गोसाइँकुण्ड मेला सम्पन्न पाँच हजार पाँच सय तीर्थयात्रीको आगमन

  • त्रिशूली प्रवाह
  • १८ जेष्ठ २०८०, बिहीबार १३:२९
  • सरस्वती न्यौपाने

धुन्चे, ऐतिहासिक एवम् धार्मिक पर्यटकीयस्थलको रूपमा परिचित गोसाइँकुण्डमा यस वर्षको जेठ ६ गते प्रतिपदादेखि १६ गतेसम्म लाग्ने गंगादशहरा मेला सम्पन्न भएको छ । मेला अवधिमा पाँच हजारभन्दा बढी तीर्थयात्री पुगेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जानकारी दिएको छ ।

दशहरा मेला भर्न गोसाइँकुण्डमा धार्मिक पर्यटक भित्रिने राम्रो मौसम भएकाले पनि आफ्नो मनोकाङ्क्षा पूरा गर्न मानिसको ओइरो नै लाग्दछ । गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सञ्जीव डिएमका अनुसार मानिस बाह्रै महिना दैनिक ५० देखि १ सयको हाराहारीमा जाने गर्दछन् । तर, विशेष रूपमा गंगादशहरा मेला भर्नका लागि भनेर यसपटक पाँच हजार पाँच सय आवत-जावत भएको उनले जानकारी दिए । धुन्चे रूट, ठूलो स्याफ्रु, सिन्धुपाल्चोक नौकुण्डपट्टिको रूटबाट पनि मानिस गोसाइँकुण्ड पुग्ने गर्दछन् । चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड आसपासमा रहेको भैरवकुण्ड, सरस्वती कुण्ड, सूर्यकुण्ड, बर्दकुण्डलगायतका धेरै कुण्डले धार्मिक आस्थाका साथमा पर्यटकीय महत्व रहेका एक सय आठवटा भन्दा बढी कुण्ड छ । रसुवाको सदरमुकामबाट १२ घण्टाको निरन्तर यात्रापछि पुगिने गोसाइँकुण्ड बीचबीचमा हरियो वन, वारिपारिका झरना र छङछङ बगेको त्रिशूल नदीको आवाज र वनस्पतिको सुगन्धले यात्रालाई सहज र मनमोहक बनाउँछ । वर्षको दुईपटक गंगादशहरा र जनैपूर्णिमामा भव्य मेला लाग्ने भए तापनि आजभोलि मानिस बाह्रै महिना पदयात्रा र ट्रेकिङको रूपमा गोसाइँकुण्ड पुग्ने गर्दछन् ।

धर्मशास्त्रअनुसार समुद्र मन्थन गरेर निस्किएको कालकुट विष पिएपछि भगवान् शिव त्यसको पीडा सहन नसकी भौँतारिएर गोसाइँकुण्डमा आई आफ्नो त्रिशूलले पहाडमा हानेर पानी निकालेपछि त्यो पानी कुण्डमा परिणत भयो र त्यही कुण्डमा डुबेर महादेवले कालकुट विष सहन गरेको भन्ने कथन छ । भगवान् शङ्कर विराजमान रहेको पौराणिक तथा धार्मिक कुण्डमा पूजा-आराधना गर्नाले धनधान्य हुने र सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ । एक सय आठ कुण्ड रहेको रसुवामा बर्सेनि हजारौँको सङ्ख्यामा तीर्थालु भक्तजन आउने गरेका छन् । समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड सन् २००७ सेप्टेम्बरमा रामसार सूचीमा समेत सूचीकृत छ । गोसाइँकुण्ड गाउँपालिका-५ मा अवस्थित गोसाइँकुण्डमा यस वर्षको मेला जेठ १६ गते दशमीका दिन सम्पन्न भएको हो । अघिल्ला दुई वर्षमा कोरोना महामारीका कारण प्रभावित भएको मेलामा यस वर्ष तीर्थयात्रीको उत्साहजनक उपस्थिति रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए । यसपटक दशहरा मेलाका लागि तीर्थयात्रीलाई आवत–जावत, खान–बस्न सहज बनाउन गोसाइँकुण्ड क्षेत्र विकास समिति, स्थानीय अन्य सरोकारवाला सङ्घ-संस्थाले सहयोग गरेको कारण तीर्थयात्री बढेको लामटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी मिलन सापकोटाले बताए ।