तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस

  • त्रिशूली प्रवाह
  • २१ बैशाख २०८०, बिहीबार १२:५८

हेटौँडा, बागमती प्रदेशभित्र तामाङ र नेवारी (नेपाल) भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस भएको छ । बागमती प्रदेशभित्र नेपाली भाषासँगै सरकारी कामकाजको भाषामा तामाङ र नेवारी (नेपाल) भाषा प्रयोगमा ल्याउने सम्बन्धमा अध्ययन गर्न प्रदेश सरकारले बनाएको समितिले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई आइतबार सिफारिससहित प्रतिवेदन बुझाएको हो ।

समितिका संयोजक एवम् प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान र समितिका सदस्यले मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री जम्कट्टेललाई बुझाएको प्रतिवेदनमा प्रदेशमा बसोवास गर्ने जनसङ्ख्यालगायतका आधारमा सरकारी कामकाजको भाषामा तामाङ र नेवारी (नेपाल) भाषासमेत प्रयोगमा ल्याउन सुझाव दिएका हुन् । प्रतिवेदन बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले आगामी भदौभित्र भाषासम्बन्धी ऐन निर्माण गरी तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रतिबद्धता व्यक्त गरे । सरकारी कामकाजको भाषासम्बन्धी कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले भने, ‘प्रदेशमा तामाङ र नेवार समुदायको बाहुल्य रहेकाले नागरिकलाई सरकारी कामकाजमा थप सहजता ल्याउन तामाङ र नेवार भाषालाई सरकारी कामकाजको भाषा बनाउन लागिएको हो ।’ प्रतिवेदनमा प्रस्तावित बागमती प्रदेश राष्ट्रभाषा ऐन कार्यान्वयनमा आएपछि सेवाग्राहीले चाहेको सरकारी कामकाजको भाषामा लिखित वा मौखिक सूचना प्रदान गरिने जनाइएको छ ।