गँगटे-ढुङ्गे सडकखण्ड मुआब्जा विवाद टुङ्गिए पनि केन्द्रविन्दु विवादले निर्माण प्रक्रिया रोकियो

  • त्रिशूली प्रवाह
  • २८ बैशाख २०८०, बिहीबार १५:०९

विदुर, राष्ट्रिय गौरवको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाअन्तर्गत विस्तार भइरहेको सडकको मुख्य अवरोधको रूपमा रहेको नुवाकोटको गँगटे चोकदेखि ढुङ्गेबजार क्षेत्रको मुआब्जा समस्या समाधान भएको छ । उक्त विवाद सर्वोच्च अदालतले टुङ्ग्याइदिए पनि सडक केन्द्रविन्दुको विवादको कारण बट्टारको राम मन्दिरदेखि नुवाकोट आदर्श बहुमुखी क्याम्पस गेटसम्म नयाँ विवाद स्थानीयले गरेका छन् ।

उक्त क्षेत्रमा ०३४ सालमा राजपत्रमा उल्लेख भएअनुसार सडकको केन्द्रविन्दु कायम गर्नुपर्ने आवाज उठेपछि नगरपालिकाका मेयर र वडाध्यक्षले स्थानीयलाई सम्झाउन, बुझाउन नसकेपछि कार्यक्षेत्रमा गएका कर्मचारी गत हप्ता स्थानीयबाट खेदिएका छन् । उक्त क्षेत्रमा ०३४ सालको केन्द्रविन्दु कायम गर्ने र ०७२ पछि बनेको हालको सडक केन्द्रविन्दुलाई कायम गर्ने भन्ने विषयमा नयाँ विवाद सिर्जना भएको छ । ०३४ सालमा बनेको सडकको केन्द्रविन्दुलाई आधार मानेर १५ मिटर हटाएर बनेको भीमराज बज्राचार्यको घर अझै रहेकाले त्यसैलाई आधार मानी केन्द्र तोक्न स्थानीयले जिल्ला प्रशासनमा समेत हारगुहार गरेका छन् । उक्त क्षेत्रमा आफ्नो जग्गा जोगाउन केन्द्रविन्दुको विवाद सिर्जना गरेर केही व्यक्ति शक्तिको आडमा उरालिरहेका छन् ।

मुआब्जा माग गर्दै सर्वोच्च अदालत पुगेका स्थानीय जग्गाधनीलाई ‘मुआब्जा दिनु नपर्ने’ भनेर अदालतको फैसलाको पूर्णपाठ आएसँगै सडक निर्माणले गति लिने अपेक्षा स्थानीयले गरेका थिए । अब घरटहराको क्षतिपूर्ति उपलब्ध गराउनेसहितको सडक निर्माणको काम अघि बढाउन लागिएको योजना प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । गँगटेदेखि ढुङ्गेसम्मको भत्काउने घर, टहराको विद्युत् र टेलिफोनको पोल तथा रूख कटानको विवरण सङ्कलन सुरु गरेको भए पनि बट्टारको राममन्दिर र क्याम्पस गेट क्षेत्रको सडकको केन्द्रविन्दुबाट दायाँबायाँ १५–१५ मिटर छुट्याउन र चिनो लगाउन लगत उठाउन गएका प्राविधिकलाई स्थानीयले अवरुद्ध गरेकोसमेत उनले बताए । अदालतको फैसला कार्यान्वयन गर्दै निर्माण कार्य कसरी सुरु गर्ने भन्नेबारे विदुर नगरपालिकाका मेयर–उपमेयरसँग छलफल योजना कार्यालयले जानकारी दिएको छ । अब स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग संयुक्त छलफल बैठक गर्ने गरी कार्यालयले तयारी गरिरहेको योजना प्रमुख श्रेष्ठले बताए ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी’ अन्तर्राष्ट्रिय राजमार्गको विदुर नगरपालिका-५ पिपलटारदेखि वडा नम्बर-१ ढुङ्गेसम्मको करिब आठ किलोमिटर सडकको विस्तारमा ‘जग्गाको मुआब्जा दिनु नपर्ने, तर घर-टहराको क्षतिपूर्ति दिनू’ भनेर फैसलाको पूर्णपाठ आएको योजना प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार एक सय ९८ जना जग्गाधनीको तर्फबाट विभिन्न तीन समूहले मुआब्जा माग्दै दायर गरेको रिटमाथि ०७९ पुस २८ मा सर्वोच्चको पूर्ण इजलासले गरेको फैसलाको अहिले प्राप्त पूर्णपाठले चार वर्षदेखिको अवरोध हटेर सडक विस्तार गर्न बाटो खुला भएको हो । अब घर-टहराको क्षतिपूर्ति उपलब्ध गराउनेसहितको सडक निर्माणको काम अघि बढाउन लागिएको योजना प्रमुख श्रेष्ठले जानकारी दिए । अदालतको फैसलाको पूर्णपाठअनुसार जग्गाधनीले मुआब्जा माग गरेको विदुर नरपालिकाको वडा नम्बर ५ पिपलटारदेखि वडा नम्बर १ ढुङ्गेसम्मको सडक ०२१ फागुन ११ मा पासाङल्हामु राजमार्ग कायम भएको र ०३४ असार २० मा प्रकाशित सूचनाअनुसार ‘सहायक राजमार्ग’ कायम भएको उल्लेख गरिएको छ ।

‘गल्छी-रसुवागढी’ सडकको दायाँबायाँ १५-१५ मिटर पहुँच क्षेत्रको त्यही समयमा मुआब्जाका लागि सूचना आह्वान गरेकाले अहिले अन्तर्राष्ट्रिय राजमार्ग विस्तारको क्रममा मुआब्जा दिनुनपर्ने अदालतको फैसलामा भनिएको छ । तर, नेपाल सरकारले ‘गल्छी-रसुवागढी’ सडक विस्तारका लागि सूचना जारी (०७२ फागुन ३) गर्नुअघि बनेका सबै किसिमका घर, टहरा हटाउँदा त्यसको भने क्षतिपूर्ति उपलब्ध गराउन प्रभावित जग्गाधनीको मागअनुसार योजनाको कार्यालयलाई अदालतले दिएको उत्प्रेषण परमादेशको पूर्णपाठमा उल्लेख छ । धादिङको गल्छीबाट सुरु भएर नुवाकोटको त्रिशूली, रसुवाको बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी हुँदै चीनसँगको सीमा रसुवागढीसम्मको ८२ किलोमिटर सडक अन्तर्राष्ट्रिय राजमार्गको रूपमा ०७२ साल मङ्सिर १७ को मन्त्रिपरिषद् बैठकको निर्णयले विस्तार थालिएको हो । काम सुरु भएको २५ महिनाभित्र सम्पन्न गर्ने जिम्मेवारीअनुसार गल्छी-मैलुङसम्मको ४६ किलोमिटर सडकको ठेक्का ०७३ मङ्सिरमा दिए पनि विविध समस्याले काम पूरा हुन अझै थप केही वर्ष लाग्ने देखिएको छ ।

गल्छी-मैलुङसम्मको सडक विस्तारका लागि मुख्य अवरोध रहेको विदुरको बजार क्षेत्रमा काम गर्न अब बाटो खुला भएसँगै नयाँ लक्ष्य लिएर सडक विस्तारलाई तीव्र बनाइने योजना कार्यालयका योजना प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘गल्छी-रसुवागढी’ सडकअन्तर्गत अहिलेसम्म अन्य स्थानमा ‘डेडिकेटेड’ दुई लेनको सडक निर्माण तथा विस्तार भइरहेकोमा अब नुवाकोटको बट्टारबजारस्थित राम मन्दिरदेखि गँगटेसम्मको पाँच किलोमिटर सडक चार लेनको अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गर्न लागिएको छ । धादिङको गल्छीबाट सुरु भएर चीनसम्मको सीमा रसुवागढीसम्म पुग्ने ८२ किलोमिटर सडकको विस्तार नेपाली पक्षबाट निर्माण व्यवसायी र चीन सरकारमार्फत तीन खण्डमा अघि बढाइएकोमा हालसम्म समग्र काम करिब आधाको हाराहारीमा मात्रै सम्पन्न भएको छ ।