछन् । मेलामा टिकट काटेर अवलोकनका लागि छिरिसकेपछि हामीले विभिन्न सेवा पनि उपलब्ध गराउँछौँ । महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६० र कलेज तथा विद्यालयको समूह आउँदा प्रतिविद्यार्थी ५० रुपैयाँ र ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तलाई परिचयपत्रको आधारमा निःशुल्क गरिएको छ । टिकट काटेर भित्र छिरेपछि निःशुल्क स्वास्थ्य शिविरदेखि हामीले विभिन्न मनोरञ्जनका कार्यक्रमसमेत जोड्ने गर्दछौँ । जसका कारण दर्शकले सस्तो मूल्यमा वस्तु र सेवा प्राप्त गर्नुका साथै विभिन्न निःशुल्क सेवासमेत प्राप्त गर्न सक्नेछन् । यस वर्षको मेला विगतको भन्दा झनै विशिष्ट हुनेमा हामी विश्वस्त छौँ ।

महोत्सवमा मूल्य र गुणस्तरीयतामा एकरूपता सुनिश्चितता गर्न यहाँहरूले कस्तो व्यवस्थापन गर्नुभएको छ ?
यहाँले एकदमै राम्रो सवाल गर्नुभयो । मूल्यको एकरूपता र गुणस्तरीयताको सवालमा हामी एकदमै सचेत छौँ । हामीले अहिले स्टल बिक्री गर्ने क्रममा पनि होटेल तथा अन्य सेवाका स्टललाई मूल्य र गुणस्तरीयतामा ख्याल गर्न सचेत गराइरहेका छौँ । विशेषगरी खाना, खाजा र अन्य स्टलमा हामीले वस्तु र मूल्यको मूल्यसूची नै टाँस्न अनिवार्य गर्छौँ । विगतमा पिउने पानीको मूल्यसमेत चर्को परेको भन्ने गुनासोको आधारमा हामीले पिउने पानीको मूल्य मेला स्थलभर एकैप्रकारको हुने गरी व्यवस्थापन गर्दैछौँ । एक बोतल पानीको २० रुपैयाँभन्दा बढी लिन नपाइने गरी हामी नियमन गर्छौँ । घरलु सामग्री, हस्तकलाको सामग्रीको बिक्रीमा पनि बजारभन्दा कम मूल्यमा बिक्री गर्न सचेत गराएका छौँ । स्थानीय लघु, घरेलु उत्पादनका स्टल निःशुल्क गरेका छौँ । कानुनअनुसार राजस्व तिरेर मात्र व्यापार गर्न आग्रह गरिएको छ । राजस्व कार्यालयलाई पनि अनुगमन गर्न आग्रह गरेका छौँ ।

नुवाकोटमा महोत्सव हुँदै गर्दा स्थानीय तथा घरेलु उत्पादक र स्थानीय व्यवसायीलाई हुने विशेष फाइदा के छन् ?
पहिले-पहिलेको मेलामा बाहिरबाट मात्र व्यवसायी आउँछन् । घुमन्ते व्यवसायीले मात्र व्यवसाय गर्न आउँछन् भन्ने मान्यता थियो । यस वर्ष हामीले त्यस कुरालाई चिरेका छौँ । हामीले महोत्सवमा स्थानीय व्यवसायी, उद्योगीलाई स्टल राख्न धेरै प्रेरित गरेका छौँ । केही उद्योगका स्टललाई निःशुल्क पनि गरेका छौँ । स्थानीय उद्योगी–व्यवसायी तथा घरेलु सामान उत्पादक तथा वितरकले मेलाबाट धेरै फाइदा लिन सक्ने स्थितिको सिर्जना गरेका छौँ । यहाँका उद्योगलाई पनि मेलामा प्रदर्शनी गर्न तथा व्यवसाय प्रवद्र्धन गर्न धेरै सहुलियत र प्रोत्साहन गरेका छौँ ।

नुवाकोट र आसपासका जिल्लाका आममानिसलाई मेलाको विषयमा के आह्वान गर्नुहुन्छ ?
२७ माघबाट १० फागुनसम्म हुन गइरहेको राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अवलोकन गर्न आइदिनुस् । यहाँका उद्योगी, व्यवसायी र उद्यमी महिलालाई आफूले घरेलु रूपमा बनाएका सामग्रीको प्रदर्शनी र व्यापार गरिदिनुस् भन्न चाहन्छु । साथै, आफूसँग लुकेर रहेका प्रतिभा, धार्मिक, जातीय, सांस्कृतिक पक्षको उजागर साथै प्रवद्र्धन गरिदिन नुवाकोट साथै देशवासीमा म अनुरोध गर्न चाहन्छु । साथै, महोत्सवमा हुने विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविरबाट पनि लाभ लिनुहुन अनुरोध गर्दछु । सञ्चारमाध्यम तथा सञ्चारकर्मीले पनि प्रचार–प्रसारमा विशेष भूमिका निभाउनुहुनेछ भन्नेमा विश्वस्त छु ।