स्पार्कल स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

  • त्रिशूली प्रवाह
  • २ चैत्र २०७९, बिहीबार १२:३१

कोलनी, नुवाकोट जिल्लामा सञ्चालनमा रहेका निजी विद्यालयभन्दा फरक शिक्षण विधिबाट अध्यापन गराइरहेको स्पार्कल इन्टरनेसनल स्कुल विदुर नगरपालिका-९ कोलनी नुवाकोटले शनिबार आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त स्पार्कलको वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले गरेका थिए । उनले सो अवसरमा कक्षागत र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै गुणस्तरीय र समयअनुकूल शिक्षा प्रदान गर्न सुझाव दिए । प्ले ग्रुप हुँदै नर्सरीदेखि कक्षा १० सम्म कक्षा सञ्चालन गरिरहेको स्कुलमा पाँच सय विद्यार्थी अध्ययनरत रहेको वार्षिकोत्सव कार्यक्रमका सभापति तथा स्कुलका संस्थापक प्रिन्सिपल यादव अधिकारीले जानकारी दिए । बसको व्यवस्था रहेको स्कुलमा एक वर्षभित्र आफ्नै भवनमा पठन-पाठन सुरु गर्नेसमेत उनले प्रतिबद्धता जनाएका छन् । सो कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, वडा नम्बर ९ का अध्यक्ष हरिराम भण्डारीलगायतले स्कुलले गुणस्तरीय र समयअनुकूल शिक्षा दिइरहेकोमा प्रशंसा गरेका थिए । स्कुलले अभिभावकको चाहनाअनुसार अङ्ग्रेजी माध्यमका मन्टेस्वरी विधिबाट पठन–पाठन गरिरहेको छ ।