सङ्कटग्रस्त अर्थतन्त्र सम्हाल्ने जिम्मा महतलाई

  • त्रिशूली प्रवाह
  • २३ चैत्र २०७९, बिहीबार १२:३५

नेपालमा ०४६ को जनआन्दोलनले निरङ्कुश भनिएको पञ्चायती व्यवस्थाको पतन र प्रजातान्त्रिक व्यवस्था पुनर्वहाली ग¥यो । ०७ सालमा प्राप्त प्रजातन्त्र ०१७ सालमा खोसियो । खोसिएको प्रजातन्त्र ०४६ सालमा पुनर्वहाली भयो ।

प्रजातान्त्रिक व्यवस्थासँगै ०४८ मा पहिलो निर्वाचन भयो । उक्त निर्वाचनपछि काङ्ग्रेसले हालसम्म आइपुग्दा पटक-पटक सत्ताको नेतृत्व ग¥यो । काङ्ग्रेसको नेतृत्वमा ०५१ पछि बनेको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी, नुवाकोटको डा. रामशरण महतले पाएका थिए । उनले पटक–पटक गरेर १६ वर्ष यो देशको ढुकुटीमा हालीमुहाली चलाए । काङ्ग्रेसमा अर्थमन्त्री हुने व्यक्ति नै नभए प्रमाणित गर्दै छैटौँपटकसम्म अर्थमन्त्री हुन सफल डा. महतका सहोदर भाइ डा. प्रकाशशरण महत शुक्रबार अर्थमन्त्रीमा बहाली भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले काङ्ग्रेसलाई समेटेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेसँगै महतले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । दाहाल प्रधानमन्त्री भएपछि एक सय ६ दिनमा यो सातौँपटक मन्त्रिमण्डल विस्तार भएको हो । तैपनि मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन सकेको छैन । योग्यता, क्षमता र पार्टीमा निरन्तर सक्रिय रहेका डा. प्रकाशशरण महत नेपाली काङ्ग्रेसका प्रभावशाली नेतामध्येमा पर्छन् । उनले यसभन्दा अघि अवसर नै नपाएका भने होइनन् । नुवाकोटबाटै पटक–पटक राजनीति गर्न खोज्दै आएका उनले दाइ रामशरण महतको र उनको निर्वाचन क्षेत्र एउटै भएकाले दाइ सक्रिय हुन्जेल अवसर पाएनन् । नुवाकोटबाटै संसद्मा प्रतिनिधि गर्ने उनको चाहना दाइको कारण पूरा हुन सकेको थिएन । कङ्ग्रेसको शक्तिकेन्द्रमा रहेका प्रकाशशरण महत दुईपटक समानुपातिक सांसद, ०७४ मा काठमाडौंको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्षतर्फ उम्मेदवार बनेर एमालेका तत्कालीन महासचिव ईश्वर पोखरेलसँग पराजित भएका थिए ।

निर्वाचनका लागि एकपटक मात्र टिकट पाएर असफल भएका महत दोस्रो प्रतिनिधिसभा मङ्सिरमा सम्पन्न निर्वाचनमा दाइ स्वास्थ्यका कारण चुनाव नलड्ने भएपछि नुवाकोटको क्षेत्र नं. १ मा चुनावमा उठ्ने तयारी गरिरहेका थिए । उनको नुवाकोटबाटै चुनावमा उठ्ने धोको माओवादी केन्द्रसँगको चुनावी गठबन्धनले अपूरो बन्यो । यसै वर्ष सम्पन्न स्थानीय, सङ्घ र प्रदेश निर्वाचनमा काङ्ग्रेस, माओवादीसहित पाँचदलीय गठबन्धन रहेको थियो । गठबन्धन हुँदा नुवाकोटको क्षेत्र नं. १ माओवादीको भागमा परेपछि महत प्रतिनिधिसभाको समानुपातिकतर्फबाट सांसद भए । गत अधिवेशनमा महामन्त्रीमा पराजित महतलाई सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्ताको जिम्मा दिएर आफ्नो सचिवालयको निर्णायक सदस्य बनाएका थिए । विश्वका अर्थमन्त्रीको मूल्याङ्कन गर्ने संस्थाले उनका दाइ डा. रामशरण महतलाई उत्कृष्ट अर्थमन्त्रीको रूपमा सम्मान गरिसकेको छ । उनले अब ंदाइले अँगालेको खुला अर्थतन्त्रको नीतिलाई अङ्गीकार गरी देशको टाट पल्टिने अवस्थाको अर्थतन्त्रलाई सञ्जीवनी दिलाउनुपर्नेछ । देशवासीले पनि उनीसँग यही अपेक्षा गरेका छन् । उनी पनि दाइजस्तै सफल अर्थमन्त्री बन्नु छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका कविलासमा जन्मेका महतले अर्थमन्त्रीको पदभार ग्रहण गरेसँगै व्यवसायी क्षेत्र आशातीत बनेको छ ।

अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै महतले व्यवसायीमा देखिएको नैराश्यता अन्त्य गर्न राष्ट्र बैंकको अहम् भूमिका रहेको भन्दै मन्त्रालयले राष्ट्र बैंकसँग समन्वय गरेर काम गर्ने बताएका छन् । ‘लघुवित्त र सहकारी समस्यामा छन् । अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वय गरी काम गर्न जरुरी छ,’ उनले भने । अर्थतन्त्रमा रहेका निराशालाई आशामा बदल्ने सकारात्मक सोचमा आफू रहेको महतले बताए । ‘अझै बैंकको ब्याजदर उच्च छ, सेयर बजारमा निराशा छ, उद्योगी–व्यवसायी सबैमा निराशा बढेको छ, सबैको आत्मविश्वास बढाउनुपर्नेछ, त्यसका लागि राष्ट्र बैंकसँग समन्वय गरी अर्थ मन्त्रालयले सक्रियताका साथ काम गर्छ,’ मन्त्री महतले भने । लगानीमा नकारात्मक वातावरण बनेको भन्दै उनले त्यसलाई सकारात्मक बनाउन आवश्यक रहेको बताउँदै, यसमा राष्ट्र बैंकको ठूलो भूमिका हुने भएकाले यो र त्यो भन्ने भन्दा पनि राष्ट्र बैंक सँगसँगै काम गर्ने बताए । ‘यो र त्यो भन्ने होइन, हामी सँगै काम गर्ने हो,’ उनले भने । राज्य संरचनाको जिम्मेवारीलाई यो र त्यो नभनी अर्थतन्त्रलाई उकास्ने प्रतिबद्धता मन्त्री महतले व्यक्त गरेका छन् । लामो समयको प्रयास र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी गठबन्धन दलबीच मन्त्रिमण्डल विस्तारका लागि भागबन्डा मिलेपछि नेपाली काङ्ग्रेसका प्रवक्ता एवम् प्रतिनिधिसभाका सदस्य महतसहित ११ जना नयाँ मन्त्रीलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका छन् । हाल मुलुकको अर्थतन्त्रमा समस्या देखिएका बेला महत अर्थमन्त्री हुँदा धेरैले चासोका रूपमा हेरिरहेका छन् । नवनियुक्त अर्थमन्त्री महत कक्षा ७ मा पढ्दादेखि नै नेपाल विद्यार्थी सङ्घको आदर्शबाट प्रेरित भएर राजनीतिमा होमिएका थिए ।

महत २०३६ सालको विद्यार्थी आन्दोलन र ०३७ सालको जनमतसङ्ग्रहमा अग्रमोर्चामा रहेर काम गरेका प्रभावशाली नेता हुन् । अर्थमन्त्री महतले ०४२ सालको सत्याग्रहमा सक्रिय रहँदै नेपाल विद्यार्थी सङ्घको महासचिवको जिम्मेवारीमा थिए । काङ्ग्रेसको नेतृत्वमा सुरु भएको ०४६ सालको जनआन्दोलनमा पनि महतले एक्सन कमिटीमा रहेका काम गरेका थिए । त्यसपछि ०५५÷५६ सालदेखि नेपाली काङ्ग्रेसका केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने अवसर पाएका महत ०५९ सालदेखि निरन्तर नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य रहेर काम गरिरहेका छन् । उनले ०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र ०७९ को मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा एवम् प्रदेश सभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको संयोजकको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरेका थिए । ०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यका रूपमा व्यवस्थापिकाको यात्रा आरम्भ गरेका महतले पहिलो संविधानसभा ०६४ देखि ०६९ साल र दोस्रो संविधानसभा ०७० देखि ०७४ सालसम्म विधायकका रूपमा काम गरे । दोस्रो संविधानसभाले नै ००७ सालको जनक्रान्तिको आह्वान गर्दा नेपाली काङ्ग्रेसका संस्थापक बिपी कोइरालाले अघि सारेका नेपाली जनताले आफू शासित हुने विधान आफ्नै जनप्रतिनिधिबाट बनाउने प्रस्तावलाई मूर्तरूप दिने सफलता पायो । जननिर्वाचित जनताका प्रतिनिधिबाट संविधान निर्माण गराएर नेपालको राजनीतिक इतिहासलाई नयाँ मोड दिने कार्यमा पनि महतको महत्वपूर्ण योगदान रहेको छ ।

नेपालमा माओवादी विद्रोह उत्कर्षमा रहेका बेलामा सरकारले ०५६ सालमा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्यसचिवको जिम्मेवारीसमेत उनले सम्हालेका थिए । उनलाई सरकारले ०५८ चैतदेखि ०५९ असोजसम्म राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त पनि गरेको थियो । उनले ०६१ जेठदेखि ०६१ माघ १९ सम्म पराराष्ट्र मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । ०६३ देखि ०६४ सालसम्म माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि उनले ०६४ साउनदेखि ०६५ जेठसम्म विभिन्न विद्रोही समूहसँग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्यको जिम्मेवारी पाएका थिए । ०६६ देखि ०६७ सालसम्म (सन् २००९ देखि २०११ सम्म) उनी ऊर्जामन्त्री बने । ऊर्जा क्षेत्रको जिम्मेवारी पाएका बेलामा नै अहिले राष्ट्रिय गौरवका रूपमा रहेको माथिल्लो तामाकोसी आयोजना स्वदेशी पुँजीबाट निर्माण गर्ने निर्णय भएको थियो । माओवादी र काङ्ग्रेसको संयुक्त सरकार बनेका बेला ०७३ देखि ०७४ सालसम्म महतले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पुनः पाए । त्यो समय नेपालको तराईमा भएको आन्दोलनले भारतले नेपालमा नाकाबन्दी गरेर नेपाल–भारत सम्बन्ध निकै तल्लोस्तरमा पुगेको अवस्था थियो ।

महत शिक्षा र योग्यताका हिसाबले पनि अब्बल नेतामा पर्छन् । उनले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी उपाधि हासिल गरेका छन् । उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र ‘पोलिसी इकोनोमिक्स’मा स्नातकोत्तर गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नीतिगत तथा अनुसन्धानपत्र प्रस्तुत गरेका महतको आर्थिक विकास, शान्ति प्रक्रिया, पराराष्ट्र सम्बन्धमा विभिन्न लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन् । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली काङ्ग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गरेका डा. महतले ‘नेपाली काङ्ग्रेस एन्ड नेसन बिल्डिङ’ नामक पुस्तक पनि लेखेका छन् ।