नुवाकोटले बुझ्न सकेन सम्पदा गाउँको महत्व

  • त्रिशूली प्रवाह
  • २८ असार २०८०, बिहीबार १२:३७

विदुर, ०७२ को विनाशकारी महाभूकम्पका कारण नेपालका धेरै भौतिक संरचना, सांस्कृतिक एवम् पर्यटकीय सम्पदालगायत विकासका संरचनाको क्षति राज्यले व्यहोर्नुप¥यो । आठ वर्षअघि क्षति भएको संरचना अझै पुनर्निर्माण हुन बाँकी छ र कतिपय त हाल निर्माणाधीन अवस्थामा समेत रहेका छन् ।

भूकम्पबाट नुवाकोटका ऐतिहासिक, धार्मिक, पुरातात्विक धरोहर र व्यक्तिगत संरचनामा क्षति पुग्यो । त्यसबेला मानिस आफ्नो जीवन कसरी बचाउने भनी सोचिरहेको सन्दर्भमा नुवाकोटका केही बुद्धिजीवी, समाजसेवी, अगुवा व्यक्तिको उपस्थितिमा वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले सम्पदा गाउँको अवधारणा ल्याए । विदुर नगरपालिका-२ नुवाकोटका करिब चार सय २० घरधुरीलाई पुरानो मौलिक पराम्परागत ढङ्गबाट पुनर्निर्माण गर्ने योजना बन्यो । उक्त योजना कार्यान्वयन हुँदा नुवाकोटलाई राजधानीबाट नजिकको पर्यटकीय गन्तव्यको रूपमा स्थापित गराई छोटो दूरीको आन्तरिक पर्यटकीय गन्तव्यको रूपमा परिचित गराई अन्य सहरको गन्तव्यस्थलजस्तै गरी प्रचार-प्रसार गरी स्थानीय व्यक्तिलाई समेत रोजगारी सिर्जना गराउने उद्देश्य थियो । ०७६ सालमा मन्त्रीस्तरीय निर्णयबाट सहरी विकास मन्त्रालयले नुवाकोटलाई सम्पदाबस्तीको सूचीमा सूचीकृतसमेत गरेको थियो । भूकम्पभन्दा अगाडि पुरातत्व विभागले साततले दरबारदेखि भैरवी मन्दिरसम्मको करिब २१ घरधुरीलाई स्थानान्तरण गर्नेसमेत योजना बनाई केही रकमसमेत विनियोजन गरेको थियो । तर, त्यसलाई सम्पदा गाउँको परिकल्पना भएपश्चात् रोकियो । पुरातत्व विभागले समेत सम्पदा गाउँको अवधारणालाई निकै सराहनीय कार्य भन्दै पुरातत्व विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहाल, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राई, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समेत पटक-पटक प्रस्तावित सम्पदा गाउँको अवलोकन गरेर कार्यान्वयन गर्न सल्लाह, सुझावसहित सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । भूकम्पपछि स्थानीयले सम्पदा गाउँको अवधारणाअनुसार घर निर्माण नगर्दा आन्तरिक पर्यटकीय गन्तव्यको रूपमा नुवाकोटलाई चिनाउने योजना अलपत्र परेको छ । सुरुमा स्थानीयले चासो लिए पनि घर बनाउँदा आफूखुसी बनाएकाले अहिले प्रस्तावित सम्पदा गाउँ रङ्गीला गाउँमा परिणत भएको छ ।

भूकम्पपश्चात् चीन सरकारले निर्माण जिम्मेवारी पाएको ऐतिहासिक साततले दरबार र त्यस क्षेत्रका अन्य ऐतिहासिक संरचनासमेतको निर्माण हालसम्म हुन सकेको छैन । हालसम्म पनि ती संरचनाको अवस्था बेवारिस रहेको छ । यसतर्फ न त स्थानीय तह, न त स्थानीय जनता, न त सरकारको नै चासो रह्यो । कोभिडको बहानामा निर्माण जिम्मेवारी प्राप्त कम्पनीका कामदारसमेत उक्त स्थानमा उपस्थित नहुँदा निर्माण कार्य हालसम्म सञ्चालन हुन सकेको छैन । अब साततले दरबार र अन्य ऐतिहासिक सम्पदाको पुनर्निर्माण हुन्छ कि हँुदैन भनेर स्थानीयमा समेत द्विविधा रहेको छ । यसरी कल्पना गरिएको सम्पदा गाउँलाई मूर्तरूप दिन पर्यटन व्यवसायी सुमन पाण्डेको व्यक्तिगत खर्चमा सम्पदा गाउँको मास्टर प्लान, घरको नमुना डिजाइन र हरेक घरको नक्सा तथा इन्जिनियरिङ डिजाइन बनाई सरकारीस्तरबाट समेत नुवाकोटलाई सम्पदा बस्तीको सूचीमा पर्न सफल भएको थियो । यसरी अभियान सञ्चालन गरिसकेपछि तत्कालीन नगर प्रमुख सञ्जु पण्डितले विदुर नगरपालिकाबाट ४० हजार अनुदान र नक्सा पासको खर्चसमेत निःशुल्क गरिदिएका थिए । पुनर्निर्माण प्राधिकरणको सम्पदा बस्ती मापदण्डअनुरूप घर निर्माण गर्ने व्यक्तिलाई ५० हजार थप अनुदान दिने गरी कार्यविधि निर्माण भएको थियो, तर कुनै पनि घरधनीले उक्त कार्यविधिअनुरूप घर निर्माण नगर्दा अनुदानबापतको रकम ५० हजार रुपैयाँ वितरण हुन सकेन, सम्पदा बस्ती मापदण्डअनुरूप एउटा पनि घर निर्माण भएन ।

के हो सम्पदा बस्ती ?
पुनर्निर्माण प्राधिकारणको मिति ०७६ साल असार १७ गतेको कार्यकारी समितिद्वारा स्वीकृत ‘सम्पदा बस्तीका एकल वा बहुस्वामित्वका निजी आवास पुनर्निर्माणसम्बन्धी कार्यविधि, २०७६’मा ०७२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षतिग्रस्त बहुस्वामित्वमा रहेका सम्पदा बस्तीभित्रका भूकम्प प्रभावित निजी आवासको पुनर्निर्माण गर्ने प्रक्रियालाई सरलीकृत गरी सम्पदा बस्तीको मौलिक स्वरूप र वास्तुकलाको जगेर्ना गर्ने हेतुका साथ कार्यविधि निर्माण भएको थियो । सम्पदा बस्तीभित्र प्राचीन बस्तीका मौलिक स्वरूपमा अनुसूची ३ अनुरूपको मापदण्ड पालना गरी भवन पुनर्निर्माण गर्ने घरधनीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्थासमेत थियो ।

सम्पदा बस्ती पहिचान गर्ने आधार
(क) बस्तीमा कम्तीमा ५० वा सोभन्दा बढी घर भएको हुनुपर्ने ।
(ख) सामान्यतया सय वर्ष वा सोभन्दा पुरानो बस्ती हुनुपर्ने ।
(ग) बस्तीमा स्थानीय वास्तुकला उपयोग गरिएका चैत्य तथा मठ-मन्दिर, पाटी, सत्तलजस्ता सार्वजनिक भवन, इनार, ढुङ्गेधारा, पोखरी जस्ता संरचना हुनुपर्ने ।
(घ) बस्तीमा परम्परादेखि सञ्चालन हुँदै आएका सांस्कृतिक महत्वका स्थानीय चाडपर्व, जात्रा तथा भजनकीर्तनको बाहुल्य तथा यस्ता कार्य गर्ने स्थानीय गुठीजस्ता सङ्घ-सङ्गठनको निरन्तरता भएको हुनुपर्ने ।

सम्पदा बस्ती पहिचान गर्ने आधारलाई पुनर्निर्माण प्राधिकरणको ०७६ असार १७ को कार्यकारी समितिद्वारा स्वीकृत गरेको थियो । ‘सम्पदा बस्तीका एकल वा बहुस्वामित्वका निजी आवास पुनर्निर्माणसम्बन्धी कार्यविधि, २०७६’ मा साविक भवनको पुनर्निर्माण गर्दा मूल प्रवेशतर्फको मोहडाको साबिक पदचापमा कुनै परिवर्तन नहुने गरी जग्गा उपयोगको कुल प्रतिशतभित्र मिलान गर्न सकिनेछ भनी उल्लेख गरिएको छ । अर्थात् सम्पदा बस्तीभित्रका घर निर्माण गर्दा भूकम्पअगाडि जुन स्थानमा घर थियो त्यही स्थानमा नै जग रहने गरी घर निर्माण गर्नुपर्ने प्रावधान थियो । सम्पदा बस्तीभित्रका घर निर्माण गर्दा भवनको अधिकतम उचाइ कति हुनुपर्छ, अधिकतम तला कति हुनुपर्छ, तलाको उचाइ, सेटब्याक कति, प्रवेश माध्यम कस्तो, पछाडि र साइडको खुला भाग कति, भित्री चोक कस्तो हुनुपर्छ, सडक अधिकार क्षेत्र के हुने, भ¥याङ र बुइँगल कस्तो हुनुपर्ने, फिनिसिङ र मोहडा कस्तो हुनुपर्ने, झ्याल, ढोका कस्तो हुनुपर्ने भन्ने कुरा मापदण्डमा उल्लेख गरिएको नुवाकोट सम्पदा गाउँका कार्यक्रम संयोजक सरोज बानियाँले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । त्यसैअनुरूप नै सम्पदा बस्तीको पुनर्निर्माण गरिनुपर्ने गरी सम्पदा बस्तीको मापदण्ड निर्माण गरिएकोसमेत उनले जानकारी दिए । यसका लागि स्थानीय पालिका वा स्थानीय तहले नियमन, सिफारिस गर्ने गरी कार्यविधि स्वीकृत भएको थियो ।

नुवाकोट र नुवाकोटका जनताले सम्पदा गाउँको भावना नै बुझ्न नसक्दा सम्पदा गाउँ निर्माण अलपत्र परेको स्थानीय सामाजिक अभियन्ता पुष्कर शर्मा रिमालले बताए । मैदानटोलदेखि भैरवीस्थान, भूटोलबजार हुँदै अशोकबारीसम्मका सडकमा ढुङ्गा ओछ्याउने, सार्वजनिक पार्किङ, त्यस स्थानभन्दा अलि परको स्थानमा बनाई उक्त बजार क्षेत्रभित्र गाडीको प्रवेश रोक लगाई बन्दीपुरको जस्तै पैदल हिँडी भैरवीमन्दिर दर्शन गर्न जाने सोचका साथ सम्पदा गाउँका परिकल्पना गरिएको उनले बताए । अहिले दिन प्रतिदिन सम्पदा गाउँ क्षेत्र वरपर बाटो तथा सार्वजनिकस्थल वरपर सिमेन्टका ढलान, बाटोमा कालोपत्रे पिच भइरहँदा स्थानीय सरकार अर्थात् विदुर नगरपालिकासमेत मूकदर्शक बनिरहेको दुःखेसोसमेत उनले गरे । विकास पक्कै आवश्यक छ, तर सम्पदा गाउँको मर्म र भावना भने पटकै मर्न दिनुहँुदैन । स्थानीय जनप्रतिनिधि, स्थानीय समुदाय, स्थानीय, प्रदेश र सङ्घीय सरकारले नुवाकोट सम्पदा बस्ती क्षेत्रभित्र, के सम्पदा बस्तीको मापदण्डअनुरूप घर, बाटो, सार्वजनिकस्थल बनिरहेको छ त भनी अध्ययन, अनुगमन गर्नु आवश्यक छ । त्यस क्षेत्रलाई सम्पदा गाउँको मर्म र भावनाअनुरूप विकास गर्न सकिएन भने हामीले निकै ठूलो अवसर गुमाउनेछौँ र हाम्रा सन्ततीले हामीलाई धिक्कार्नेछन् । कुनै बेला नेपालको राजधानी, लामो समयसम्म जिल्लाको सदरमुकाम रहेको नुवाकोट अहिले आफ्नो पुरानो पहिचान फर्काउन विभिन्न व्यक्ति, समुदाय, सङ्घ-संस्था जुर्मुराइरहेका छन् ।