धुन्चे, दक्षिणी रसुवाको उत्तरगया गाउँपालिकामा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजना निर्माण सुरु भएदेखि नै स्थानीयसँगको सम्बन्ध सुमधुर हुन सकेको छैन । आयोजनाले रसुवावासीलाई छुट्याएको सेयरको भागबन्डा नियम सङ्गत नभएको भन्दै पुनरावलोकन गराउन जिल्ला समन्वय समितिमार्फत स्थानीय प्रभावितले माग गरेका छन् । स्थानीयको मागअनुसार जिल्ला समन्वय समिति रसुवाले हालै सम्पन्न आठौँ जिल्लासभाबाट निर्णय गरेर आयोजनालाई सेयर बाँडफाँड पुनरावलोकन गर्न पत्र पठाएको छ ।
आयोजनाले निष्कासन गर्ने कुल सेयर सङ्ख्याको १० प्रतिशत रसुवावासीले पाउने कानुनी प्रावधानलाई बेवास्ता गर्दै निष्कासन गर्न थालिएको सेयर अत्यन्तै न्यून सङ्ख्यामा तोकिएको भन्दै पुनरावलोकन गराउन जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरेले पत्र पठाएर आग्रह गरेका छन् । उनले बताएअनुसार १४.३ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले सेयर बाँडफाँटको विषयमा जिल्लास्तरको कुनै पनि सल्लाह–छलफलबेगर निष्कासनको काम अगाडि बढाएका कारण जिल्लावासीको आवाज र यथार्थलाई मनन गरी पारदर्शी रूपले पुनरावलोकन गराउन विधि र प्रक्रियामार्फत अनुरोध गरिएको हो । जिल्लास्तरमा समन्वयकारी भूमिका निर्वाह गरी आइपर्ने सबै प्रकारका समस्या समाधान गराउने मूल संस्था जिल्ला समन्वय समितिलाई बेवास्ता गरी उक्त आयोजनाले रसुवामा जटिल समस्या निम्त्याएको छ । आयोजनाले ल्याएको जटिल समस्या समाधानका लागि सबै राजनीतिक दलका प्रमुख प्रतिनिधि, गाउँपालिका प्रमुख, उपप्रमुखले माग गरेका छन् । उक्त आयोजनाकोे कमी–कमजोरी सच्याउन र सेयर बाँडफाँटको सबै प्रक्रिया पुनरावलोकन गराउन विद्युत् निर्माता कम्पनीलाई अनुरोध गरिएको जिल्ला समन्वय उपप्रमुख विजय लामाले बताए ।
रसुवाको उत्तरगया गाउँपालिकाको करुम्राङबाट उत्तर पाखामा कार्यक्षेत्र बनाएको सो आयोजनाले आफ्नो कार्यक्षेत्रबाहिर गएर नुवाकोटको किस्पाङ गाउँपालिकाको साबिक मनकामना गाविसलाई कुन आधारमा प्रभावित क्षेत्र बनायो भन्ने विषयमा समेत जिल्ला परिषद्का सहभागी सदस्यले चर्काे आवाज उठाएका थिए । रसुवावासीका लागि भने आयोजनाले एक लाख ४२ हजार आठ सय ५० कित्ता सेयर तोकेको भए पनि कम्पनी बोर्डले कुल सेयर सङ्ख्या के–कति निर्धारण ग¥यो भन्ने सम्बन्धमा कुनै प्रस्ट नभएका कारण सेयर बाँडफाँडमा घोटाला भइराखेको हो कि भन्ने स्थानीय जनआवाज बढिरहेको छ । आयोजना अतिप्रभावित, प्रभावित भनेर केही सेयर उत्तरगया गाउँपालिकाको २ र ३ वडाको साथै नुवाकोटको किस्पाङ गाउँपालिकाको एउटा वडालाई पनि छुट्टै भागबन्डा गरेका सेयरसमेत पुनरावलोकन हुनुपर्ने माग जिल्ला समन्वयको आठौँ जिल्लासभाले माग गरेको छ । हाल आयोजनाले रसुवा र नुवाकोटका भूभागको प्रभावित र अति प्रभावितलाई भने आठ लाख ५७ हजार एक सय ५० कित्ता निष्कासन सूचीमा देखाइए पनि कुल सङ्ख्या कति हो भन्ने बुझ्ने गरी प्रस्ट देखाएको छैन ।
जिल्लामा निर्माणाधीन रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाले भने सेयर निष्कासन गर्नुपूर्व जिल्लास्तरमा सर्वपक्षीयको भेलाको आयोजना गरी सो भेलाले दिएको मार्गनिर्देशअनुरूप अगाडि बढेको र जल, जङ्गल र जमिन स्थानीय बासिन्दाको अधिकार भन्ने नारालाई स्थापित गरेको छ । माथिल्लो मैलुङ जलविद्युत् आयोजना निर्माता कम्पनीले भने जल, जङ्गल र जमिनमा स्थानीय बासिन्दाको अधिकारलाई कुण्ठित गरेको छ । आयोजनाले गरेको व्यवहारबाट रसुवावासीको अपहेलना भएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरिरहेका छन् । कम्पनीले जारी पुँजी एक अर्ब रुपैयाँको १० प्रतिशत अर्थात् दश करोड रुपैयाँबराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका दश लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको थियो । सोमध्ये पाँच लाख ७१ हजार चार सय ३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका-९ का बासिन्दालाई र दुई लाख ८५ हजार सात सय २० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा बसोवास गर्ने स्थानीय बासिन्दाका लागि र सो क्षेत्रबाहेकका रसुवाका अन्य क्षेत्रका स्थानीय बासिन्दाका लागि एक लाख ४२ हजार आठ सय ५० कित्ता सेयर छुट्याएको छ ।
साथै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने एक करोड ५० लाख रुपैयाँबराबरको प्रतिसेयर एक सय रुपैयाँ अङ्कित दरका एक लाख ५० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गर्नेछ । निर्माणकार्य पूरा गरी उपकरण जडानको काम अगाडि बढिसकेको यो अवस्थामा आयोजनाले रसुवा कार्यक्षेत्र बनाई आम्दानीको रसास्वादन लिने अवस्थामा रसुवावासीलाई गरेको उपेक्षा सह्य नहुने र रसुवाका जनता पूरै तातेपछि विद्युत्गृहमा साँचो लाग्न सक्ने दिनसमेत आउन सक्ने नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए । कम्पनीको एकल निर्णयबाट रसुवावासीका लागि धुन्चेमा एउटा मात्र बैंक तोक्नु नै सेयर वितरणमा शङ्कास्पद भएको र यार्साका नागरिकलाई भने एक हजारको सेयर भर्न दुई हजार खर्च गरेर जानुपर्ने बाध्यता छ । रसुवामा उत्पादित जलविद्युत्ले स्थानीय बासिन्दालाई फाइदा कि बेफाइदा छुट्याइदिन जलस्रोतविज्ञसामु रसुवावासीले अनुरोधसमेत गरेका छन् । हालै सम्पन्न आठौँ जिल्लासभामार्फत सेयर बाँडफाँट पुनरावलोकन गर्न माथिल्लो मैलुङ जलविद्युत् आयोजनालाई अनुरोध गरिसकिएको र सहजीकरण र सहयोगका लागि नेपाल धितोपत्र बोर्डमा समेत पत्रचार भइसकेको जिल्ला समन्वय समितिका समन्वय अधिकारी विकास गैरेले जानकारी दिए ।