कालो गाउँ बन्यो बुट्टेदार

  • त्रिशूली प्रवाह
  • २५ श्रावण २०८०, बिहीबार ११:५८
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ मा पर्ने विगतको कालो गाउँ गत्लाङ भूकम्पपछि बुट्टेदार बनेको छ ।

भूकम्पअघि गत्लाङ (ब्ल्याक भिलेज) कालो गाउँको नामले देश–विदेशमा चिनिएको थियो । कालो गाउँका सबै घर उस्तै हुन्थे, झ्यालढोका उस्तै डिजाइनका हुन्थे, कसको घर कुन हो छुट्याउन सकिँदैनथ्यो । ढुङ्गाको गाह्रो, काठको छानो भएका दुईतले घरभित्र काठैकाठ हुन्थे । हिउँको चिसोमा यस घरभित्र बस्दा न्यानो हुन्थ्यो । भूकम्पपछि कालो गाउँले आफ्नो पहिचान गुमाएको छ । आजभोलि यो गाउँमा पर्यटकको आगमन पनि ठप्पजस्तै बनेको छ । भूकम्पले सबैको घर भत्किएपछि विभिन्न सङ्घ÷संस्थाले राहतको रूपमा जस्तापाता बाँडेका थिए । पुरानो घर भत्किएपछि धेरैले जस्ताकै टहरा बनाउन थाले, जस्ताको छानो राखी घर, टहरा बन्न थालेपछि गत्लाङ गाउँ रङ्गीन बन्यो । आजभोलि आन्तरिक तथा बाह्य पर्यटक कमभन्दा कम मात्र त्यहाँ पुग्ने गर्छन् । पहिले मोटर बाटो नहँुदा स्याफ्रुबेँसीबाट हिँडेर दुई दिनमा कालो गाउँ गत्लाङ पुग्थे र त्यहाँ पुगेपछि गर्वका साथ स्वर्गीय आनन्द भयो भन्दै घर-परिवारलाई सुनाउँथे । अब त्यस्तो समय रहेन, मोटर बाटो पनि घर–घरमै पुग्यो, गत्लाङ गाउँले आफ्नो पहिचान मेटाएर रङ्गी-चङ्गी भएपछि कालो गाउँको अस्तित्व नै मेटिएको स्थानीय होमस्टे सञ्चालक फुर्पुसिङ्गी तामाङले बताए ।

गत्लाङ गाउँ हिमालको नजिक भएकाले मङ्सिरदेखि नै हिउँ पर्न सुरु हुन्छ । हिउँ पर्न थालेपछि चिसो हुन थाल्छ । कालो गाउँलाई जीवित राख्न नसकेको कारण गत्लाङ जाने पर्यटक घटेको रसुवा-नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए । यो गाउँ वातावरणको हिसाबले पनि एक महत्वपूर्ण मानिन्छ । बिहान उठ्नेबित्तिकै ओछ्यानबाटै लामटाङ हिमाल टलक्क देख्न सकिने यो गाउँ भूकम्पपछि बनेको घर-टहराका कारण कुरूप बनेकोसमेत उनले बताए । विश्वभर कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी हुँदा दुई वर्ष त गत्लाङ गाउँका स्थानीयले पर्यटक देख्नै पाएनन् । गत्लाङ मात्र नभएर रसुवाका अन्य पर्यटकीय क्षेत्र पनि नराम्रोसँग कोरोना महामारीको दुई वर्ष थला परे । गत्लाङ रैथाने उत्पादनका विभिन्न ताजा खानेकुरा, हिमाली दृश्य र मौलिक कला-संस्कृति, वेशभूषाले गर्दा आन्तरिक र बाह्य पर्यटकको घुमफिर गर्ने सूचीमा रहेको थियो । विशेषगरी गत्लाङको आलु र सिमी रसुवासँगै नुवाकोट, काठमाडौं र देशका अन्य ठाउँका व्यवसायी र उपभोक्तामाझ परिचित रहेको छ । विगत वर्षमा भन्दा यसपटक आलु र सिमीको उत्पादन कम भएको स्थानीय होमस्टे सञ्चालक तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।

विगत ०५७/५८ मा टिआरपिएपी भन्ने गैरसरकारी संस्थाले गत्लाङ गाउँको पहिचानलाई प्रचार-प्रसार गरी पर्यटन प्रवद्र्धनका लागि स्थानीयसँग सहकार्य गरेर कार्यक्रम गरेको थियो । उक्र कार्यक्रमले गत्लाङको मौलिकतालाई कायम राख्न कालो गाउँ नामकरण गरी पर्यटनसँग सम्बन्धित देश-विदेशमा रहेका सङ्घ-संस्था तथा व्यवसायीबीच परिचित गराउन विभिन्न कार्यक्रम पनि गरेको थियो । गोरेटो बाटो निर्माण र घरघरमा होमस्टे सञ्चालनका लागि स्थानीयसँग मिलेर लगानी गरेको थियो । कार्यक्रम सकिएपछि पनि स्थानीय होमस्टे सञ्चालन गर्दै आफ्नो जीवनस्तर उकास्न लागिपरेका छन् । करिब पाँच सय घरधुरी रहेको गत्लाङ गाउँको मुख्य पेसा कृषि रहे पनि पछिल्लो समय पर्यटनसँग जोडिएर पर्यटक आकर्षणका लागि होमस्टेमार्फत तामाङ कला, संस्कृति, वेशभूषा र मौलिक खानाको परिकार बेच्न थालेका छन् । यो गाउँका बासिन्दा पर्यटक प्रवद्र्धनमा लागेका कारण मुख्य पेसा होमस्टे बन्दै छ । साबिकको गत्लाङ गाविस हुँदा गाविसभित्रका धेरै पर्यटकीय स्थलको पहिचान गरी प्रचार-प्रसार गरी पर्यटकीय हब बनाउने अभियान थालेको थियो ।