धुन्चे, तामाङ संस्कृति र वेशभूषा जगेर्ना गर्ने उद्देश्यले रसुवाकी एक महिलाले तामाङ संस्कृति झल्काउने व्यवसाय ६ वर्षदेखि सुरु गरेकी छिन् । जिल्लाको साबिकको गोल्जुङ गाविस-९ हाल आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ घर भई सदरमुकाम धुन्चेमा बस्दै आएकी फुर्पा लोप्चनले तामाङ संस्कृतिका पहिरनमध्येको स्यामा, पटुका, झोला, किट्टीलगायत पङगव, टोपी, मोजा, पेटी, ऊनीको धागोले बुन्ने र सिलाउने व्यवसायमा रमाइरहेकी छिन् ।
६ वर्षअघि कमल ह्यान्डी क्राफ्ट उद्योग घरेलुमा दर्ता गरी व्यवसाय गर्दै आएकी उनले कोभिड सुरु हुनुभन्दा अघिसम्म दैनिक १० हजार रुपैयाँसम्मको व्यापार गरिरहेकी थिइन् । व्यवसाय कम भएको महिनामा पनि ८० देखि ९० हजारसम्मको सामान बिक्री गरेको उनी बताउँछिन् । विगतमा राम्रोसँग चलेको व्यवसाय कोरोना सङ्क्रमण बढेपछि दिनमा हुने व्यापार महिनामा हुन छोडेको उनी बताउँछिन् । उनको स्थायी घर गोल्जुङ भए पनि कृषि विकास कार्यालय धुन्चे सदमुकाममा श्रीमान् जागिरे भएको कारण फुर्पा पनि बालबच्चा बोकेर सदरमुकाम नै झरिन् । पहिले उद्योगको दर्ता थिएन र पनि काम गरिरहेकी थिइन् । रोगका कारण श्रीमान्को मृत्युु भएपछि उनले घर-व्यवहार धान्नका लागि पनि घरेलु कार्यालयमा व्यवसाय दर्ता गरेर काम गर्न थालिन् । कोरोनाभन्दा अगाडि राम्रो रहे पनि त्यसपछि ठप्पजस्तै रहेको व्यवसायलाई दुई छोरा र तीन छोरीको सहयोगमा अगाडि बढाइन् । छोराछोरीको सहयोगले अहिले उनको व्यवसाय फस्टाउने क्रममा रहेको छ । ५२ वर्षकी फुर्पाले धन आर्जन गर्न नसके पनि तामाङ वेशभूषा र संस्कृतिको जगेर्ना गर्दै युवापिँढीलाई पहिचान गराउन लागिरहेकी छिन् । एकल महिला भएपछि समाजले हेर्ने नजर नै अर्को हुने तितो अनुभव सँगालेकी फुर्पा छोराछोरीको मुख हेरेर काम गरिरहेको बताउँछिन् । उनी तामाङ समुदायलाई मिल्ने सामान हातले बुन्ने गर्छिन् । आफूले जानेको सीप अरूलाई पनि सिकाउन पाउँदा खुसी हुने फुर्पा तामाङ वेशभूषाबारे विज्ञसमेत छिन् ।