+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा ‘मिसन ग्रासरुट’ अभियान जारी जिल्लाको ८८ वटै वडा र टोलटोलमा एमाले

नुवाकोटमा ‘मिसन ग्रासरुट’ अभियान जारी जिल्लाको ८८ वटै वडा र टोलटोलमा एमाले
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, अरू राजनीतिक दल सत्ताप्राप्तिमै रमाइरहेका बेला संसद्को दोस्रो ठूलो दल नेकपा एमाले भने सङ्गठन सुदृढीकरण तथा विस्तारका लागि मिसन ग्रासरुट अभियान सुरु गरेर ७७ वटै जिल्लाको वडाको टोलटोलमा पुगेको छ । यो अभियानअन्तर्गत नुवाकोट जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि १२ वटै पालिकाको बैठक गरेर कार्ययोजना तयारीका लागि बैठक सम्पन्न गरेर वडावडामा प्रतिनिधिमार्फत भेला, बैठकमा व्यस्त छन् । जिल्लामा एमाले केन्द्रीय कार्यालयले खटाएका प्रतिनिधिसँगै प्रदेश र जिल्लाले खटाएका प्रतिनिधि पालिका कमिटीसँग समन्वय गरेर कार्ययोजना बनाउन व्यस्त रहेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नुवाकोट जिल्लामा अभियान सफल बनाउन पार्टीले केन्द्रीय सदस्य कृष्णबहादुर राई, हरिकृष्ण व्यञ्जनकार, शर्मिला कार्की, निता कार्की र माधव अर्याललाई खटाएको छ । पहिलो चरणमा केन्द्रीय प्रतिनिधिले १२ वटै पालिका कमिटीको बैठक गरेर अभियानबारे छलफल गरिसकेको जिल्ला पार्टी उपाध्यक्ष बुद्धिबहादुर प्रधानले जानकारी दिए । जिल्लाको विदुर, किस्पाङ, म्यागङ र सूर्यगढी पालिकामा अभियानको जिम्मेवारी पाएका केन्द्रीय सदस्य कृष्णबहादुर राईले शनिबार कार्ययोजना तयारीका लागि संयुक्त बैठक विदुरमा सम्पन्न गरेर वडा र टोलटोलमा प्रतिनिधिलाई खटाएको जिल्ला पार्टी अध्यक्ष बद्री मैनालीले बताए । सम्पन्न संयुक्त बैठकले अभियानअन्तर्गत गरिने कार्ययोजना पारित गरेको सचिव सुदर्शन नेपालले जानकारी दिए । यो अभियान वैशाख ९ गते समापन हुने भएकाले एमालेका जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटीका सदस्य अहिले जिम्मेवारी पाएको भूगोलमा सम्बन्धित कमिटीसँग समन्वय गरेर सङ्गठन सुदृढीकरण र विस्तारमा व्यस्त छन् । जिल्लाको १२ वटा पालिका, ८८ वटै वडामा एमालेले यो अभियान सदस्यता विस्तार, नवीकरण, कमिटी पुनर्गठन, प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

एमालेको ‘मिसन ग्रासरुट’ अभियान चलिरहेको छ । पार्टीको जरा सङ्गठन टोल कमिटीसम्म पुगेर केन्द्रकै टोलीले उपचार गर्ने यो अभियान सफल पार्न ‘फस्र्ट एड बक्स’ बोकेर केन्द्रीय नेताहरू जिल्ला सदरमुकाममा पुगिसकेका छन् । जिल्लास्तरको बैठक गरेर टोल कमिटीसम्म अभियान फैलाउने तालिका तयार गरिएको छ । यो अभियान चिनियाँ नेता माओले आमाबाट प्राप्त गरेको शिक्षासँग मिल्दो-जुल्दो देखिन्छ । सायद अध्यक्ष केपी शर्मा ओलीलाई पनि एमालेको जरामा मलजल नपुगेको अनुभूति भएको छ । जराको उपचार सकिएपछि लाग्न सक्छ, रोग त हाँगा र टुप्पामा पनि पो रहेछ र त्यहाँ पनि उपचार जरुरी छ । कुनै समय आमा बिरामी पर्दा बगैँचा हेरचाहको जिम्मेवारी माओले पाएछन् । केही दिनपछि आमा तङ्ग्रिएर बगैँचा पुग्दा डाँठहरू सुकेका र पात पहेँलो हुँदै गएका देखिछिन् । छोराले बगैँचा स्याहार नगरेको ठानेर आमा रिसाइछिन् । दैनिक पात पुछ्दै, हाँगाहरू पानीले सफा गरे पनि बोटबिरुवाको हालत खराब भएको माओले स्पष्टीकरण दिएछन् । यो सुनेपछि आमाले भनिछिन्, ‘तिमीले मिहिनेत गरेछौ, तर सही ठाउँमा गरेनछौ ।’ जरामा पानी हालेको भए हाँगा र पात सुक्दैनथ्यो । यो अर्तीपछि माओले चीनको जरा, ग्रामीण किसानबाट क्रान्ति सुरु गरे । यसकै जगमा जनगणतन्त्र चीनको स्थापना भयो ।

एमालेले पनि जरा सङ्गठनका रूपमा रहेको टोलसम्मका पार्टी प्रणालीमा उपचार गर्ने अभियान ल्याएको छ । जरा स्वस्थ र सञ्चारित भए भने पार्टीका हाँगा, डाँठ र पातहरू बलिया हुन्छन् । यसअघि पार्टीका जराहरू कमजोर भइरहेकोप्रति त्यति वास्ता गरिएन । जरालाई माया नगर्ने व्यवहार विकसित हुँदै गयो । जरा सङ्गठनले पाउनुपर्ने अधिकार कटौती हुँदै गए । जस्तो गत स्थानीय निर्वाचनमा, जसले जिताउनुपर्ने हो, उसलाई बेवास्ता गरियो । उम्मेदवार छनोटको अधिकार कटौती गरियो । काम मात्र थोपरियो । माथिल्ला कमिटीबाट वडा र पालिकामा उम्मेदवार तोकिए । यसको परिणाम दुःखद आयो । पछिल्लो समय जरा सङ्गठनलाई ध्यान नदिई टुप्पा–टुप्पाबाट पार्टीका सबै निर्णय भइरहेका छन् । निर्णय अधिकार खिच्ने, आफू–आफू मिलेर लाभको बाँडफाँट गर्ने तथा राजकीय पद र सुविधाको खिचातानी गर्ने परिपाटी अस्वाभाविक रूपमा देखियो । हाँगा र पातमा अनेक विकृति फैलिएपछि पार्टी थेग्ने जरा शिथिल र रोगी हुन थाले । हालै सकिएको तीनै तहका निर्वाचनमा जराले आफ्नो तागतसम्म प्रस्तुत गर्न सकेन ।

संसदीय प्रतिस्पर्धामा अब्बल एमालेले मार्गदर्शन सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)को सफल प्रयोग गरिरहेको छ । नेपाली विशेषतासहितको जबजको जगमा एमालेले जनमत पाइरहेकै छ । यति हुँदाहुँदै पनि सङ्गठन नै सङ्गठन भएको पार्टी किन असङ्गठितजस्तो लाग्छ ? विचार भएको पार्टीका नेता-कार्यकर्ता किन दोबाटोको यात्रीजस्तो अलमलमा छन् ? पार्टीको आधार मानिएको जनवर्गीय सङ्गठन किन शक्तिहीन भइरहेका छन् ? यस्ता प्रश्न मिसन ग्रासरुटले निरुपण गर्ने अपेक्षा गरिएको छ । निर्वाचन परिणाम सोचेभन्दा फरक आउँदै छ भन्ने पत्तो नपाउने ग्रासरुट सङ्गठन त्यति बेला निदाएकै थिए त ! भुइँ सङ्गठनमा लागेको रोग निदान गर्न यसपटक केन्द्रीय टोली खट्ने भनिएको छ । परन्तु, यो ‘दौडाहा टोली’ मात्र हुन सक्छ । दौडेर पुग्ने, दौडेर फर्कने मात्र गर्दा वडास्तर सङ्गठन सुदृढ गर्ने अभियान प्रभावकारी हुन सक्दैनन् । हुन त ग्रासरुटमा खटिएका पार्टी नेताहरू ६० दिनसम्मै जनताका घरमा हुने भनिएको छ । नेताहरूको सुविधाभोगलाई निरुत्साहित गरिएको छ । प्रत्येक दिनको कामको दैनिक कार्यतालिका केन्द्रमा सम्प्रेषण गर्न भनिएको छ । चुनौती सामना गर्न र नवीन विचार दिन सक्ने नेता–कार्यकर्ता उत्पादन गरिने उल्लेख छ । तर्कशील, मिहिनेती, श्रमजीवी नेता र कार्यकर्ता बनाउने लक्ष्य राखिएको छ ।

केन्द्रीय सदस्यले आफ्नो जिल्ला र पालिकाभन्दा फरक स्थानमा काम गर्नुपर्ने सूची सार्वजनिक भएको छ । तिनले सबै वडामा काम गर्नेछन् । आवश्यकताका आधारमा टोल कमिटीसम्म पुग्नेछन् । नेताहरूले घर–घरमा पुगेर जनताका समस्या बुझ्नेछन् । गुनासा पहिचान गर्नेछन् । निर्वाचन जितिएन भने पार्टीले शासन गर्न सक्दैन । जबजको मार्गदर्शनअनुसार समाजवादका आधार तयार गर्न सत्तामै पुग्नुपर्छ । पार्टीबाहिरका कारकबाहेक पछिल्ला निर्वाचनमा सोचेअनुरूप परिणाम नआउनुमा अन्तर्घात र अस्वस्थ अन्तर्सङ्घर्ष मुख्य कारण भएको एमालेको निष्कर्ष छ । अहिलेको अभियानले यसैको उपचार गर्ने उद्देश्य लिएको छ । त्यस्तै प्रविधिको उचित प्रयोग गर्न पनि पार्टीपङ्क्ति चुक्दै छ । मिसन ग्रासरुटले कार्यकर्तालाई प्रविधिको दास बन्ने होइन, प्रविधिको उपयोग गर्न सिकाउँछ । यसको विकृत पक्षबाट जोगिन पहल गर्छ । अभियानले पार्टी सङ्गठनका इन्जिनका पार्टपुर्जा कसकास गर्छ । तल्ला सङ्गठनको जराको ओखती गर्छ । पार्टी सदस्यता नवीकरण गर्न शिविर सञ्चालन गर्छ । नयाँ सदस्यलाई आकर्षित गर्छ । राजनीतिक दलका लागि पार्टी सदस्य ठूलो सम्पत्ति हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह