रुबीभ्यालीको रुबी बेवारिस

  • त्रिशूली प्रवाह
  • ४ फाल्गुन २०७९, बिहीबार १३:३०

धादिङबेँसी, धादिङको उत्तर नुवाकोट, रसुवा, गोरखा अनि तिब्बत नाका जोड्ने रुबीभ्याली गणेश हिमालको फेद हो । ‘माल पाएर चाल नपाएको’ भन्ने उखान चरितार्थ हुने गरी रुबीभ्यालीमा रहेको पत्थर रुबीको अवस्था चाल पाउन नसक्दा बेवारिस बनिरहेको छ । पर्यटन व्यवसायीले नामकरण गरेको रुबीभ्याली गाउँपालिका क्षेत्रमा पर्यटक विरलै देख्न पाइन्छ । यो क्षेत्र प्राकृतिक, धार्मिक, साहसिक यात्राको रोज्जा ठाउँ बन्न सक्ने सम्भावनै-सम्भावना भएर पनि स्थानीयवासीको चेतनास्तर र राज्यको नीतिले नसमेटिँदा बहुमूल्य पत्थर ‘रुबी’ बेवारिस भइरहेको छ ।

यहाँ रुबी (रातो पत्थर) बहुमूल्य छ । बेलाबखत यहाँ रुबी पाइएको हल्ला चल्छ । क्वार्ज (सेतो/दर्शन ढुङ्गा) यत्रतत्र पाइने स्थानीय बताउँछन् । त्रिशूलजस्ता पहाड रहेको क्षेत्र हो यो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेको तीन वर्षअगाडि नै ‘रेमन्ड’ले सगरमाथा आरोहण असफल भएपछि गणेश हिमाल चढेको सुनाउँछन् ट्राभल्स एजेन्ट एसोसिएसन नेपाल (टान) का पूर्वउपाध्यक्ष एवम् गणेश हिमाल पर्यटन विकास समितिका पूर्वउपाध्यक्ष तेजबहादुर गुरुङ । पर्यटन क्षेत्रमा जे भएको छ, यिनै गुरुङहरूले गरेका छन् । विदेशभन्दा पर्यटन क्षेत्रमा लागेका छन् रुबीभ्यालीका पाँच गाउँका गुरुङ । तामाङ, गुरुङ, घले, कामी र शाक्य (थोरै परिवार)को बसोवास रहेको यो पालिकामा केही होटेल र मनग्गे होमस्टे पनि बनाइएका छन् । तर, चालीस गाउँवासी पसले धने गुरुङले भने, ‘विदेशी नदेखेको त चार–पाँच वर्ष भयो । पर्यटक आउँछन् भनेर लगानी गरियो तर खोइ ?’

‘भिरको बाटो सम्मै छ खनेर, आउन–जान सजिलो भनेर’ यो लोकभाकाजस्तै अहिले धादिङबेँसी अनि रसुवातर्फ धुन्चे, गत्लाङ हुँदै हिमाली भञ्ज्याङ (पाङसाङ पास)बाट कच्ची सडक जोडिएको छ । भिरको कच्ची सडक, धुलो र हिलो– तत्काल त ‘कमजोर मुटु’ भएकालाई यो यात्रा गाह्रो छ, तर साहसिक यात्रा मन पराउनेलाई मज्जा छ । तेजबहादुर गुरुङको अनुमान बेग्लै छ । उनले भने, ‘६०–७० वर्षअघि नै गणेश हिमाल आरोहण भए पनि पछि किन आरोही र पर्यटक आएनन् ? गणेश हिमाल धार्मिक आस्थाका हिसाबले मानसरोवर/कैलाश, पशुपति, पार्वतीकुण्डसँग जोडिएको छ । शिव–पार्वतीका सन्तान गणेश भनेर यसमा आरोहण अनुमति नदिएको हो कि ?’ गोसाइँकुण्ड, पार्वतीकुण्ड, सिङ्लापास, पाङ्साङपास जोडेर सुन्दर पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । तर, गणेश हिमालको आधारशिविर पनि बनाइएको छैन, सहज पदमार्ग पनि विकास गरिएको छैन । ‘२०३३ सालमै रसुवाको सीमासम्म सडक आएको थियो, तर राज्यले अहिलेसम्म हामीलाई बेवास्ता ग¥यो, राजनीतिक नेतृत्वबाट बेवास्ता भयो, अब नयाँ पुस्ता नेतृत्वमा आएका छौँ, धुले सडक जोड्यौँ, अरू काम गर्दै छौँ,’ गाउँपालिका अध्यक्ष रामसिंह तामाङले भने ।

धादिङको धादिङबेँसीबाट ७० किलोमिटर र रसुवाको सोमदाङबाट ३० किलोमिटर दूरीमा रहेको सेर्तुङको ब्राबरजोङ (घले दरबार)को भग्नावशेष भएको डाँडाबाट टक्क सामुन्ने देखिन्छ गणेश हिमाल । अधिकांश तामाङ जाति रहेको यहाँ रुबी (रातो पत्थर)समेत पाइने भएकाले पर्यटन व्यवसायीको प्रस्तावमा साबिक तिप्लिङ, सेर्तुङ र लापा गाउँ विकास समितिलाई मिलाएर रुबीभ्याली गाउँपालिका बनाइयो । सोली आकारका खोँच र पहराको तलेत्रामा बस्ती रहेको यो ठाउँ सुन्दर छ । चालीस गाउँबाट ४५ मिनेट यात्रामा अनि लिङ्जो गाउँतिर तातोपानीका मूल छन् । सङ्जेन भ्यालीमा तीनवटा विशेष ताल छन् । पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ । ‘होमस्टे बनाइए पनि, सडक पुगे पनि किन छैनन् पर्यटक ?’ ग्रामीण पर्यटनविज्ञ प्रा.डा. प्रेम शर्माले भने, ‘चेतनास्तर विकास हुनुपर्छ । सुरक्षा र सुसंस्कार महसुस हुनुपर्छ । स्थानीयवासी मात्र होइन, पर्यटन प्रवद्र्धनमा लागेकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको मनोभाव बुझेर सेवा दिन सक्नुपर्छ ।’ पचास–साठी वर्षअघि नै पर्यटक पुगेको यो क्षेत्रमा सुरक्षासम्बन्धी पहिलो प्रश्न छ । केही वर्षअघि दुई ताइवानी युवा–युवती पुरु गाउँमाथिको डाँडामा अल्झिएर ४२ दिन हराए । उनीहरूको उद्धार गरिए पनि युवतीको देहावसान भयो । त्यससँगै यहाँ कुटपिट र चोरी हुने हल्ला चल्यो । काठमाडौं उपत्यकाका तीन डाँडापारि यस्तो हल्ला साम्य पारेनन् सरकार अनि पर्यटक प्रवद्र्धकले ।

सन् १९१२ मा पर्यटन बोर्ड नेपालको सहकार्यमा यहाँको पर्यटन सम्भाव्यता अध्ययन गरेर १८ वटा मार्ग पहिचान गरेको बताउँछन् तेजबहादुर गुरुङ । तीन दिनदेखि १८ दिनको यात्रा गर्न सकिन्छ यो क्षेत्रमा । तर, एक हजारदेखि चार हजार मिटरको भौगोलिक बनावटमा यात्रुको सुरक्षा र सेवामा विशेष ध्यानसहितको चेतना चाहिने प्रा.डा. शर्माले बताए । सडक पुगेर मात्र हुन्न, पर्यटन विकासका लागि ‘हार्डवेयर’ र ‘सफ्टवेयर’ दुवै चाहिन्छ,’ उनको भनाइ छ । पत्थरको खानी रुबीभ्याली काठमाडौंको नजिकको हिमाली गन्तव्य हो । अब यसको प्रवद्र्धन गर्दै छन् नेपाल पर्यटन बोर्ड, रुबीभ्याली गाउँपालिका र गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ)लगायतले । यहाँको पहाडी दृश्य सुन्दर छ, बासिन्दा वृद्धवृद्धा बढी छन्, तर सहरमै भएका आफ्नो गाउँ आफैँ बनाउन सक्रिय छन् । स्थानीय सङ्घ–संस्थासमेतको सहकार्यमा यसै साता भिटोफ, नेपाल पर्यटन बोर्ड, रुबीभ्याली गाउँपालिकाले रुबीभ्याली– ४ चालीस गाउँ तथा वडा नम्बर– ३ सेर्तुङमा पर्यटन प्रवद्र्धनका निम्ति अध्ययन–अवलोकन कार्यक्रम गरे । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले भने, ‘यहाँ पर्यटन विकास गर्ने भनेर मात्र हुँदैन । स्थानीय जागरण र उत्पादन पनि हुनु आवश्यक छ ।’

भिटोफका अध्यक्ष गोपाल थापाले पनि स्थानीय संस्कृति, प्राकृतिक सुन्दरता र अध्ययनका लागि राम्रो सम्भावना भए पनि स्थानीय उत्पादनमा जोड दिनुपर्ने देखिएको बताए । गाउँपालिका अध्यक्ष तामाङले भने, ‘बल्ल कच्ची सडकले गाउँ जोडिएको छ । यसको स्तरोन्नति गर्नु छ । हामीले यहाँ पर्यटन र जलविद्युत् उत्पादनलाई आयस्रोतका रूपमा विकास गर्ने योजना बनाएका छौँ । यसपटक पाँच लाख रुपैयाँ पर्यटन प्रवद्र्धनलाई विनियोजन गरेका छौँ । सुरक्षाको समस्या पनि अब छैन ।’