स्ट्रबेरीले ककनीलाई चिनाउँदै

  • त्रिशूली प्रवाह
  • २५ फाल्गुन २०७९, बिहीबार १३:४२

रानीपौवा, नुवाकोट जिल्लाको ककनी गाउँपालिका पछिल्लो समय स्ट्रबेरीको चिनिन थालेको छ । गाउँपालिकाका नागरिकले सामूहिक तथा व्यक्तिगत रूपमा स्ट्रबेरी खेती गर्न थालेपछि किसानको जीवनस्तरसमेत उकासिन थालेको छ । अहिले गाउँको बारीमै व्यापारी स्ट्रबेरी लिन आउन थालेका छन् ।

सामान्य रूपमा सुरु भएको स्ट्रबेरी खेती ककनीमा व्यावसायिक रूपमा विस्तार भइसकेको छ । खेर गइरहेको भिरपाखामा रोपिएको स्ट्रबेरीले बर्सेनि लाखौँ रुपैयाँ कमाउन थालेपछि नागरिक त्यसतर्फ आकर्षित भएका छन् । स्ट्रबेरीको पुरानो फलेको बिरुवा हटाएर यहाँका किसानले नयाँ बिरुवा भदौमा सार्छन् । भदौमा रोपेपछि कात्तिकबाट उक्त बिरुवाले फल दिन थाल्नेछ । छोटो समयबाटै उत्पादन लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । ककनीबाट अहिले स्ट्रबेरी केजीको डेढ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । वैदेशिक रोजगारीभन्दा स्वदेशकै स्ट्रबेरीले कमाइ दिने गरेको छ । वार्षिक पाँच-सात लाख रुपैयाँ कमाउन विदेश जान नपर्ने भएपछि वैदेशिक रोजगारीबाट फर्किएकासमेत स्ट्रबेरी खेतीतर्फ आकर्षित भएका छन् । एक हजार चार सयदेखि एक हजार नौ सय मिटर उचाइमा दक्षिणपूर्वी फर्किएको पाखोमा लगाए स्ट्रबेरी खेती फस्टाउने किसानको अनुभव छ । गाउँकै स्थानीय ठेकेदारले गाउँमा फलाएका स्ट्रबेरी जम्मा गर्ने गरेका छन् । जम्मा गरेका स्ट्रबेरी ग्रेड छुट्याएर छुट्टै क्रेटमा राखिन्छ । ठूलो, मझौला र सानो गरी तीनथरी बनाएर जोखेपछि स्थानीय ठेकेदारले गाडीमा राखेर बजार पु¥याउँछन् । काउले, चित्रे र तमभित्तामा बढी तामाङ समुदायले अहिले यो खेती गर्छन् । स्ट्रबेरी खेतीलाई प्रोत्साहित गर्ने काम नभएको स्ट्रबेरी उठाउने स्थानीय ठेकेदार मेघबहादुर तामाङले बताए । उनले स्ट्रबेरी बेच्न थालेको चार-पाँच वर्ष भयो । स्थानीय ठेकेदार र किसानको स्ट्रबेरी खेतीलाई पकेट वा जोन क्षेत्रको रूपमा विकास गर्नुपर्ने माग छ ।

ककनीमा उत्पादित स्ट्रबेरी काठमाडौंको न्युरोड, कालीमाटी, पोखरा, नेपालगन्ज र भारतसम्म पुग्ने गरेको छ । सरकारले उत्पादित स्ट्रबेरीलाई बजारीकरण गर्ने र प्याकेजिङका लागि सहुलियतपूर्ण यन्त्र खरिद गर्न र हवाई माध्यमबाट बाहिर निकासी गर्न सके किसान र बिक्रीकर्ताले राम्रो आम्दानी लिन सक्ने ठेकेदार मेघबहादुर र किसान बलराम तामाङले बताए ।