लिखुको ६ वटै वडामा भएका सार्वजनिक सुनुवाइमा पालिकाको भवन निर्माणमा भइरहेको ढिलाइप्रति चासो

  • त्रिशूली प्रवाह
  • ९ चैत्र २०७९, बिहीबार १३:२९

ढिकुरे, नुवाकोट जिल्लाको लिखु गाउँपालिकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्म सम्पादन गरेका काम तथा प्रवाह गरेका सेवाको सम्बन्धमा सार्वजनिक सुनुवाइ गरेर नागरिकको प्रतिक्रिया लिएको छ । ६ वटै वडामा भएको सार्वजनिक सुनुवाइमा नागरिकले पालिकाले प्रवाह गरेको सेवा तथा कार्यसम्पादन प्रभावकारी भए पनि पालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेका छन् ।

चालू आर्थिक वर्षको अहिलेसम्म पालिका र पालिकाअन्तर्गत रहेका ६ वटै वडामा सञ्चालन भएका तथा हुने क्रममा रहेका योजनाको सम्बन्धमा सार्वजनिक सुनुवाइमार्फत सरोकारवाला आम नागरिकको प्रतिक्रिया सङ्कलन गरिएको हो । गाउँपालिकाको आयोजना तथा युवा सञ्चार नेपालमार्फत सञ्चालित रेडियो चिम्टेश्वरको सहजीकरणमा यसअघि गत बिहीबार वडा नं. १, २ र ३ मा केन्द्रित भएर सार्वजनिक सुनुवाइ गरिएकोमा शुक्रबार वडा नम्बर ४, ५ र ६ मा सञ्चालित योजना तथा कार्यक्रम र पालिकासहित ती वडाले प्रवाह गरेको सेवा सम्बन्धमा आमनागरिकलाई जानकारी दिँदै त्यसमाथि सरोकारवाला जनताको राय सङ्कलन गरिएको थियो ।

गाउँपालिकाको अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष सुभद्रा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमसहितको पालिकाको विभिन्न शाखाको प्रमुखको उपस्थितमा शुक्रबार वडा नम्बर ५ स्थित गाउँपालिकाको भवन परिसरमा पिपलबोटेमा आयोजित सार्वजनिक सुनुवाइमा वडा न ४, ५ र ६ नम्बरभित्र चालू आर्थिक वर्षभित्र सञ्चालन भएका तथा हुन लागेका योजना, वडा कार्यालयमा दर्ता भएका घटना दर्ताको विवरण, पालिकाले सङ्कलन गरेको राजस्व तथा सेवा प्रवाहमा गरिएको सहजीकरणको सम्बन्धमा सम्बन्धित वडाको वडाध्यक्षबाट नागरिकलाई जानकारी गराइएको थियो । सार्वजनिक सुनुवाइमा वडा नम्बर ४ को वडाध्यक्ष प्रकाश राई र वडासचिव राजनप्रसाद अधिकारी, वडा नम्बर ५ को वडाध्यक्ष विश्वप्रसाद खतिवडा र वडा नम्बर ६ को वडाध्यक्ष सुमन भण्डारीले आ-आफ्नो वडा कार्यालयबाट प्रवाह गरिएको योजना तथा कार्यक्रम एवम् बजेटसहित घटना दर्ताको तथ्याङ्क, राजस्व सङ्कलन, वडा कार्यालयको पहलमा भए-गरेका कार्य सम्पादनको जानकारी गराएका थिए ।

वडा कार्यालयले प्रवाह गरेको सेवा तथा कार्यसम्पादन प्रभावकारी रहेको भन्दै सहभागी सरोकारवालाबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ भने वडा नम्बर १, २ र ३ का नागरिकले जस्तै वडा नम्बर ४, ५ र ६ नम्बरका नागरिकले पनि पालिकाको भवन निर्माणमा भइरहेको ढिलाइप्रति चासो देखाउँदै कुन स्थानमा बनाउने हो, त्यस सम्बन्धमा तत्कालै निर्णय लिन सुझाव दिएका छन् । पालिकाको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको, भाडाको भवनमा बस्नुपर्ने बाध्यताले खर्चको दायरा बढेको तथा पालिकाको केन्द्र अझै अन्योल भएकाले जग्गाको यकिन गरेर कानुनी प्रक्रिया पूरा गर्दै विपत्बाट सुरक्षित र सबैलाई पायक पर्ने स्थानमा भवन निर्माण गर्नका लागि ढिलो नगर्न सहभागी सरोकारवालाले ध्यानाकर्षण गराएका छन् । लिखु गाउँपालिकाबाट प्रवाह भएको सेवाप्रति नागरिक तहबाट सन्तोषजनक प्रक्रिया पाएसँगै भवन निर्माणमा देखाएको चासोलाई पालिकाले गम्भीर रूपमा लिएको गाउँपालिकाको अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले सार्वजनिक सुनुवाइको उद्देश्य र औचित्वमाथि स्पष्ट बनाउँदै धेरैबाट जिज्ञासा उठेको गाउँपालिकाको भवन निर्माणको सन्दर्भमा पालिकाको भवन बनाउन हरेक वर्ष बजेट छुट्याउँदै आए पनि उपयुक्त स्थानको अभावले बनाउन नसकिएको जानकारी दिए । अब गाउँपालिकाको केन्द्रको निक्र्योल भएसँगै भवन निर्माणअघि बढाउन लागिएको बताए । तत्कालीन समयमा गाउँपालिकाको केन्द्र तोकिएको भाल्डाँडा अहिले बसिरहेको डुँडे र जग्गा खोजिएको स्थान सिमलचौरमा सङ्घीय मन्त्रालयले तोकेको मापदण्डअनुसार जग्गा नपुगेकाले केन्द्र र भवन अन्योल हुन पुगेकोले वडा नम्बर ३ को वडाध्यक्ष सीताराम पुलामीमगर (राम)को संयोजकत्वमा एक समिति गठन भएकाले उक्त समितिले गर्ने सिफारिस तथा दिने सुझावको आधारमा अन्तिम निर्णय लिइने प्रमुख प्रशासकीय अधिकृत बमले स्पष्ट पारे । कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष सुभद्रा अधिकारीसहित वडा नम्बर ४, ५ र ६ को वडाका पदाधिकारी, कार्यपालिकाको सदस्य, गाउँपालिकाका योजना शाखा प्रमुख रामचन्द्र लामिछानेसहित विभिन्न विषयतगत शाखाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।