माथिल्लो त्रिशूली-१ को डाइभर्सन सुरुङ ब्रेकथ्रु

  • त्रिशूली प्रवाह
  • २५ फाल्गुन २०७९, बिहीबार १३:४८

धुन्चे, रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका-१ हाकुमा प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको ब्रेकथ्रु गत हप्ता भएको छ ।

बाँध निर्माणका लागि चार सय २० मिटर लम्बाइ र पाँच मिटर व्यास भएको पूर्ण कङ्क्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ । सुरुङ निर्माण सम्पन्न भएपछि गत मंगलबारबाट सोही सुरुङबाट नदी फर्काएर बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताई हक युनले जानकारी दिए । उनले भने, ‘आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ, मुख्य तथा प्रवेश सुरुङ, टेलरेससहित सुरुङको जम्मा लम्बाइ १३.५ किलोमिटर रहेकोमा अहिलेसम्म ४.५ किलोमिटर सम्पन्न भएको छ । यस अवसरमा निर्माणकार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौँ, तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको छ ।’

आयोजनाको भूमिगत विद्युत्गृह खन्ने कार्य करिब २१ प्रतिशत सम्पन्न भएको छ । आयोजनाको समग्र भौतिक प्रगति १४ प्रतिशत रहेको छ । आयोजनाको मुख्य निर्माण गत ०७८ पुसबाट सुरु गरिएको थियो । आयोजना निर्माणमा हाल करिब सात सय कामदार परिचालित छन् । त्यसमध्ये करिब तीन सय रसुवाका स्थानीय बासिन्दा छन् । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण (इन्जिनियरिङ प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन (इपिसी) मोडलमा कोरियन कम्पनी डुसान हेभी इन्डस्ट्रिज एन्ड कन्स्ट्रक्सनले काम गरिरहेको छ । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई)मा निर्माण हुन लागेको माथिल्लो त्रिशूली-१ हालसम्मकै ठूलो जलविद्युत् आयोजना हो ।

आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन (कोरियन साउथ इस्ट पावर कम्पनी लिमिटेड), विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)लगायतको सेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ । आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँद याममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुने बताइएको छ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली-३ ‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । काठमाडौं लोड सेन्टरबाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत एक सय चार मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाको निर्माण ०८३ को मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।