जनप्रतिनिधिको विवादका कारण त्रिपुरासुन्दरीले पाएन बजेट

  • त्रिशूली प्रवाह
  • ३२ श्रावण २०८०, बिहीबार १२:१७

धादिङबेँसी, संवैधानिक व्यवस्थाअनुसार पालिकाले असारमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि केही स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् । बागमती प्रदेशका एक सय १९ स्थानीय तहमध्ये धादिङको त्रिपुरासुन्दरी गाउँपालिका अझै बजेट पारित गर्न असफल भएको छ । धादिङको १३ पालिकामध्ये १२ पालिकाले गत असारमै चालू आ.व.को बजेट पारित गरिसकेका छन् ।

जनप्रतिनिधिबीचको विवाद र राजनीतिक द्वन्द्वका कारण त्रिपुरासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष ०८०/८१ को बजेट ल्याउन असफल भएको जिल्ला समन्वय समिति धादिङले जानकारी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी अश्विनकुमार पोखरेलले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले बजेट पारित गरेको कुनै जानकारी नआएको बताए । ‘उहाँहरूले कानुन मान्नुभएन, सम्बन्धित शाखाबाट पत्र पठाउने तयारी गरिरहेका छौँ,’ उनले भने । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले कर्मचारी अभावका कारण बजेट कम्प्युटरमा इन्ट्री गर्न नसकिएकाले बजेट ल्याउन नसकेको जानकारी दिए । ‘अब एक साताभित्र बजेट पारित गर्छौँ, कर्मचारी अभाव हुँदा ढिलो भयो,’ उनले भने । त्रिपुरासुन्दरी गाउँपालिकाका प्रवक्ता कुशबहादुर सिटौलाले गाउँपालिकाका अध्यक्षले बैठक आह्वान नगर्दा कार्यपालिका बैठक र गाउँसभा हुन नसकेको बताए । बजेट पारित नहुँदा विपत्को समयमा गाउँपालिकाले गर्नुपर्ने काम र अन्य दैनिक सेवा प्रवाह प्रभावित भएको उनको भनाइ छ । पालिकाको कार्यपालिका बोर्डमा अध्यक्ष उप्रेती अल्पमतमा रहेकाले आ.व. ०८१/८० नीति तथा कार्यक्रम र बजेट ल्याउन र छलफल गर्न सकेका छैनन् ।

बागमती प्रदेशअन्तर्गत धादिङको साबिकको सल्यानकोट गाविसमा रहेको प्रसिद्ध मन्दिर त्रिपुरासुन्दरी माईको नामबाट पालिकाको नामकरण गरिएको हो । पालिकामा सातवटा वडा रहेको छ । जिल्ला सदरमुकाम धादिङबेँसीबाट ३० किलोमिटर उत्तरपश्चिमतर्फ रहेको गाउँपालिका ८४.३६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । देशको पुनर्संरचनासँगै ०७३ सालमा साबिकको पाँचवटा गाविस सल्यानटार, आगिन्चोक, मूलपानी, सल्यानकोट र त्रिपुरेश्वर समावेश गरी नेपाल सरकारबाट त्रिपुरासुन्दरी गाउँपालिकाको रूपमा स्थापना भएको हो । गाउँ कार्यपालिकाको कार्यालय साबिकको सल्यानटार गाविस भवनमा रहेको छ । यस पालिकाको पूर्वमा नेत्रावती र गंगाजमुना गाउँपालिका, पश्चिममा गोर्खा जिल्ला, उत्तरमा गंगाजमुना गाउँपालिका र दक्षिणमा ज्वालामुखी, नेत्रावती गाउँपालिका तथा नीलकण्ठ नगरपालिका पर्दछ । पाालिकाका बासिन्दा विशेषगरी कृषि पेसामा निर्भर रहेका छन् भने केही मात्रामा सरकारी सेवा, व्यापार–व्यवसाय, वैदेशिक रोजगार, सिकर्मी तथा डकर्मी पेसामा निर्भर रहेका छन् ।