एमाले नुवाकोटको महत्वाकाङ्क्षी निर्णय, कार्यान्वयनमा शङ्का

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०८०, शुक्रबार ११:४४

विदर, गत हप्ता नेकपा एमाले जिल्ला कमिटी नुवाकोटको नवौँ बैठकले सत्रबुँदे कार्ययोजनाको घोषणा ग¥यो । पार्टीले निर्णय गर्ने, योजना बनाउने, तर जिम्मेवार नेताहरूबीच नै गरेका निर्णयको कार्यान्वयनमा एकमना एकता, समझदारी र प्रतिबद्धता नहुँदा अपेक्षित प्रतिफल प्राप्त गर्न नसक्ने नियति नुवाकोट एमालेले विगतदेखि भोगिरहेको छ । नेतृत्व आधारभूत तहमा जाने र त्यहीँबाट पार्टी कामको समीक्षाका साथै जनताको तहका देखिएका पार्टीभित्रको अन्तर्विरोध, जनताका विकास निर्माणका समस्या, सुदृढ र जुझारू पार्टी सङ्गठन निर्माण र परिचालनको उद्देश्य राखेर सञ्चालनमा गरेको मिसन ग्रासरुटले पनि नुवाकोटमा अपेक्षित परिणाम ल्याउन सकेन ।

जनताबीच गएर वस्तुगत परिस्थितिको विश्लेषणका आधारमा ‘जनतालाई सुन्ने, बुझ्ने र आफू कति पानीमा छु’ भन्ने बुझ्ने उद्देश्यसहित देशव्यापी रूपमा सञ्चालन गरिएको .मिसन ग्रासरुट अभियान पनि नुवाकोटमा कर्मकाण्डी मात्र हुन पुग्यो । जनता र कार्यकर्तामा जाने कुरामा पनि जिम्मा पाएकाले टालटुले हिसाबमा लिए । मूलतः पार्टी कमिटीको क्रियाशीलता, पार्टी सदस्यताको अवस्था, उनीहरूको क्रियाशीलता, नयाँ सदस्यता र पुरानो सदस्यताको नवीकरण र जनताको पङ्क्तिमा एमालेको अवस्थाको पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको मिसन ग्रासरुटले सोचेअनुसार परिणाम नदिएपछि नुवाकोट एमाले र त्यसका जिम्मेवार नेताहरू अहिले केन्द्रको दबाबमा छन् । एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठकले पनि मिसन ग्रासरुटको समीक्षा गर्दै पार्टी सुुदृढीकरणका लागि १४ बुँदे निर्णय गरेर कार्यान्वयन गर्न जिल्लालाई निर्देशित गरेपछि सोको जिल्ला योजना र कार्यान्वयनको योजना बनाउन जिल्ला कमिटीको बैठकको आयोजना गरिएको एक जिल्ला पदाधिकारीले बताए । जतिसुकै तीव्रता दिएको भनिए पनि पार्टीको दशौँ महाधिवेशनसम्ममा १० हजार पाँच सयभन्दा बढी पार्टी सदस्य रहेको विवरण केन्द्रमा पेस गरे पनि पुराना सदस्यको नवीकरण चार हजार कट्न सकेन भने नयाँ सदस्यको संख्या दुई हजारको हाराहारीमा रहेको छ ।

केन्द्रले गरेको जिम्मेवारी हेरफेरसँगै नयाँ जिम्मेवारी पाएका बागमती प्रदेशका इन्चार्ज गुरु बराल, नुवाकोट जिल्ला इन्चार्ज अरुण नेपाल र एमाले नुवाकोटको अभिभावक मदन भण्डारी फाउन्डेसनका अध्यक्ष पूर्वमन्त्री, एमाले केन्द्रका सल्लाहकार महेन्द्रबहादुर पाण्डेको उपस्थितिमा, प्रदेश कमिटीका सदस्यसहितको बैठकले जिल्लाको समग्र अवस्थाको समीक्षा गर्दै नुवाकोटमा एमाले सुदृढीकरणका लागि जिम्मेवारी हेरफेर, कार्यकर्ता संरक्षण कोष सञ्चालन, जिल्ला प्रतिनिधि परिषद् बैठक, जिल्ला विभागको गठन–पुनर्गठन र क्रियाशीलता, वडादेखि निर्वाचन क्षेत्रका पार्टी कमिटीको परिचालन र कार्यालयको व्यवस्थापन, जनसङ्गठनको परिचालन, स्थानीय तहका पूर्व र वर्तमान जनप्रतिनिधिको भेला र कामको समीक्षा, १८ देखि ४० वर्षका युवाबीच विशेष कार्यक्रम, जिल्लाभित्रका अनियमितता, भ्रष्टाचार, विकृति र विसङ्गतिका विरुद्धमा कार्यक्रमलगायत जिल्ला कार्यालयको थप व्यवस्थापन गर्नेजस्ता कार्यक्रम तय गरेको छ । बैठकले आगामी फागुनमा पार्टी आठौँ जिल्ला अधिवेशन र चैतसम्ममा पालिका अधिवेशन र वडा अधिवेशन सम्पन्न गर्ने योजना पनि बनाएको छ । योजना बन्ने कार्यान्वयन नहुने नुवाकोट एमालेमा देखिएको पुरानै रोग हो । तथापि, आशा गरौँ, अहिलेको योजना कार्यान्वयन हुन्छ, तर नेताहरूमा देखिएको अहंकार, अकर्मण्डयता, गुटबन्दी, तँछाड–मछाड र घेराबन्दीले गरिएका निर्णयको परिपालना र कार्यान्वयन हुने कुरामा शङ्का रहेको एक पदाधिकारीले बताए । जिल्लाको १२ स्थानीय तहमध्ये ११ वटामा नराम्रो पराजय भोगेको र जम्मा–जम्मी वडामा मात्र सीमित रहेको एमालेले आफ्नो खस्किएको उपस्थितिलाई अझै गम्भीरतापूर्वक महसुस गरेको छैन ।

जिल्लाका नेताहरूमा केही बढी जिम्मेवारीबोधसम्मको क्षमता हुनैपर्दछ, त्यो हुन सकिरहेको छैन । कार्यकर्ताबीच पुग्दा कार्यकर्ता जे बोल्छन्, त्यतैतिर ढलक्क हुने, निर्णय लिने बेला र ठाउँमा उदासीन, अन्यमनस्क रहने वा कार्यकर्ताका बीचमा पुग्दा पार्टी निर्णय र अनुशासनको डण्डे धम्की मात्र दिने, न तर्क, न तथ्य, न उपाय, न जुक्तिको अवस्थामा नुवाकोट नेतृत्व रहेको छ । अरूमाथि शासन गर्ने, शक्तिको बलमा मात्रै पार्टी हुँ भन्दै अरूमाथि अधिनायकत्वको उन्माद बजार्ने, अराजकताको भल बगाउनेजस्ता प्रवृत्ति पनि जिल्लामा कायम छ । निर्णय लिने बेलामा सबैको कुरा सुन्ने, जनता र कार्यकर्ताका गुनासा र मागउपर गम्भीर हुने र निकासका भरोसायोग्य काम र उपस्थिति जनाउने, जिल्लाको परिस्थिति, देशकाल र राष्ट्रिय चिन्तनमा न्यून चासो राख्ने नुवाकोटको नेतृत्वपङ्क्तिमा सुधारको खाँचो रहेको वामबुद्धिजीवीले बताउने गरेका छन् । जिल्ला नेतृत्व नसुध्रिएको सङ्केत बैठकमै देखियो । जिल्ला कमिटीका सदस्य एवम् पालिका इन्चार्जको रिपोर्टिङलाई सुन्ने धैर्यतासमेतमा नेतृत्व चुकेको देखियो । बैठकपछि सामाजिक सञ्जालमा निर्णयको विरुद्धमा लेख्ने तथा नेतृत्व र नेतालाई गधा र गोरु भन्नेसम्मका कुराले एमालेको पार्टी संस्कारलाई नङ्ग्याएको छ । अर्कोतर्फ प्रायः निर्णय प्रजातान्त्रिक प्रकियाविपरीत, जिल्ला कमिटीको पूर्ण बैठकमा छलफल गर्ने त परैको कुरा, सचिवालयमा समेत छलफल गरिन्न र हालसम्मका सबै बैठकमा पदाधिकारी बैठकले गरेको निर्णय थोपर्ने कामको बैठकमा विरोध भएको छ ।