होटेल व्यवसायीद्वारा बैंक ऋणको ब्याजदर घटाउन माग

  • त्रिशूली प्रवाह
  • २५ फाल्गुन २०७९, बिहीबार १३:५५
  • सरस्वती न्यौपाने

धुन्चे, बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर मनोमानी तवरले बढाएको भन्दै ब्याजदर घटाउन माग गर्दै होटेल व्यवसायीले शनिबार रसुवाको सदरमुकाम धुन्चेका होटेललगायत सम्पूर्ण व्यवसाय बन्द गराएका छन् ।

बैंक तथा वित्तीय संस्थाले ऋणको मनोमानी तवरले बढाएका ब्याजदर घटाउन, व्यापार-व्यवसाय सुधार नभएसम्म एक वर्षसम्मको ब्याज कम गर्नुपर्नेलगायतका माग राखी शनिबार दिनभार धुन्चेका सम्पूर्ण व्यवसाय विरोधस्वरूप बन्द गर्न लगाइएको धुन्चे महिला व्यवसायी सङ्घर्ष समितिकी अध्यक्ष कामिनी तामाङले जानकारी दिइन् । कोरोना भाइरसका कारण आर्थिक मन्दीलगायत व्यापार-व्यवसाय ठप्प रहेको अवस्थामा लघुवित्तीय संस्थाबाट लिएको ऋणको ब्याज मनोमानी तवरले बढाउने, ब्याज किस्ता तिर्न केही समय ढिलो भए पनि जायजेथा लिलाम गर्ने, कालोसूचीमा राखिदिनेजस्ता धम्की दिने, छिनछिनमा फोन गरेर मानसिक तनाव दिने भन्दै धुन्चेका महिला व्यवसायी सङ्गठित भई धुन्चेमै होटेल व्यवसाय गरिरहेकी व्यवसायी कामिनी तामाङको अध्यक्षतामा १३ सदस्यीय धुन्चे महिला व्यवसायी सङ्घर्ष समिति गठन गरी फागुन २० गते रसुवाको सदरमुकाम धुन्चेमा विरोध जनाउँदै दिनभर व्यवसाय ठप्प गरे । धुन्चेका महिलालाई समूह बनाउन लगाउँदै मासिक बचत गराउने र विभिन्न स्किम देखाउँदै ऋण प्रवाह गर्ने गरेका आठवटा माइक्रो फाइनान्स तथा लघुवित्तीयलाई चेतावनीसहित विरोध गरेका हुन् ।