नुवाकोटमा गाउँपिच्छे बाँदर आतङ्क

  • त्रिशूली प्रवाह
  • ३० चैत्र २०७९, बिहीबार १२:११

निकुञ्ज क्षेत्रमा वन्यजन्तुले बाली क्षति गरे क्षतिपूर्ति पाईन्छ तर सामुदायिक
वनभित्र रहेका बाँदरले स्थानीयको बाली खाएमा क्षतिपूर्तिको ब्यवस्था छैन

विदुर, पछिल्लो समयमा नुवाकोट जिल्लाको सदरमुकाम विदुरसहित १२ वटै पालिकामा बाँदरले बाली सखाप पारेर दुःख दिएको गुनासो बढेको छ । बाँदरले लगाएको बाली पाक्न नपाउँदै नोक्सान गर्ने र खाईदिने गरेकोले खेती गर्नेको सङ्ख्या घटिरहेको छ । सामुदायिक वन हुर्केपछि गाउँगाउँमा बाँदरको सङ्ख्या मान्छेको भन्दा बढी हुन थालेको छ । बाँदरकै कारण थाकथलो गाउँ छाडेर हिंड्नेको सङ्ख्या पनि बढिरहेको छ ।

बाँदरले बाली नोक्सानी र खाईदिएको बढी गुनासो आयो, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले भने,’ ‘किसानको गुनासो कति सुन्ने ? नियन्त्रण गर्न सकिएन । तादी गाउँपालिका १ देखि ४ वडासम्मका अधिकांश स्थानीयका खेतबारीमा बाँदरले लगाएको बाली पाक्न नपाउँदै खाएको गुनासो बढेको छ ।’ डिभिजन वन कार्यालय नुवाकोटमा समेत बाँदर नियन्त्रणको लागि सहयोग माग्न आउनेको सङ्ख्या दैनिक बढिरहेको डिभिजन वन अधिकृत दिर्घनारायण कोइरालाले बताउनु भयो । गत महिना आयोजना गरेको वन तथा वातावरण सम्बन्धी कानुनका विषयमा स्थानीय तहका निर्वाचित पदाधिकारीको अभिमुखीकरण तथा समन्वय कार्यक्रममा स्थानीयले लगाएको बाली बाँदरले खाईदिएपछि क्षतिपूर्ति ब्यवस्था गर्न माग गरेका छन् । तादी मात्र नभई पञ्चकन्या, शिवपुरी, दुप्चेश्वर, सुर्यगढी, ककनी, बेलकोटगढी नगरपालिका, विदुर नगरपालिकालगायतका स्थानीय तहमा बाँदरका कारण स्थानीयले खेतबारीमा बाली लगाउन कम गरेको पालिकाले जनाएका छन् । ‘अब मकै लगाउने बेला भयो,’ सुर्यगढी गाउँपालिका वडा नं.-५ का रामराज कम्वरले भने, ‘जुठेल्नामै आएर बाँदरले खाईदिन्छ । अहिले त रातो र लंगुर बाँदर आउँछ । के गरी खेती गरेर खाने ?’

निकुञ्ज क्षेत्रमा वन्यजन्तुले बाली क्षति गरे, त्यसको क्षतिपूर्ति पाईने ब्यवस्था छ । तर सामुदायिक वनभित्र रहेका बाँदरले स्थानीयको बाली खाएमा क्षतिपूर्तिको ब्यवस्था छैन । नुवाकोटमा दुई निकुञ्जले जोडिएको छ भने बाँकी ३ सय ७१ सामुदायिक वन छन् । उक्त कार्यक्रममा स्थानीय तहका पदाधिकारीलाई वन, वातावरण, संरक्षण सम्बन्धी ऐन तथा नियमावलीबारे जानकारी गराईएको थियो । त्यसैगरी, निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका वन्यजन्तुले स्थानीयको बालीको क्षतिपूर्ति पाउने ब्यवस्थाबारे जानकारी दिईएको थियो भने हालै तादी गाउँपालिकामा बँदेलले ६ जनालाई घाईते बनाएको र उनीहरू उपचारपछि घर फर्किएको पालिका अध्यक्ष तामाङले बताए । डिभिजन वन कार्यालयका प्रमुख दिर्घनारायण कोइरालाले केही समयअघि एक कार्यक्रममा सहभागी ४० जना सिडिओले बाँदरले बाली खाएको समस्या माथिल्लो तहमा लेखी पठाएको र त्यसबारे कुनै सुनुवाई हुनेमा आशावादी रहेको बताए । बाँदर नियन्त्रण गर्ने र क्षतिपूर्ति दिने कुनै कानुन प्रावधान नभएको डिभिजन वन कार्यालयले जनाएको छ । गाउँमा युवा नहुँदा लगाएको बाली बाँदरबाट जोगाउन कुरूवा बस्ने र बाँदर खेद्नेको अभाव भईरहेको छ । विगतमा खाद्यान्नमा आत्मनिर्भर र निर्यात गर्ने नुवाकोट जिल्ला अहिले गाउँगाउँमा खेतबारी बाँझो हुँदा खाद्यान्न आयात गर्नुपर्ने अवस्थामा पुगेको छ ।

जिल्लामा जङ्गली जनावरको कारण खेतबारीमा बाली उब्जनी हुन छाडेर जङ्गल झाडी र बुट्यानमा परिणत भईरहेको छ । सडक बिजुली, पानीलगायतको सुविधा रहेको नुवाकोटको अधिकांश पालिकामा वन्यजन्तुको आतङ्कले कृषि कर्म गर्नेको संख्या घट्दै गएको छ । जिल्लाका १२ वटै पालिकामा बाँदर, बँदेल, दुम्सी, मृग, स्यालको कारण मानववस्ती उजाड बन्दै गएको छ । बाँदरले दिउँसो मृग, कालिज, बँदेल, दुम्सीले रातको समयमा अन्नबाली नष्ट गरेर दुःख दिने गरेका छन् । जनावर नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिंदा गाउँघर रित्तिने क्रम बढेको छ ।