अस्पताललाई सेवा प्रवाह सुधार गर्न सुझावको ओईरो

  • त्रिशूली प्रवाह
  • ११ जेष्ठ २०८०, बिहीबार १३:३६

धादिङवेंशी, धादिङ मिडिया नेटवर्कको आयोजनामा धादिङ अस्पतालको सामाजिक परिक्षण कार्यक्रम गत हप्ता सम्पन्न भएको छ । जिल्लाको सरकारी अस्पताल धादिङ अस्पतालले दिने सेवा र सुविधालाई अझ प्रभावकारी बनाउन सामाजिक परीक्षण कार्यक्रममा सहभागीले सुझावसहित सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सहभागीले अस्पतालको कमी-कमजोरी सुधार गरी प्रभावकारी सेवा सुविधा दिनुपर्नेमा जोड दिएका छन् । अस्पतालले दिने सेवा सुविधा तुलनात्मकरुपमा विगतमा भन्दा सुधार गरेको, अस्पतालको क्षेत्राधिकार बृहत र सेवाग्राही पनि बृद्धि भएको कारण सेवा बिस्तार चुस्त बनाउनुपर्नेमा सहभागीले सुझाव दिएका थिए । कर्मचारी नियुक्तीमा केही ब्यक्तिको हाली-मुहाली, सेवा-सुविधामा ढिला सुस्ती, सेवाग्राही जाँदा चिकित्मक नभेटिने समस्या, चिकित्सकले गर्ने ब्यवहार, निःशुल्क पाईने औषधी सहज नहुनु, एम्बुलेन्स र शव बाहन सेवा लिन कठिन, अस्पताल परिसरको शौचालय दुर्गन्धित, सामाजिक सुरक्षा इकाई प्रभावकारी नहुनु, विशेषज्ञसहितको सेवा निरन्तरता नहुनु जस्ता कमी-कमजोरीलाई सहभागीले सुधार गर्न सुझाव दिएका छन् । अस्पतालले प्रवाह गर्ने सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउने धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डाक्टर रुद्रमणी भण्डारीले सो अवसरमा प्रतिबद्धता जनाएका छन् । प्राप्त सुझाव र चासोलाई आजैबाट सम्बोधन गरी अस्पतालमा सेवा लिन आउनुहुने सेवाग्राही सन्तुष्टी दिलाउन काम गर्ने निमित्त मेसु भण्डारीले बताउनुभएको

सो कार्यक्रममा सहभागीको जिज्ञासालाई सम्बोधन गर्दै प्राप्त सबै सुझाव र सेवाग्राहीकै चाहनाअनुरुप अस्पतालको सेवा प्रवाह सुधार गर्दै लाने प्रतिबद्धता अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले गर्नुभएको छ । अस्पतालसँग धेरैको धेरै चाहना र अपेक्षा छन्, सोहीअनुसार हामीले सेवा तथा सुविधा पनि बिस्तार गर्दै आएको उनले बताए । पालिकासँग पनि समन्वय गरिरहेका छौं । जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश र संघीय सांसद् र पालिकाका जनप्रतिनिधीसँग सहयोग लिएर अस्पतालको सेवा थप गर्ने प्रतिबद्धता उहाँले जनाउनु भयो । कार्यक्रमको सहजीकरण गर्दै पत्रकार मनिष दुवाडीले अस्पतालले प्रवाह गर्दै आएका सेवा तथा सुविधा, समस्या तथा चुनौती, अस्पतालले थालेका राम्रा अभ्यास र सुधार गर्नुपर्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । धादिङ अस्पतालबाट आर्थिक वर्ष २०७८/०७९ मा ५२ हजार २ सय ३ जनाले ओपिडी सेवा, १३ हजार ३ सय ६९ जनाले इमर्जेन्सी सेवा, १३ हजार ६ सय ९९ जनाले एक्सरे, ४ हजार २ सय ८८ जनाले स्त्रीरोग सेवालगायतका सेवाबाट सेवाग्राही लाभान्वित भएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष रिजालले बताउनु भयो ।