रामचन्द्र पौडेलको ६ दशकको राजनीतिक यात्रा राष्ट्रपतिमा विश्राम

  • शरण उत्सुक सापकोटा
  • २ चैत्र २०७९, बिहीबार १२:२३

६ दशकको सक्रिय राजनीतिक यात्रामा संलग्न नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गत हप्ता राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा चौथो कार्यकालका लागि निर्वाचित भएका हुन् । नेपालमा ०६५ जेठ १५ गते राजतन्त्र समाप्त भएर राष्ट्रपति शासन सुरु भएको थियो । ०६५ साउन ५ गते सङ्घीय गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति नेपाली काङ्ग्रेसका नेता डा. रामवरण यादव भए । उनले झन्डै आठ वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हाले । त्यसपछि ०७२ कात्तिक १२ गते नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपतिको बनिन् । उनी पनि दोस्रो र तेस्रो कार्यकाल गरी सात वर्ष राष्ट्रपतिको जिम्मेवारी बहन गरेर सोमबारदेखि बिदा भएकी छिन् ।

राष्ट्रपति पदमा आठ दलका साझा उम्मेदवारका रूपमा मनोनयनपत्र दर्ता गरेको भोलिपल्ट (फागुन १४ गते) नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भनेका थिए, ‘राष्ट्र प्रमुखको जिम्मेवारी सबैको साझा छहारीका रूपमा पूरा गर्न दृढ छु । संविधान र लोकतन्त्रको रक्षाका लागि म सधैँ प्रतिबद्ध रहनेछु ।’ ०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा प्रवेश नपाए पनि नेपाली काङ्ग्रेसका तत्कालीन वरिष्ठ नेता पौडेल दुईपटक भएको संसद् विघटनविरुद्ध सडकमा निरन्तर उभिए । संसद् पुनस्र्थापनाका लागि लडेका पाँचसहित नौ दलको साझा उम्मेदवारका रूपमा उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ‘संविधानको रक्षा, प्रतिनिधिसभाको सुरक्षा’ नारा बोकेर नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सूत्रधारमध्येका एक नवनिर्वाचित राष्ट्रपति पौडेलको राजनीतिक यात्रा निकै उतार-चढावपूर्ण रह्यो । पौडेल भन्छन्, ‘राजनीतिमा सधैँ प्राप्ति मात्रै हुँदैन । नेताले त्याग र बलिदान पनि गर्न सक्नुपर्छ, तर संविधान र लोकतन्त्रप्रतिको प्रतिबद्धतामा कहिल्यै पनि तलमाथि हुनुहुँदैन ।’ जननायक बिपी कोइरालाको सान्निध्यमा रहेर राजनीतिक यात्रा सुरु गरेका नवनिर्वाचित राष्ट्रपति पौडेलको जन्म २००१ असोज २९ गते शनिबार भएको हो । आमा ऋषिमाया पौडेल र बुबा दुर्गाप्रसाद पौडेलको सुपुत्रका रूपमा तनहुँको व्यास नगरपालिका-८ मा उनको जन्म भएको हो । उनका आमाबुबा मध्यमवर्गीय परिवारका थिए । शिक्षाप्रति सचेत परिवार भएकाले उनले अध्ययनको अवसर प्राप्त गरे । उनले नन्दीरात्रि माविबाट एसएलसी पास गरे । ०२४ मा वाल्मीकि संस्कृत महाविद्यालयबाट शास्त्री र ०२७ मा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरे ।

०१६ मा हिमालयन छात्र सङ्घ स्थापनापछि उनको राजनीतिक यात्रा औपचारिक रूपमा यसैमार्फत सुरु भएको थियो । पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययनरत रहँदा ०१७ साल जेठ-असारमा नेपाल संस्कृत छात्र सङ्घको काठमाडौं अधिवेशनमा प्रतिनिधिका रूपमा उनी सहभागी भए । त्यसपछि उनी ०१७ पुस १ गते जननिर्वाचित संसद् भङ्ग गरी प्रधानमन्त्री बिपी कोइरालालगायतको नेतालाई जेलमा राखिएकोप्रति विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहभागी भए । ०१९ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको सङ्गठन सचिव भएका नवनिर्वाचित राष्ट्रपति पौडेल ०१९÷२० मा उपत्यका आन्दोलनमा गिरफ्तार भए । ०२०÷२१ मा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा पनि उनी गिरफ्तारीमा परे । उनी ०२३ मा गण्डकी छात्र सङ्घको संस्थापक संयोजक बने । ०२३ मा सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित हुँदै ०२३ मै प्रजातान्त्रिक समाजवादी युवा सङ्घको संस्थापक महासचिव, ०२४ मा नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य बने । उनी काङ्ग्रेस तनहुँको सदस्य (०३४) र ०३६ मा उपसभापति बने । ०३६ को जनमतसङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचार–प्रसार गर्न गठित नेपाली काङ्ग्रेस तनहुँ जिल्ला समितिको संयोजक बने । ०४० मा उनी काङ्ग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख भए । ०४३ मा पुनः केन्द्रीय सदस्य बनेका उनले ०६२÷०६४ मा काङ्ग्रेस महामन्त्रीको जिम्मेवारी सम्हाले । ०६४ देखि ०७२ सम्म काङ्ग्रेस उपसभापति रहेका पौडेल ०६४ देखि ७० सम्म संसदीय दलको नेताको जिम्मेवारीमा रहे । साथै, ०७२ मै उनले कार्यवाहक सभापतिको जिम्मेवारी पूरा गरे । ०७२ देखि पार्टीको वरिष्ठ नेताका रूपमा रहँदै आएका पौडेलले आइतबार ६ दशकको काङ्ग्रेसको राजनीतिक यात्राबाट विश्राम लिएका छन् । उनले आइतबारदेखि नेपाली काङ्ग्रेसको सदस्यतासमेत परित्याग गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेल आफ्नो राजनीतिक जीवन सङ्घर्षपूर्ण रहेको बताउँछन् । उनल्े भरतपुर कब्जा गर्ने काङ्ग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा ०१८ मा काठमाडौंबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासतको सजाय पाए । साथै, २०२१ मा विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार र एक वर्ष राजबन्दी जीवन बिताए । ०२३ मा डिआइजी काण्डमा गिरफ्तार भई नक्खु जेलमा रहँदा पहिलोपटक उनको भेट पूर्वप्रधानमन्त्री एवम् काङ्ग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालासँग भयो । उनलाई ०२४ मा प्रजातान्त्रिक समाजवादी युवा सङ्घको महासचिव भएको आरोपमा पोखरामा गिरफ्तार गरी करिब १५ महिना हिरासतमा राखिएको थियो । त्यसको एक वर्षपछि प्रजातान्त्रिक समाजवादी युवा सङ्घको सङ्गठन विस्तारका लागि पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा गिरफ्तार गरी पुनः एक वर्ष काठमाडौंको जेलमा राखिएको थियो । उनलाई नेपाल विद्यार्थी सङ्घ स्थापनामा नेतृत्व गरेको आरोपमा ०२७ मा काठमाडौंमा तीन महिना हिरासतमा राखिएको थियो । रमाइलो झोडा काण्डको विरोधमा प्रदर्शन गरेको आरोपमा ०२८ मा गिरफ्तारीमा परेका पौडेलले ०३२ सम्म निरन्तर चार वर्ष बन्दी जीवन बिताएका थिए । काङ्ग्रेसको पटना सम्मेलन (सन् १९७७) मा सक्रिय रहेको भनी ०३४ मा गिरफ्तार गरी उनलाई १० महिना हिरासतमा राखिएको थियो । यसै सम्मेलनमा काङ्ग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनस्र्थापनाका लागि सत्याग्रह गर्ने निर्णय गरेको थियो ।

जनमतसङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन सक्रिय रहेकै अवस्थामा ०३६ मा गिरफ्तार गरी उनलाई ६ महिना हिरासतमा राखिएको थियो । साथै, पञ्चायती व्यवस्थाअन्तर्गत ०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन नेपाली काङ्ग्रेसको निर्णयअनुसार बहिष्कार अभियानमा सक्रिय रहँदा उनी पुनः पक्राउ परी ६ महिना हिरासतमा बस्नुपरेको थियो । पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनस्र्थापनाका लागि काङ्ग्रेसले गरेको सत्याग्रह (२०४२) सफल बनाउन सक्रिय रहेको आरोपमा गिरफ्तार गरी उनलाई पुनः नौ महिना हिरासतमा राखियो । ०४६ को जनआन्दोलनअघि काङ्ग्रेसका विभिन्न विभाग तथा शाखाबारे पत्रपत्रिकामा प्रकाशन गरी सार्वजनिक गरेको आरोपमा छापाखाना तथा प्रकाशन ऐन उल्लङ्घन गरेको अभियोगमा उनी तीन महिना हिरासतमा बसे । ०४६ मा उनलाई बहुदलीय व्यवस्थाको पुनस्र्थापनार्थ धौलागिरि अञ्चलमा पार्टी सङ्गठन विस्तार र आन्दोलनको तयारीको सिलसिलामा गिरफ्तार गरी बागलुङ जेलमा पाँच महिना हिरासतमा राखिएको थियो । प्रजातन्त्र स्थापनापछि पनि पौडेलको राजनीतिक यात्रा निकै सङ्घर्षशील रह्यो । ०५९ को शाही कदमपछि करिब एक वर्ष उनलाई नजरबन्द र हिरासतमा राखियो । दोस्रो जनआन्दोलन ०६२/६३ का दौरानमा उनी पटक-पटक गिरफ्तारीमा परे । तत्कालीन शाही सरकारले उनलाई गृहबन्दी पनि बनाएको थियो ।

नवनिर्वाचित राष्ट्रपति पौडेल ०४८ मा तनहुँ क्षेत्र नम्बर १, ०५१ र ०५६ मा तनहुँ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । ०६४ को संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं. २ बाटै निर्वाचित भए । ०७० को संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं. २ बाट र ०७९ को प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित भए । उनी ०४८ जेठ १५ देखि ०५१ सम्म स्थानीय विकासमन्त्रीको जिम्मेवारीमा रहे । ०४९ साउनदेखि ०५१ सम्म कृषिमन्त्री पनि बने । ०५१ पुस २ गते सभामुख निर्वाचित उनी ०५६ मा उपप्रधानमन्त्री तथा सूचना–सञ्चारमन्त्री र स्थानीय विकासमन्त्री बने । उनी ०५६ देखि ०५८ सम्म उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत बने । ०६१/६२ मा उनी शान्ति समितिको संयोजक बने । ०६३/६४ मा उनी शान्ति तथा पुनर्निर्माणमन्त्री बने । उनले मानव अधिकारसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् । महेन्द्रविक्रम शाह पुरस्कारका साथै जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’को सम्मान पनि उनले प्राप्त गरेका छन् । लेखनमा रुचि राख्ने नवनिर्वाचित राष्ट्रपति पौडेलका नेपाली काङ्ग्रेसको सङ्क्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७, नेपाली काङ्ग्रेस र नेपालको आधुनिकीकरण, नेपाली काङ्ग्रेस के भन्छ ?, आस्थाको यात्रा (राजनीतिक विश्लेषण) – २०५५, नेपाली काङ्ग्रेसको अबको बाटो प्रजातान्त्रिक समाजवाद – २०७५, कृषि, क्रान्ति र समाजवाद, राजनीतिको राजमार्ग – २०७९, नेपाली काङ्ग्रेस रूपान्तरणको मार्गचित्र, नयाँ सन्दर्भमा समाजवाद, अभिशप्त इतिहास (माघ १० काण्डपछि) लगायत दर्जनौँ पुस्तक प्रकाशित छन् । नेपाली काङ्ग्रेसका सरल, सादगी र स्वच्छ जीवन बिताउने नेतामा पर्ने पौडेलका श्रीमती सविना पौडेल, चार छोरी शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा र छोरा चिन्तन छन् ।