गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण ठप्प गँगटे–ढुङ्गे सडकखण्ड निर्माणमा किन अलमल ?

  • त्रिशूली प्रवाह
  • ९ चैत्र २०७९, बिहीबार १२:५२

विदुर, राष्ट्रिय गौरवको योजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माणले गति लिन सकेको छैन । योजनाको निर्माण कार्य तीन प्याकेजमा भए पनि दुई प्याकेजमा ठेक्का लागेको छ । दुई प्याकेजमध्ये पहिलो प्याकेज गल्छी–मैलुङसम्म सडकको मात्र ८० प्रतिशत काम सम्पन्न भएको छ । दोस्रो प्याकेज मैलुङ–स्याफ्रुबेँसी खण्डको १९ किलोमिटरको कामको जिम्मा लिएको ठेकेदार विगत एक वर्षदेखि कार्यस्थल छोडेर गायव छन् । ठेकेदार गायव भएपछि उक्त खण्डको काम डेढ वर्षदेखि रोकिएको छ ।

पहिलो खण्डको गल्छी–मैलुङसम्मको ४६ किलोमिटर क्षेत्रको विदुर नगरपालिकाको गँगटेदेखि ढुङ्गेसम्मको साढे दुई किलोमिटर सडक निर्माणको अवरोध सर्वोच्च अदालतले तीन महिनाअघि नै हटाइदिएको छ । यो खण्डका सडक प्रभावित स्थानीय उपभोक्ताले दुई वर्ष अगाडि मुआब्जाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । अदालतले यो खण्डको काम नगर्न÷नगराउन आन्तरिम आदेश जारी गरेपछि रोकिएको थियो । अदालतले स्थानीय बासिन्दाको पक्षमा गत पुसमै फैसला गरेर निर्माण कार्य अगाडि बढाउने आदेश दिएको थियो । फैसला जनताको पक्षमा भएर आएपछि योजना कार्यालय भने पूर्णपाठको पर्खाइमा कुनै कार्य नगरी बसिरहेको छ । अदालतको पूर्णपाठअनुसार सडक निर्माणका लागि नगरपालिका र स्थानीय प्रशासनसँग समन्वय गरेर छलफल अगाडि बढाउन कार्यालय लाग्नुपर्ने हो । अदालतको पूर्णपाठ नआएसम्म कार्य गर्दा अदालतको अपहेलना हुने भएकाले केही काम नगरेको योजना प्रमुख ध्रुवकुमार श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । अदालतको पूर्णपाठ आउँदै गर्छ, त्यसको मर्मअनुसार घर, टहरा हटाउन कार्यालयले पहल नगरेको धारणा नागरिक समाजका अध्यक्ष बद्री तिवारीले राखेका छन् । अहिले सडक मापदण्डअनुसार निर्माण गर्नुपर्छ भनेर नगरपालिका, स्थानीय सरोकारवालाले भनिरहे पनि योजना प्रमुखले रिक्स लिन नसक्दा निर्माण कार्य ठप्प भएको उनले बताए । अदालतले फैसला गरेको सङ्क्षिप्त पाठमा मुआब्जा दिएर निर्माण अगाडि बढाउन आदेश गरेपछि अलमल गरिरहनुपर्ने अवस्था नरहेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताएका छन् । निर्माण गर्न कहीँ–कतैबाट अहिले रोकतोक छैन, योजनालाई सहयोग गर्ने वातावरण बनेको अवस्थामा योजना कार्यालयले जिल्ला प्रशासन, नगरपालिकाका जनप्रतिनिधि र सडक सरोकारवालाको संयुक्त बैठक गरेर कार्य अगाडि बढाउन उनले सुझाव दिएका छन् । अदालतको फैसलाको मर्मअनुसार यो क्षेत्रको घर, टहरा, बिजुली र टेलिकमको पोल, खानेपानीको पाइप हटाउन नापजाँच सुरु गर्न योजना कार्यालयलाई कहीँ–कतैबाट पनि रोकतोक देखिंदैन । कार्यालय प्रमुख र प्राविधिक कर्मचारी अहिले कामविहीन देखिन्छन् ।

गल्छी–मैलुङ सडकखण्डको काम गर्न बाँकी स्थानमा कार्यक्षेत्र खाली गरिदिन कार्यालयलाई आग्रह गर्दै जनशक्ति र उपकरणसहित ठेकेदार बसेको एक वर्ष भइसक्यो । यो खण्डको निर्माणको जिम्मा कोभेक टुन्डी रसुवा जेभीले पाएको छ । यो खण्डको ४६ किलोमिटरमध्ये लगभग ४० किलोमिटर सडक कालोपत्रे भइसकेको दाबी ठेकेदारले गरेको छ । यो खण्डको गँगटे–विदुर–ढुङ्गे र बेत्रावतीबजारको एक सय मिटर स्थानीयले मन्दिर नहटाउँदा पिच गर्न रोकिएको छ । बेत्रावतीको नयाँपुल क्षेत्र, शान्तिबजार र सल्लेटार क्षेत्रमा कतै अदालतको कारण, कतै स्थानीयको मुआब्जाको कारण ठेकेदारले काम गर्न पाएको छैन । योजना कार्यालयले कार्यक्षेत्र खाली नगरिदिए वैशाखपछि यस खण्डबाट ठेकेदार काम छाडेर जाने तयारी गरिरहेको छ । ४६ किलोमिटर दूरीको सडकको सुरु लागत अनुमान १५ अर्ब ५० करोड रुपैयाँमध्ये अहिलेसम्म १० अर्ब खर्च भइसकेको छ । दोस्रो खण्डको मैलुङ–स्याफ्रुबेँसीखण्ड एक अर्ब ४५ करोडमा सक्ने गरी ०७७ मा ठेक्का ठेकेदार श्री भारत कन्स्ट्रक्सन सिद्धिशाही जेभीले ०७९ माघमा सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । त्यो खण्डका ठेकेदार १५ महिनादेखि सम्पर्कविहीन भएपछि कार्यालयले पत्राचार र बैंकमार्फत धरौटी प्रक्रिया फिर्ता अगाडि बढाएपछि अहिले ठेकेदार कम्पनीको नयाँ गु्रप आएर काम गर्छु भनिरहेको योजना प्रमुख श्रेष्ठले बताए । कार्यालयले सकेसम्म पुरानै ठेकेदारलाई काम गराउने वातावरण बनाइरहेकोसमेत उनले बताए । अहिले ठेकेदारको नयाँ प्राविधिक टोलीले उक्त खण्डको प्राविधिक अध्ययन गरिरहेकाले छिट्टै काम थाल्ने विश्वाससमेत रहेको उनले बताए । यो खण्ड नेपाली सेनाले ट्र्याक खोलेको सडक हो । यस खण्डमा सडक फराकिलो बनाउने, तारजाली, टेवा पर्खाल तथा नाली निर्माणको समेत गरी २५ प्रतिशत मात्र काम सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ । यो खण्डको भुक्तानी ठेकेदारले ४५ करोड लगिसकेको छ । गल्छीदेखि रसुवागढीसम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम अगाडि बढाएकोमा तेस्रो खण्ड स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १५.८ किलोमिटरको काम सुरु नै हुन सकेको छैन । यो खण्डको हाल एक लेनको कच्ची सडक स्तरोन्नतिपछि दुई लेनको बन्नेछ । चीन सरकारले नै विगतमा एक लेनको सडक बनाइदिएको थियो । अहिले पनि उक्त सडक दुई लेनको स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण चिनियाँ सरकारले गर्ने सम्झौता भएको छ । यो खण्डमा नेपाल सरकारले कार्यक्षेत्र खाली गरिदिनुपर्ने सम्झौतामा उल्लेख छ । हालसम्म यो खण्डमा बिजुलीको पोल हटाउने मात्र काम भएको छ । चिनियाँ ठेकेदार कोरोनाको बहाना देखाउँदै सम्पर्कमा मात्र रहेको तर कार्यक्षेत्रमा नफर्केको योजना प्रमुख श्रेष्ठले बताए ।

योजनाअन्तर्गत १६ वटा पुल निर्माण गर्नुपर्छ । हाल केही पुल निर्माण सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन र केही टेन्डरको प्रक्रियामा रहेको कार्यालयले जानकारी दिएको छ । भारतले ०७२ मा नाकाबन्दी गरेपछि भारतको परनिर्भरता कम गर्न चीनसँग ब्यापार सहज गर्न नेपाल सरकारले यो सडकको निर्माण सुरु गरेको थियो । देशको गौरवको आयोजनाको निर्माणमा सरोकारवाला निकायले महत्व नदिँदा कामले गति लिन नसकेको स्थानीय बताउँछन् । योजनामा पाँचजना कार्यालय प्रमुख फेरिइसके पनि योजना सम्पन्न नहुनु दुर्भाग्य रहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । यो सडक समयमा निर्माण सम्पन्न हुँदा रसुवा र नुवाकोटको आर्थिक विकाससँगै चीनबाट आयात हुने सामान छिटो र सुरक्षित तवरले नेपाल भित्र्याउन सहज हुनेसमेत उनले दाबी गरे । राजधानी काठमाडौंबाट रसुवागढी नाका पुग्न छोटो दूरीको सडक बनाउन सरकारको योजनाअनुसार गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण सुरु गरिएको थियो । सडक निर्माण सकिएपछि काठमाडौंबाट गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी हुँदै चीनको सीमा रसुवागढी सजिलै पुग्न सकिन्छ । रसुवागढीदेखि धादिङको गल्छीसम्मको दूरी करिब ८२ किलोमिटर छ । गल्छीबाट काठमाडौंसम्मको दूरी ५० किलोमिटर छ । बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटरको दूरी पार गर्नुपर्छ । बेत्रावती–मैलुङ–स्याफ्रुबेँसीको दूरी २९ किलोमिटर मात्रै छ । यो सडक बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ । रसुवागढी–केरुङसम्मको दूरी भने २४ किलोमिटर छ । पासाङल्हामु मार्गको बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने हुन्छ । बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रु पुग्न गाडीलाई कुनै पनि घुम्ती पार गर्नुपर्दैन । काठमाडौंबाट चीनको केरुङ भने करिब चार घण्टामा पुग्न सकिन्छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक दक्षिण एसिया जोड्न ‘लाइफलाइन’का रूपमा रहने बताइएको छ । सडक बनेपछि उत्तर (चीनको केरुङ) र दक्षिण (भारतको ठोरी) जोडिने सबैभन्दा छोटो त्रिदेशीय सडक हुनेछ । पर्साको ठोरीबाट चितवनको भण्डारा–गल्छी हुँदै त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी मार्ग सञ्चालन हुँदा चीन र भारतबीचको दूरी करिब दुई सय किलोमिटर हुने बताइएको छ । जिम्मेवार निकायले निर्माण कार्यमा तदारुकता नदेखाउँदा यो सडक कहिले सम्पन्न हुने अनिश्चित बनेको छ ।