गोसाइँकुण्ड मेला शुरू पाँच हजार तिर्थयात्री आउने अपेक्षा

  • त्रिशूली प्रवाह
  • ११ जेष्ठ २०८०, बिहीबार १३:०६
  • सज्जन उत्सुक सापकोटा

धुन्चे, रसुवा जिल्ला कुण्डैकण्ड (तालैताल) को जिल्ला हो । जिल्लामा गणना भएको १ सय ८ कुण्डमध्येको ठूलो हो गोसाइँकुण्ड । गोसाइँकुण्ड धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको रूपमा परिचित रहेको छ । गोसाइँकुण्डमा वर्षको दुईपटक धार्मिक महत्वको हिसाबले मेला लाग्ने गरेको छ । गंगा दशहरा र जनैपूर्णिमा विशेष मेला लाग्ने यो कुण्डमा आजभोली बाह्रैं महिना तिर्थयात्री जाने गर्छन् । यस वर्ष गंगा दशहरा मेला जेठ ६ गते प्रतिपदादेखि १६ गतेसम्म सञ्चालन हुनेछ ।

समुद्री सतहबाट ४ हजार ३ सय ८० मिटर उचाईमा रहेको गोसाइँकुण्ड ताल बौद्ध र हिन्दु समुदायको प्रसिद्ध तिर्थस्थल हो । गोसाइँकुण्ड तालको वरिपरि अन्य धेरै ताल छन् । प्रत्येक तालको छुट्टै धार्मिक महत्व छ । गोसाइँकुण्ड पदयात्रा स्वदेशी तथा विदेशी पर्यटकका लागि प्रसिद्ध गन्तब्यमध्ये एक हो । यस क्षेत्रमा पदयात्रा गर्दा लाङटाङ, गङ्चेन्पो, नयाँ खाङ, याला पिक, गणेश हिमाल, मनास्लु हिमाललगायत विभिन्न हिमश्रृंखलाको मनोरम दृश्य हेर्न सकिन्छ । विभिन्न वनस्पति, जीवजन्तु, रातो पाण्डा, हिमालयन थार, हिमाली भालु, कस्तुरी, मृग, हिमालयन बाख्रा, हिउँचितुवासहित गुराँस, अर्किड, म्याग्नोलिया, धुपी र अन्य धेरै प्रजातिका वनस्पति तथा वन्यजन्तु पाईन्छन् । यस पदयात्रामा पदयात्रीले हिमाली भेगमा बसोबास गर्ने शेर्पा, तामाङ र तिब्बती समुदायको कला, संस्कृति, भेषभुषा, खानपान र रहन-सहनको अनुभव लिन सकिन्छ ।
गोसाइँकुण्डमा धार्मिक र पदयात्रामा रमाउने आन्तरिक तथा बाह्य पर्यटकको लागि गंगा दशहरा उपयुक्त समय मानिन्छ । यो समयमा मौसम सफा रहने, नजिक हिउँ देखिने, चिसो कम हुने भएकोले गोसाइँकुण्डको यात्रा सहज हुन्छ । गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जिव डिएमकानुसार मानिस बाह्रै महिना दैनिक ५० देखि १ सयको हाराहारीमा गोसाइँकुण्ड जाने गरेका छन् । तर विशेषरूपमा गंगादशहरा मेला भर्नका लागि भनेर यसपटक ५ हजारको हाराहारीमा आवत-जावत हुने अनुमान गरिएको उनले बताए । धुन्चे रूट, ठूलो स्याफ्रु, सिन्धुपाल्चोक नौकुण्डपट्टिको रूटबाट पनि मानिस गोसाइँकुण्ड पुग्ने गर्दछन् । उच्च स्थानमा पहाडको खोँचमा रहेको गोसाइँकुण्ड आसपासमा रहेको भैरवकुण्ड, सरस्वती कुण्ड, सुर्यकुण्ड बर्द कुण्डलगायतका धेरै कुण्डले धार्मिक आस्थाका साथमा पर्यटकिय महत्व बोकेको छ ।

रसुवाको सदरमुकाम धुन्चेबाट १२ घण्टाको निरन्तर यात्रापछि पुगिने गोसाइँकुण्ड बिचबिचमा हरियो वन वारिपारिका झरना र छङछङ बगेको त्रिशूल नदीको आवाज र वनस्पतिको सुगन्धले यात्रालाई सहज र मनमोहक बनाउने यसपटक तिर्थयात्राबाट फर्किएका सेई बोर्डिङ स्कुल छहरे नुवाकोटका प्रिन्सीपल राजन खतिवडाले बताए । वर्षको दुई चोटी गंगा दशहरा र जनैपूर्णिमा भब्य मेला लाग्ने भए तापनि आजभोली मानिस बाह्रै महिना पदयात्रा गर्दै, हिमाल हेर्दै गोसाइँकुण्ड पुग्ने गरेको रसुवा-नुवाकोट पर्यटन समाजका अध्यक्ष वलराम न्यौपानेले बताउनु भयो । रसुवामा विगत ३५ वर्षदेखि पत्रकारिता गर्दै आउनुभएका ज्ञानेन्द्र न्यौपानेकानुसार समुन्द्र मन्थन गरेर निस्किएको कालकुट विष पिएपछि भगवान शिव त्यसको पिडा सहन नसकी भौतारिएर हिंडेर गोसाइँकुण्डमा आई आफ्नो त्रिशूलले पहाडमा हानेर पानी निकालेपछि त्यो पानी कुण्डमा परिणत भयो र त्यही कुण्डमा डुबेर महादेवले कालकुट विष सहन गर्नुभएको भन्ने कथन रहेको छ । भगवान शंकर (शिवजी) विराजमान रहेको पौराणिक धार्मिक मान्यतामा कुण्डमा पुजा आरधना गर्नाले धनधान्य हुने र सन्तान प्राप्त हुने जनविश्वास रहिआएको समेत उनले बताए ।

समुद्री सतहदेखि ४३ सय ८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड सन् २००७ सेप्टेम्बरमा रामसार सूचीमा समेत सूचीकृत छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं.-५ मा अवस्थित गोसाइँकुण्डमा हरेक वर्षको गंगा दशहरा र जनैपूर्णिमामा गरी दुईपटक ठूलो मेला लाग्ने गर्दछ । यो वर्षको गंगा दशहरा मेला शनिबारदेखि शुरु भएको छ । मेला १६ जेठ दशमीका दिनसम्म लाग्नेछ । अघिल्ला दुई वर्षमा कोरोना महामारीका कारणले मेला प्रभावित भएको गोसाइँकुण्ड क्षेत्र विकस समितिका अध्यक्ष सञ्जिव डिएमले बताउनुभयो । हिन्दु, बौद्ध र बोम्बो धर्मका अनुनायीले गोसाइँकुण्डको बारेमा फरक-फरक धारणा र आस्थाको रूपमा पुज्ने गरेको नागरिक समाज रसुवाका बाबुलाल तामाङले बताए । आजकालका युवायुवती धार्मिक आस्थाको कारणले भन्दा पनि पदयात्रा (ट्रेकिङ, हाईकिङ) र प्राकृतिक छटा तथा हिमश्रृंखलाको अध्ययन अवलोकन गर्नको लागि जाने गरेको समेत उहाँले बताउनु भयो । नयाँ-नयाँ ठाउँ घुम्दा मस्तिष्कमा नयाँ सोच आउने धारणा युवापिँढीमा रहेको छ । शरीरलाई स्वस्थ्य राख्न पनि पदयात्रा जरुरी छ । हरियाली हेर्दै, चराचुरुङ्गीको सुमधुर आवाज सुन्दै हिँड्न तथा सुन्दर दृश्य हेर्न मानिस लालायित हुन्छन् । भागदौडको दैनिकीबाट केही समयका लागि छुटकारा दिनका लागि पनि यो जरुरी छ । पदयात्रा गर्दै प्राकृतिक सुन्दरतालाई चुम्बन गर्दै हिमाललाई नजिकबाट नियाल्न सकिने गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको छ ।