नागढुङ्गा-मलेखु सडकको स्तरोन्नति सुरु प्रतिकिलोमिटर १२ करोड लागत

  • त्रिशूली प्रवाह
  • ४ फाल्गुन २०७९, बिहीबार १३:३३
  • राजेन्द्र बस्नेत

गजुरी, मुलुकको राजधानी काठमाडौं र विभिन्न जिल्ला जोड्ने प्रमुख नाका नागढुङ्गा हो । काठमाडौं (नागढुङ्गा)–नौबिसे त्रिभुवन राजपथ र नौबिसे–मलेखु पृथ्वीराजमार्ग सुधार तथा विस्तारको काम हाल सुरु भइरहेको छ ।

त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे खण्डको १२.२६० किलोमिटर सडक सुधार तथा विस्तार एक अर्ब ८८ करोड ९८ लाख ११ हजार नौ सय ७१ रुपैयाँ लागतमा दुई वर्षमा सक्ने र पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डको ४३.५४२ किलोमिटर सडक सुधार तथा विस्तार सात अर्ब ८३ करोड ४७ लाख ८२ हजार एक सय ४१ रुपैयाँ लागतमा तीन वर्षमा सक्ने गरी लागत अनुमान गरिएको थियो । तर, निर्णाण कम्पनी जिअंशु र सगुन कन्स्ट्रक्सनले संयुक्त रूपमा ०७८ साल चैत २४ गते नागढुङ्गा–नौबिसे खण्डको १२.२६० किलोमिटर सडक सुधार तथा विस्तार एक अर्ब ३१ करोड ८४ लाख एक हजार दुई सय १० रुपैयाँ लागतमा दुई वर्षमा सक्ने गरी सम्झौता गरी निर्माण कार्य गरिरहेको छ । यसैगरी निर्माण कम्पनी शर्मा–लामा कन्स्ट्रक्सन र जेआइसिजीले संयुक्त रूपमा ०७८ साल चैत २४ गते नौबिसे–मलेखु खण्डको ४३.५४२ किलोमिटर सडक सुधार तथा विस्तार पाँच अर्ब ३३ करोड १९ लाख २८ हजार सात सय ७४ रुपैयाँ लागतमा तीन वर्षमा सक्ने गरी सम्झौता गरी निर्माण कार्य गरिरहेको छ । दुवै खण्ड गरी ५५.८०२ किलोमिटर सडकको लागत ६ अर्ब ६५ करोड तीन लाख २९ हजार नौ सय ८४ रुपैयाँ अर्थात् प्रतिकिलो मिटर ११ करोड ९१ लाख ७७ हजार दुई सय ६९ रुपैयाँ रहेको छ । यस सडकको परामर्शदाता अस्ट्रेलियाको एसएमइसी इन्टरनेसनल प्रालि, पिइसी लिमिटेड र रिपब्लिकन अप कोरिया इन एसोसिएसन, आइटिइसिओ र टिएमएस रहेका छन् ।

सडक सुधार तथा विस्तारको मुख्य लक्ष्य काठमाडौं –नौबिसे–मलेखु खण्डको क्षमता बढाउने, मालबाहक सवारीसाधनको आवागमनमा सहजता ल्याउने, यातायातको खर्च र समय घटाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने र बजार क्षेत्रलाई व्यवस्थित गर्ने रहेको छ । सडक नौ मिटरदेखि ३० मिटर चौडा हुनेछ । खानी खोलाबजारमा चार सय ६० मिटर लम्बाइ २१ मिटर चौडा र गल्छी–बैरेनीमा तीन सय ७० मिटर लम्बाइ २१ मिटर चौडा हुनेछ । यसैगरी, धार्केबजारमा चार सय २० मिटर, महाँदेवबेँसीमा तीन सय ५० मिटर, सिम्लेमा दुई सय ७० मिटर, गजुरीमा सात सय ३० मिटर र मलेखुमा दुई सय १० मिटर सडक ३० मिटर चौडा हुनेछ । ३० मिटर चौडाइ हुने स्थानमा दुई सर्भिसलेनसमेत हुने इन्जिनियर जयराम अधिकारीले बताए । यसैगरी, पृथ्वी राजमार्गमा पर्ने आग्राखोला पुल, बेल्खुखोला पुल र मलेखु खोला पुलमा नयाँ पुल गरिँदैन । त्रिभुवन राजपथ अर्थात् प्योक १ अन्तर्गत खत्रीपौवा पुल र नौबिसेखोला पुल नयाँ निर्माण गरिनेछ । यसैगरी, पृथ्वीराजमार्ग अर्थात् प्याकेज २ अन्तर्गत गाणेशखोला, सोप्यांखोला, खहरेखोला, फेदीखोला, डन्डुगंखोला, खेस्टेखोला, मछेडीखोला, खर्दोखोला, जुन्डीखोला, चिरौदीखोला पोखरेखोला, गलौदी खोलासोतीखोला पुल नयाँ निर्माण गरिने इन्जिनियर अधिकारीले बताए ।

यसैगरी, मुख्य बजार क्षेत्रमा पैदलयात्रीलाई लक्षित गरी आकासेपुल निर्माण गरिनेछ । आकासेपुल निर्माण हुने स्थान खानीखोला बजार, धार्केबजार, महादेशबेंसीबजार, सिम्लेबजार, गल्छी–बैरेनी र मलेखु बजारमा एक–एकवटा पुल निर्माण गरिनेछ । यसैगरी पृथ्वी राजमार्गकै आकर्षण रहेको गजुरीबजारमा भने दुईवटा आकासेपुल निर्माण गरिनेछ । सबै पुलहरू ह्विलचियर प्रयोग गर्न मिल्ने हुनेछ । सडक सुधार तथा विस्तारको कामको अनुगमन, प्राविधिक सहयोग, कामको गुणस्तर र निर्माण कम्पनीले काम गरे–नगरेको जिम्मेवारी परामर्शदाताको हुने नागढुङ्गा–मुग्लिन सडक आयोजना (पूर्वीखण्ड) गजुरीका प्रमुख ईश्वर रिजालले बताए । कार्यालयको तर्फबाट सडक विस्तार तथा सुधार गर्दा आउने गुनासो, विवाद व्यवस्थापन, समन्वय र परामर्शदातालाई सहजीकरण गर्ने रहेको प्रमुख रिजालले बताए ।