४०९ नयाँ उद्योग र वाणिज्य फर्म दर्ता ८७ करोड दर्ता पुँजी थपियो

  • त्रिशूली प्रवाह
  • २१ भाद्र २०८०, बिहीबार १३:५१

धादिङबेँसी, बागमती प्रदेश सरकारमातहत रहेको घरेलु तथा साना उद्योग कार्यालय धादिङमा आर्थिक वर्ष ०७९/८० मा उद्योगतर्फ दुई सय ४६ र वाणिज्यतर्फ एक सयवटा फर्म नयाँ दर्ता भएका छन् । दर्ता भएका उद्योग र वाणिज्यका फर्मले ८७ करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । थपिएका उद्योगले ५० करोड २० लाख र वाणिज्य फर्मले ३७ करोड दर्ता पुँजी रहेकोे घरेलु तथा साना उद्योग कार्यालय धादिङका राजेन्द्रप्रसाद कोइराला जानकारी दि

उक्त कार्यालयको आ.व.०७९/८० मा धादिङमा एक सय १६ उद्योग र एक सय ६२ वाणिज्य फर्म खोरजी हँुदा नौ हजार आठ सय ३६ उद्योग र पाँच हजार चार सय ५० वाणिज्य फर्म कार्यालयको ढड्डामा सञ्चालनमा रहेको देखिन्छ । आ.व. ०७९/८० भन्दा अघि दर्ता भएका उद्योग तथा वाणिज्यमा कति सञ्चालनमा रहेका छन् कि छैनन् भन्नेमा कार्यालय आफैँ बेखबर छ । गत आवमा भने कार्यालयले उद्योग र वाणिज्य फर्म दर्ता, जरिवाना, उद्योग र वाणिज्य फर्म खारेजीबापत एक करोड ५५ लाख १४ हजार आठ सय ४८ रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको छ । सरकारले दर्ताबिना उद्योग, व्यापार तथा व्यवसाय गर्न कडा गरेसँगै उद्योग-वाणिज्य क्षेत्रमा उद्योग तथा वाणिज्यसँग सम्बन्धित फर्म दर्ता गर्ने क्रम बढेको छ । कार्यालय प्रमुख मेघनाथ गौतमका अनुसार अहिलेसम्मको लगानी कति छ भन्ने तथ्याङ्क एकीकृत रूपमा भन्न सक्ने अवस्था छैन । हरेक वर्ष दर्ता नवीकरणको तथ्याङ्क राख्ने प्रचलन छ । एकीकृत तथ्याङ्क राख्ने प्रणाली छैन र कति उद्योग तथा वाणिज्य फर्म सञ्चालनमा छन् भन्ने पनि अद्यावधिक तथ्याङ्क छैन । एकल उद्योग तथा फर्म दर्ता गरेको पाँच वर्षसम्म नवीकरण गर्न नपर्ने कानुनी व्यवस्था छ । छैटौँ वर्षसम्म फर्म सञ्चालक नै कहाँ पुगिसकेको हुन्छन् पत्तो हुँदैन । साझेदारी उद्योग तथा फर्म हरेक वर्ष नवीकरण गर्ने व्यवस्था रहेको कार्यालय प्रमुख गौतमले बताए ।

प्रादेशिक व्यवसाय तथा व्यापारसम्बन्धी ऐन, २०७६ र प्रदेश औद्योगिक ऐन, २०७६ ले पाँच लाखसम्मको पुँजी भएको उद्योग तथा व्यवसाय फर्म स्थानीय तहमै दर्ता गर्ने व्यवस्था गरेको छ । पाँच लाखभन्दा माथि पाँच करोडसम्मका उद्योग तथा वाणिज्य फर्म घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्ने कानुनी व्यवस्था रहेको कार्यालय प्रमुख गौतमले बताए । १५ हजारभन्दा बढी सङ्ख्यामा रहेको उद्योग वाणिज्य फर्मको प्रशासनिक र नियमन कार्यका लागि जम्मा आठजनाको दरबन्दी रहेको छ । ‘हाल कार्यालय सहयोगी, चालकसहित ६ जना कार्यरत छौँ । उद्योगको अनुगमन तथा नियमनसँगै बजार अनुगमन गर्नुपर्ने हुन्छ । जनशक्ति अभावले विगतमा रहेको त्रुटि लगानी कति छ भनेर सच्याउनसमेत सकेका छैनौँ । दर्ता भएका सबै उद्योग सञ्चालनमा छैनन् । तर, यकिन गरेर भन्न तथ्याङ्क पनि छैन । निश्चित उद्देश्यका साथ दर्ता गर्ने उद्देश्य पूरा भए वा नभए पनि पछि पलायन हुने देखिन्छ,’ कार्यालय प्रमुख गौतमले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय र कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका उद्योग तथा वाणिज्य फर्म धादिङ उद्योग वाणिज्य सङ्घमा दुई हजार एक आबद्ध छन् । तीमध्ये उद्योगतर्फमा फर्म ६ सय ८२ र वाणिज्यतर्फका फर्म एक हजार तीन सय १९ रहेका छन् । जिल्लामा सबै निकायमा दर्ता भएका उद्योग र वाणिज्य फर्म करिब २० हजारको हाराहारीमा हुनुपर्छ । तीमध्ये १० हजारका हाराहारीमा सञ्चालनमा रहेको अनुमान गर्न सकिन्छ । साना उद्योग तथा वाणिज्यका करिब १३ अर्ब दर्ता पुँजी रहेको अनुमान गर्न सक्ने धादिङ उद्योग वाणिज्य सङ्घ सदस्य रोहित भण्डारीले बताए ।