उद्योग वाणिज्य सङ्घ अधिवेशन वैशाखमा नेतृत्व लिन व्यवसायीको दौडधुप

  • त्रिशूली प्रवाह
  • २ चैत्र २०७९, बिहीबार १२:१९

विदुर, जिल्लाका उद्योगी-व्यवसायीको छाता सङ्गठन नुवाकोट उद्योग वाणिज्य सङ्घको ११औँ अधिवेशन तथा १८औँ वार्षिक साधारणसभा वैशाखमा हुने भएको छ । यो अधिवेशनले नेतृत्व चयन गर्ने भएकाले उद्योगी-व्यवसायी नेतृत्वमा पुग्न दौडधुप थालेका छन् ।

०४५ सालमा स्थापना भएको सङ्घमा सातजना नेतृत्वमा पुगिसकेका छन् । सङ्घको पहिलो संस्थापक अध्यक्ष प्रदीपरत्न शाक्य, प्रथम अधिवेशनबाट निर्मल श्रेष्ठ, दोस्रो अधिवेशनबाट पनि निर्मल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि ०५३ मा भएको तेस्रो अधिवेशनबाट बलराम रिजाल, ०५६ मा भएको चौथो अधिवेशनबाट धननारायण चित्रकार र ०५९ मा भएको पाँचौँ अधिवेशनबाट पुनः धननारायण चित्रकार अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी, सङ्घको छैटौँ अधिवेशन ०६२ र सातौँ अधिवेशन ०६५ बाट शरण उत्सुक सापकोटा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी, ०६५ मा भएको आठौँ अधिवेशनबाट राजन श्रेष्ठ, ०७२ र २०७६ मा भएको नवौँ र दशौँ अधिवेशनबाट ताराबहादुर कार्की अध्यक्षमा निर्वाचित भएका थिए । सङ्घको वैशाख ८ गते हुन लागेको अधिवेशनमा सङ्घका वर्तमान कार्यसमितिका पदाधिकारीले नेतृत्व लिने घोषणा गर्न थालेका छन् । सङ्घको विधानअनुसार गत वर्ष चैतमै अधिवेशन गरिसक्नुपर्ने थियो । कोरोनाको महामारी, स्थानीय र त्यसपछिको सङ्घ र प्रदेशको चुनावले गर्दा अधिवेशन १३ महिनापछि आगामी वैशाखमा हुन लागेको महासचिव कृष्णप्रसाद अधिकारीले जानकारी दिए । निर्वाचनको मिति नजिकिएसँगै सङ्घका प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले भावी अध्यक्षमा दाबी गर्दै टिम तयार गर्न तल्लीन रहेका छन् । उनले गत हप्ता अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए ।

सङ्घका द्वितीय उपाध्यक्ष सन्तोष उप्रेती एक वर्षअघिदेखि अध्यक्षको आकाङ्क्षी रहेका छन् । उप्रेतीले सदस्यता नवीकरणदेखि वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यसँग समन्वय गरिरहेका छन् । सङ्घकी वरिष्ठ उपाध्यक्ष गीता अमात्यले समेत हालै सम्पन्न नुवाकोट महोत्सवदेखि अध्यक्षको दाबी गर्न थालेको व्यवसायीले बताएका छन् । तीनैजना नेपाली काङ्ग्रेसनिकट व्यवसायी रहेका छन् । काङ्ग्रेसइतर नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा पनि छुट्टै टिम बनाएर सङ्घको अधिवेशनमा नेतृत्व लिने तयारीमा जुटिरहेका छन् । सङ्घको निर्वाचन घोषणाले उद्योगी-व्यवसायीलाई भन्दा पनि राजनीतिक दललाई चटारो परेको छ । कोभिडको मारले थिलथिलो भएका व्यवसायी अहिलेको बैंकको पेलाइले बोल्न नसक्ने अवस्थामा रहेका छन् । यस्तो अवस्थामा पनि राजनीतिक दलले उद्योगी–व्यवसायीलाई उरालिरहेका छन् । सङ्घको भावी नेतृत्व सर्वसम्मत गराउन पूर्वअध्यक्ष, पूर्वपदाधिकारी र अग्रज व्यवसायीले छलफल सुरु गरेका छन् । अधिवेशनबाट २२ जना निर्वाचित हुनेछन् । सङ्घको विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रवक्ता, तनिजना महिला सदस्य, नौजना खुला सदस्य, दुईजना वस्तुगत सदस्यको निर्वाचन हुनेछ । निर्वाचनमा झन्डै दुई हजारजना सदस्य मतदाता रहेको सङ्घको सचिवालयले जानकारी दिएको छ ।