रातमाटे, नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका पालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयको तह समायोजन अर्थात् कक्षा घटुवा गरेको छ । । अहिले कक्षा घटुवामा परेका विद्यालयले विद्यार्थी बढाएमा साबिकको कक्षा कायम गर्न पालिकाले एक महिना समय दिएको छ । पालिकाले समय दिएपछि वैशाख महिनाभरि जारी रहेको भर्ना अभियानमा बालबालिका खोज्न विद्यालयको व्यवस्थापन समिति र शिक्षक घरघर पुगेर बालबालिका खोज्न सक्रिय भएर लागिरहेका छन् ।
शैक्षिक सत्र ०७८ र ०७९ मा निरन्तर विद्यार्थी सङ्ख्या घटेर अत्यन्त न्यून भएपछि कार्यपालिका बैठकमार्फत सुरु भएको चालू शैक्षिक सत्रमा कक्षा घटुवाको निर्णय गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार नगरपालिकाले गठन गरेको ‘अनुगमन कार्यदल’ले पटक-पटक (भदौदेखि चैतसम्म) स्थलगत रूपमा गरेको अनुगमन र परीक्षामा सहभागी विद्यार्थी सङ्ख्यालाई यकिन गरेर न्यून विद्यार्थी भएका विद्यालयको माथिल्लो कक्षानजिकैको अर्को विद्यालयमा समायोजन गरिएको हो । विद्यालयले विद्यार्थी सङ्ख्या धेरै देखाए पनि विभिन्न स्रोतबाट त्यो सङ्ख्या गलत हो भन्ने सूचना आएपछि अनुगमन गर्दा निकै कम विद्यार्थी उपस्थित हुने गरेको पाइएपछि स्थलगत अनुगमन गरिएको थियो । विद्यार्थी कम भएका विद्यालयको अनुगमनमा पुगेको कार्यदलका पदाधिकारीलाई चाडपर्व, अभिभावक घरायसी काममा व्यस्त भएकोलगायतका बाहना बनाए पनि परीक्षामा वास्तविक विद्यार्थी सहभागी हुने भएकाले अनुगमन र परीक्षामा सहभागी विद्यार्थी सङ्ख्याअनुसार न्यून विद्यार्थी पाइएको विद्यालयको माथिल्लो कक्षा अर्को व्यवस्था नभएसम्म घटुवा गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए ।
कक्षा घटुवामा पर्नेमा आधारभूतसहित माध्यमिक तहको विद्यालयसम्म रहेका छन् । अधिकांश विद्यालयले अब बालकक्षादेखि कक्षा एकसम्म मात्रै पढाउन पाउने गरेर कक्षा घटुवा गरिएको छ । कक्षा घटुवामा पर्नेमा बेलकोटगढी नगरपालिका-१२ मा रहेको चण्डादेवी मावि सबैभन्दा बढी प्रभावित भएको छ । उक्त विद्यालयमा शैक्षिक सत्र ०७९ मा विद्यालयले एक सय १६ जना विद्यार्थी देखाए पनि नियमित उपस्थित र परीक्षामा सहभागी विद्यार्थी ५१ जना मात्रै पाइएकाले १० कक्षासम्म पढाउँदै आएको विद्यालयलाई यो शैक्षिक सत्रमा बाल विकासदेखि कक्षा तीनसम्म मात्रै अध्यापन गराउने भनेर कक्षा घटुवा गरिएको छ । चण्डादेवी माविसहित कक्षा घटुवा पर्नेमा वडा नम्बर २ को चितमारे आधारभूत विद्यालय, श्रमिक आधारभूत विद्यालय, वडा नम्बर ३ को गणेश आधारभूत विद्यालय, कृष्ण आधारभूत विद्यालय, वडा नम्बर ४ को लेकसाइड आधारभूत विद्यालय, वनदेवी आधारभूत विद्यालय, वडा नम्बर ५ को इन्द्रेश्वर आधारभूत विद्यालय, वडा नम्बर ६ को उत्पन्नेश्वर आधारभूत विद्यालय रहेको छ ।
यस्तै, वडा नम्बर ७ को सरस्वती आधारभूत विद्यालय, जनसामुदायिक आधारभूत विद्यालय, वडा नम्बर ८ को जनसहयोग आधारभूत विद्यालय, बागेश्वरी आधारभूत विद्यालय, जनसेवा आधारभूत विद्यालय, वडा नम्बर ९ को जनसहभागिता आधारभूत विद्यालय, करुणकर आधारभूत विद्यालय, वडा नम्बर १० को सरस्वती आधारभूत विद्यालयले पेस गरेको तथ्याङ्कभन्दा अनुगमन र परीक्षामा सहभागी विद्यार्थी न्यून रहेकाले बाध्य भएर कक्षा घटुवाको निर्णय गरिएको नगर उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार कक्षा घटुवामा परेका विद्यालयले प्रत्येक कक्षामा न्यूनतम १५ जना विद्यार्थी पु¥याउन सकेमा उक्त निर्णय संशोधन तथा पुनर्विचार गरिने भएकाले विद्यार्थी सङ्ख्या बढाउनतर्फ केन्द्रित हुन सम्बन्धित विद्यालयलाई सचेत गराएका छन् । अहिले कक्षा घटुवामा परेका विद्यालयले विद्यार्थी बढाएमा साबिकको कक्षा कायम गर्न सकिन्छ कि भनेर जारी रहेको भर्ना अभियानमा बालबालिका खोज्न विद्यालयको व्यवस्थापन समिति र शिक्षक सक्रिय भएर लागिरहेका छन् ।
गुणस्तरीय शिक्षाका लागि बालबालिकालाई अन्यत्र पढाउन लैजानुपर्ने अभिभावकको बाध्यता हटाउन सामुदायिक विद्यालयले चासो दिन थालेको पाइएको नगरप्रमुख गुरुङले बताए । अहिले कक्षा घटुवामा परेका विद्यालयले विद्यार्थी सङ्ख्या बढाएमा ती विद्यालयमा साबिकको कक्षा निरन्तर सञ्चालन गर्न सक्ने भनेर आवश्यक संवाद तथा छलफलसहित केही निर्णयसमेत गरिएको उनले जानकारी दिए । बेलकोटगढी नगरपालिकाभित्र अहिले १९ माध्यमिकसहित ५४ वटा सामुदायिक विद्यालय सञ्चालित छन् । बेलकोटगढीका जनप्रतिनिधिले शिक्षाको गुणस्तर वृद्धिसहित विद्यार्थीलाई सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने, स्थानीय पाठ्यक्रम लागू गर्ने, सीप तथा क्षमतासहितको प्राविधिक शिक्षालाई जोड दिने नीति अवलम्बनलाई प्राथमिकता दिँदै आएको छ ।