नुवाकोटमा ‘मिसन ग्रासरुट’ अभियान जारी जिल्लाको ८८ वटै वडा र टोलटोलमा एमाले

  • त्रिशूली प्रवाह
  • २ चैत्र २०७९, बिहीबार १२:४५

विदुर, अरू राजनीतिक दल सत्ताप्राप्तिमै रमाइरहेका बेला संसद्को दोस्रो ठूलो दल नेकपा एमाले भने सङ्गठन सुदृढीकरण तथा विस्तारका लागि मिसन ग्रासरुट अभियान सुरु गरेर ७७ वटै जिल्लाको वडाको टोलटोलमा पुगेको छ । यो अभियानअन्तर्गत नुवाकोट जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि १२ वटै पालिकाको बैठक गरेर कार्ययोजना तयारीका लागि बैठक सम्पन्न गरेर वडावडामा प्रतिनिधिमार्फत भेला, बैठकमा व्यस्त छन् । जिल्लामा एमाले केन्द्रीय कार्यालयले खटाएका प्रतिनिधिसँगै प्रदेश र जिल्लाले खटाएका प्रतिनिधि पालिका कमिटीसँग समन्वय गरेर कार्ययोजना बनाउन व्यस्त रहेका छन् ।

नुवाकोट जिल्लामा अभियान सफल बनाउन पार्टीले केन्द्रीय सदस्य कृष्णबहादुर राई, हरिकृष्ण व्यञ्जनकार, शर्मिला कार्की, निता कार्की र माधव अर्याललाई खटाएको छ । पहिलो चरणमा केन्द्रीय प्रतिनिधिले १२ वटै पालिका कमिटीको बैठक गरेर अभियानबारे छलफल गरिसकेको जिल्ला पार्टी उपाध्यक्ष बुद्धिबहादुर प्रधानले जानकारी दिए । जिल्लाको विदुर, किस्पाङ, म्यागङ र सूर्यगढी पालिकामा अभियानको जिम्मेवारी पाएका केन्द्रीय सदस्य कृष्णबहादुर राईले शनिबार कार्ययोजना तयारीका लागि संयुक्त बैठक विदुरमा सम्पन्न गरेर वडा र टोलटोलमा प्रतिनिधिलाई खटाएको जिल्ला पार्टी अध्यक्ष बद्री मैनालीले बताए । सम्पन्न संयुक्त बैठकले अभियानअन्तर्गत गरिने कार्ययोजना पारित गरेको सचिव सुदर्शन नेपालले जानकारी दिए । यो अभियान वैशाख ९ गते समापन हुने भएकाले एमालेका जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटीका सदस्य अहिले जिम्मेवारी पाएको भूगोलमा सम्बन्धित कमिटीसँग समन्वय गरेर सङ्गठन सुदृढीकरण र विस्तारमा व्यस्त छन् । जिल्लाको १२ वटा पालिका, ८८ वटै वडामा एमालेले यो अभियान सदस्यता विस्तार, नवीकरण, कमिटी पुनर्गठन, प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

एमालेको ‘मिसन ग्रासरुट’ अभियान चलिरहेको छ । पार्टीको जरा सङ्गठन टोल कमिटीसम्म पुगेर केन्द्रकै टोलीले उपचार गर्ने यो अभियान सफल पार्न ‘फस्र्ट एड बक्स’ बोकेर केन्द्रीय नेताहरू जिल्ला सदरमुकाममा पुगिसकेका छन् । जिल्लास्तरको बैठक गरेर टोल कमिटीसम्म अभियान फैलाउने तालिका तयार गरिएको छ । यो अभियान चिनियाँ नेता माओले आमाबाट प्राप्त गरेको शिक्षासँग मिल्दो-जुल्दो देखिन्छ । सायद अध्यक्ष केपी शर्मा ओलीलाई पनि एमालेको जरामा मलजल नपुगेको अनुभूति भएको छ । जराको उपचार सकिएपछि लाग्न सक्छ, रोग त हाँगा र टुप्पामा पनि पो रहेछ र त्यहाँ पनि उपचार जरुरी छ । कुनै समय आमा बिरामी पर्दा बगैँचा हेरचाहको जिम्मेवारी माओले पाएछन् । केही दिनपछि आमा तङ्ग्रिएर बगैँचा पुग्दा डाँठहरू सुकेका र पात पहेँलो हुँदै गएका देखिछिन् । छोराले बगैँचा स्याहार नगरेको ठानेर आमा रिसाइछिन् । दैनिक पात पुछ्दै, हाँगाहरू पानीले सफा गरे पनि बोटबिरुवाको हालत खराब भएको माओले स्पष्टीकरण दिएछन् । यो सुनेपछि आमाले भनिछिन्, ‘तिमीले मिहिनेत गरेछौ, तर सही ठाउँमा गरेनछौ ।’ जरामा पानी हालेको भए हाँगा र पात सुक्दैनथ्यो । यो अर्तीपछि माओले चीनको जरा, ग्रामीण किसानबाट क्रान्ति सुरु गरे । यसकै जगमा जनगणतन्त्र चीनको स्थापना भयो ।

एमालेले पनि जरा सङ्गठनका रूपमा रहेको टोलसम्मका पार्टी प्रणालीमा उपचार गर्ने अभियान ल्याएको छ । जरा स्वस्थ र सञ्चारित भए भने पार्टीका हाँगा, डाँठ र पातहरू बलिया हुन्छन् । यसअघि पार्टीका जराहरू कमजोर भइरहेकोप्रति त्यति वास्ता गरिएन । जरालाई माया नगर्ने व्यवहार विकसित हुँदै गयो । जरा सङ्गठनले पाउनुपर्ने अधिकार कटौती हुँदै गए । जस्तो गत स्थानीय निर्वाचनमा, जसले जिताउनुपर्ने हो, उसलाई बेवास्ता गरियो । उम्मेदवार छनोटको अधिकार कटौती गरियो । काम मात्र थोपरियो । माथिल्ला कमिटीबाट वडा र पालिकामा उम्मेदवार तोकिए । यसको परिणाम दुःखद आयो । पछिल्लो समय जरा सङ्गठनलाई ध्यान नदिई टुप्पा–टुप्पाबाट पार्टीका सबै निर्णय भइरहेका छन् । निर्णय अधिकार खिच्ने, आफू–आफू मिलेर लाभको बाँडफाँट गर्ने तथा राजकीय पद र सुविधाको खिचातानी गर्ने परिपाटी अस्वाभाविक रूपमा देखियो । हाँगा र पातमा अनेक विकृति फैलिएपछि पार्टी थेग्ने जरा शिथिल र रोगी हुन थाले । हालै सकिएको तीनै तहका निर्वाचनमा जराले आफ्नो तागतसम्म प्रस्तुत गर्न सकेन ।

संसदीय प्रतिस्पर्धामा अब्बल एमालेले मार्गदर्शन सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)को सफल प्रयोग गरिरहेको छ । नेपाली विशेषतासहितको जबजको जगमा एमालेले जनमत पाइरहेकै छ । यति हुँदाहुँदै पनि सङ्गठन नै सङ्गठन भएको पार्टी किन असङ्गठितजस्तो लाग्छ ? विचार भएको पार्टीका नेता-कार्यकर्ता किन दोबाटोको यात्रीजस्तो अलमलमा छन् ? पार्टीको आधार मानिएको जनवर्गीय सङ्गठन किन शक्तिहीन भइरहेका छन् ? यस्ता प्रश्न मिसन ग्रासरुटले निरुपण गर्ने अपेक्षा गरिएको छ । निर्वाचन परिणाम सोचेभन्दा फरक आउँदै छ भन्ने पत्तो नपाउने ग्रासरुट सङ्गठन त्यति बेला निदाएकै थिए त ! भुइँ सङ्गठनमा लागेको रोग निदान गर्न यसपटक केन्द्रीय टोली खट्ने भनिएको छ । परन्तु, यो ‘दौडाहा टोली’ मात्र हुन सक्छ । दौडेर पुग्ने, दौडेर फर्कने मात्र गर्दा वडास्तर सङ्गठन सुदृढ गर्ने अभियान प्रभावकारी हुन सक्दैनन् । हुन त ग्रासरुटमा खटिएका पार्टी नेताहरू ६० दिनसम्मै जनताका घरमा हुने भनिएको छ । नेताहरूको सुविधाभोगलाई निरुत्साहित गरिएको छ । प्रत्येक दिनको कामको दैनिक कार्यतालिका केन्द्रमा सम्प्रेषण गर्न भनिएको छ । चुनौती सामना गर्न र नवीन विचार दिन सक्ने नेता–कार्यकर्ता उत्पादन गरिने उल्लेख छ । तर्कशील, मिहिनेती, श्रमजीवी नेता र कार्यकर्ता बनाउने लक्ष्य राखिएको छ ।

केन्द्रीय सदस्यले आफ्नो जिल्ला र पालिकाभन्दा फरक स्थानमा काम गर्नुपर्ने सूची सार्वजनिक भएको छ । तिनले सबै वडामा काम गर्नेछन् । आवश्यकताका आधारमा टोल कमिटीसम्म पुग्नेछन् । नेताहरूले घर–घरमा पुगेर जनताका समस्या बुझ्नेछन् । गुनासा पहिचान गर्नेछन् । निर्वाचन जितिएन भने पार्टीले शासन गर्न सक्दैन । जबजको मार्गदर्शनअनुसार समाजवादका आधार तयार गर्न सत्तामै पुग्नुपर्छ । पार्टीबाहिरका कारकबाहेक पछिल्ला निर्वाचनमा सोचेअनुरूप परिणाम नआउनुमा अन्तर्घात र अस्वस्थ अन्तर्सङ्घर्ष मुख्य कारण भएको एमालेको निष्कर्ष छ । अहिलेको अभियानले यसैको उपचार गर्ने उद्देश्य लिएको छ । त्यस्तै प्रविधिको उचित प्रयोग गर्न पनि पार्टीपङ्क्ति चुक्दै छ । मिसन ग्रासरुटले कार्यकर्तालाई प्रविधिको दास बन्ने होइन, प्रविधिको उपयोग गर्न सिकाउँछ । यसको विकृत पक्षबाट जोगिन पहल गर्छ । अभियानले पार्टी सङ्गठनका इन्जिनका पार्टपुर्जा कसकास गर्छ । तल्ला सङ्गठनको जराको ओखती गर्छ । पार्टी सदस्यता नवीकरण गर्न शिविर सञ्चालन गर्छ । नयाँ सदस्यलाई आकर्षित गर्छ । राजनीतिक दलका लागि पार्टी सदस्य ठूलो सम्पत्ति हो ।