+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा गाउँपिच्छे बाँदर आतङ्क

नुवाकोटमा गाउँपिच्छे बाँदर आतङ्क
त्रिशूली प्रवाह
३ साल अगाडी

निकुञ्ज क्षेत्रमा वन्यजन्तुले बाली क्षति गरे क्षतिपूर्ति पाईन्छ तर सामुदायिक
वनभित्र रहेका बाँदरले स्थानीयको बाली खाएमा क्षतिपूर्तिको ब्यवस्था छैन

Utsuk Books & Stationery

विदुर, पछिल्लो समयमा नुवाकोट जिल्लाको सदरमुकाम विदुरसहित १२ वटै पालिकामा बाँदरले बाली सखाप पारेर दुःख दिएको गुनासो बढेको छ । बाँदरले लगाएको बाली पाक्न नपाउँदै नोक्सान गर्ने र खाईदिने गरेकोले खेती गर्नेको सङ्ख्या घटिरहेको छ । सामुदायिक वन हुर्केपछि गाउँगाउँमा बाँदरको सङ्ख्या मान्छेको भन्दा बढी हुन थालेको छ । बाँदरकै कारण थाकथलो गाउँ छाडेर हिंड्नेको सङ्ख्या पनि बढिरहेको छ ।

बाँदरले बाली नोक्सानी र खाईदिएको बढी गुनासो आयो, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले भने,’ ‘किसानको गुनासो कति सुन्ने ? नियन्त्रण गर्न सकिएन । तादी गाउँपालिका १ देखि ४ वडासम्मका अधिकांश स्थानीयका खेतबारीमा बाँदरले लगाएको बाली पाक्न नपाउँदै खाएको गुनासो बढेको छ ।’ डिभिजन वन कार्यालय नुवाकोटमा समेत बाँदर नियन्त्रणको लागि सहयोग माग्न आउनेको सङ्ख्या दैनिक बढिरहेको डिभिजन वन अधिकृत दिर्घनारायण कोइरालाले बताउनु भयो । गत महिना आयोजना गरेको वन तथा वातावरण सम्बन्धी कानुनका विषयमा स्थानीय तहका निर्वाचित पदाधिकारीको अभिमुखीकरण तथा समन्वय कार्यक्रममा स्थानीयले लगाएको बाली बाँदरले खाईदिएपछि क्षतिपूर्ति ब्यवस्था गर्न माग गरेका छन् । तादी मात्र नभई पञ्चकन्या, शिवपुरी, दुप्चेश्वर, सुर्यगढी, ककनी, बेलकोटगढी नगरपालिका, विदुर नगरपालिकालगायतका स्थानीय तहमा बाँदरका कारण स्थानीयले खेतबारीमा बाली लगाउन कम गरेको पालिकाले जनाएका छन् । ‘अब मकै लगाउने बेला भयो,’ सुर्यगढी गाउँपालिका वडा नं.-५ का रामराज कम्वरले भने, ‘जुठेल्नामै आएर बाँदरले खाईदिन्छ । अहिले त रातो र लंगुर बाँदर आउँछ । के गरी खेती गरेर खाने ?’

निकुञ्ज क्षेत्रमा वन्यजन्तुले बाली क्षति गरे, त्यसको क्षतिपूर्ति पाईने ब्यवस्था छ । तर सामुदायिक वनभित्र रहेका बाँदरले स्थानीयको बाली खाएमा क्षतिपूर्तिको ब्यवस्था छैन । नुवाकोटमा दुई निकुञ्जले जोडिएको छ भने बाँकी ३ सय ७१ सामुदायिक वन छन् । उक्त कार्यक्रममा स्थानीय तहका पदाधिकारीलाई वन, वातावरण, संरक्षण सम्बन्धी ऐन तथा नियमावलीबारे जानकारी गराईएको थियो । त्यसैगरी, निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका वन्यजन्तुले स्थानीयको बालीको क्षतिपूर्ति पाउने ब्यवस्थाबारे जानकारी दिईएको थियो भने हालै तादी गाउँपालिकामा बँदेलले ६ जनालाई घाईते बनाएको र उनीहरू उपचारपछि घर फर्किएको पालिका अध्यक्ष तामाङले बताए । डिभिजन वन कार्यालयका प्रमुख दिर्घनारायण कोइरालाले केही समयअघि एक कार्यक्रममा सहभागी ४० जना सिडिओले बाँदरले बाली खाएको समस्या माथिल्लो तहमा लेखी पठाएको र त्यसबारे कुनै सुनुवाई हुनेमा आशावादी रहेको बताए । बाँदर नियन्त्रण गर्ने र क्षतिपूर्ति दिने कुनै कानुन प्रावधान नभएको डिभिजन वन कार्यालयले जनाएको छ । गाउँमा युवा नहुँदा लगाएको बाली बाँदरबाट जोगाउन कुरूवा बस्ने र बाँदर खेद्नेको अभाव भईरहेको छ । विगतमा खाद्यान्नमा आत्मनिर्भर र निर्यात गर्ने नुवाकोट जिल्ला अहिले गाउँगाउँमा खेतबारी बाँझो हुँदा खाद्यान्न आयात गर्नुपर्ने अवस्थामा पुगेको छ ।

जिल्लामा जङ्गली जनावरको कारण खेतबारीमा बाली उब्जनी हुन छाडेर जङ्गल झाडी र बुट्यानमा परिणत भईरहेको छ । सडक बिजुली, पानीलगायतको सुविधा रहेको नुवाकोटको अधिकांश पालिकामा वन्यजन्तुको आतङ्कले कृषि कर्म गर्नेको संख्या घट्दै गएको छ । जिल्लाका १२ वटै पालिकामा बाँदर, बँदेल, दुम्सी, मृग, स्यालको कारण मानववस्ती उजाड बन्दै गएको छ । बाँदरले दिउँसो मृग, कालिज, बँदेल, दुम्सीले रातको समयमा अन्नबाली नष्ट गरेर दुःख दिने गरेका छन् । जनावर नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिंदा गाउँघर रित्तिने क्रम बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह