यो वर्षको जनैपूर्णिमामा गोसाइँकुण्डमा १५ हजार र पार्वतीकुण्डमा पाँच हजार तीर्थयात्रु पुगे

  • त्रिशूली प्रवाह
  • २१ भाद्र २०८०, बिहीबार १४:१२
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवाको प्रमुख धार्मिक तीर्थस्थलमध्येको गोसाइँकुण्ड र पार्वतीकुण्डमा यस वर्षको जनैपूर्णिमाको मेलामा २० हजारभन्दा बढी तीर्थयात्री पुगेको अनुमान गरिएको छ । कोरोनाको कारणले विगत तीन वर्ष गोसाइँकुण्ड र पार्वतीकुण्डमा जाने तीर्थयात्रीको सङ्ख्या न्यून रहेको थियो । यस वर्ष अनुकूल मौसम रहेको र कोरोना महामारीको असर नरहेको कारण स्थानीयले सोचेभन्दा बढी तीर्थयात्री जनैपूर्णिमाको मेला अवधि एक हप्तामा गोसाइँकुण्ड र पार्वतीकुण्डमा पुगेको अनुमान सरोकारवाला निकायले गरेका छन् ।

समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्र गोसाइँकुण्डमा जनैपूर्णिमा मेला भर्न १५ हजार मानिसको आगमन भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जानकारी दिएको छ । समितिका अनुसार नुवाकोटको घ्याङफेदी, दुप्चेश्वर हुँदै र सिन्धुपाल्चोकको हेलम्बु हुँदै सुन्दरीजलबाट देशभरका तीर्थालु गोसाइँकुण्ड पुगेका थिए । समितिले करिब १० देखि १५ हजार तीर्थालु आएको अनुमान गरिएको बताएको छ । गोसाइँकुण्डमा स्नान गरी पूजा–आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा भई घरपरिवारमा सुखशान्ति बढ्ने र पारिवारिक मिलन थप प्रगाढ हुने विश्वास रहिआएको छ । गोसाइँकुण्डको दर्शन गर्ने सबैभन्दा ठूलो पर्व जनैपूणिर्माको दिन कुण्डको जलाशयमा फूल–प्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यताअनुरूप गोसाइँकुण्ड पुग्ने चलन रहिआएको छ । गोसाइँकुण्ड पुगेका भक्तजनलाई नेपाली सेना, गोसाइँकुण्ड गाउँपालिका, रसुवा जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, हिमालय उद्धार सङ्घको चिकित्सक एवम् स्वास्थ्यकर्मीको टोलीले धुन्चेदेखि गोसाइँकुण्डसम्म प्राथमिक उपचार सेवा विभिन्न स्थानमा रहेर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । तीर्थयात्रुको सुरक्षा एवम् लेक लागेर गम्भीर बिरामी परेका यात्रुको उद्धारका लागि नेपाल प्रहरीले ४०, नेपाली सेना विष्णुदल गणले ६० र सशस्त्र प्रहरी बलले २० सुरक्षाकर्मी परिचालन गरेका थिए ।

यात्रुले ल्याएका सवारीसाधनको पार्किङ व्यवस्था गोसाइँकुण्ड गाउँपालिकाले गरेको थियो । सत्ययुगमा देवता र दानवको सागर मन्थनबाट निस्केको कालकुट विष खाएर दहन सहन गर्न नसकी यहाँ आएका भगवान् शिवले रिसाएर त्रिशूलले भूमिमा खोप्दा धाराको उत्पत्ति भई त्यहीँबाट बगेको पानी जम्मा भएर गोसाइँकुण्डको उत्पत्ति भएको पौराणिक कथन छ । सोही कथनअनुसार धार्मिक दृष्टिकोणले गोसाइँकुण्ड अग्रस्थानमा रहेको छ । गोसाइँकुण्डजस्ता प्राकृतिक सम्पदाको संरक्षण भए मात्र रसुवाको विकास सुनिश्चित हुने र विश्व सम्पदा सूची वा रामसार क्षेत्रमा सूचीकृत भएको पनि सार्थक हुन्छ । महत्वमा विविधता रहेको गोसाइँकुण्डको संरक्षण, प्रचारप्रसार र विकासका लागि सबैले हातेमालो गर्नुपर्छ । धार्मिक हिसाबले वर्षको दुईपटक मेला लाग्दै आए पनि आजभोलि १२ महिना नै मानिसको आवत–जावत भइरहने हुँदा यहाँको उचित व्यवस्थापन गर्नु अत्यन्त जरुरी छ । भगवान् शिवजी (महादेव)का अनुयायीहरू चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवरजत्तिकै गोसाइँकुण्डलाई पवित्र तीर्थस्थल मान्छन् । यसको महत्व दिन प्रतिदिन बढिरहेको र दर्शन गर्न आउनेको सङ्ख्या बर्सेनि बढेको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए ।

त्यसैगरी, रसुवामा रहेका एक सय आठ कुण्डमध्येको गोसाइँकुण्डपछिको ठूलो र धार्मिक आस्थाको पार्वतीकुण्डमा पनि यस वर्ष जनैपूर्णिमाको अवसरमा एक हप्ता मेला लागेको थियो । आमाछोदिङ्मो गाउँपालिका–३ मा पर्ने पार्वतीकुण्डमा यस वर्षको जनैपूर्णिमाको अवसरमा पाँच हजारभन्दा बढी तीर्थयात्री पुगेको गत्लाङका स्थानीय समाजसेवी अविनाश तामाङले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । तामाङका अनुसार सिन्धुपाल्चोकको हेलम्बु, काठमाडौं, नुवाकोट, नौकुण्डलगायत गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकाका तीर्थयात्री पार्वतीकुण्ड पुगेर आफ्नै परम्परागत तामाङ, शेर्पा गीत गाएर नाचगान गरेर दर्शन गरेका थिए । पार्वतीकुण्डमा सन्तान नहुने वा अन्य कुनै व्यक्तिले आफ्नो समस्या समाधान गर्नका लागि जनैपूर्णिमाको मेलामा लामा झाँक्रीको मन्त्रबाट पूजा गरी वर माग्यो भने पाइन्छ र पार्वतीकुण्डले दिन्छिन् भन्ने विश्वास रहिरहेको छ । तर, त्यो व्यक्तिले जनैपूर्णिमा या फागुन पूर्णिमाको दिन छोज्या गर्नुपर्दछ । छोज्या भनेको तीर्थमा आउने तीर्थालुलाई खाना-खाजा खुवाउने कार्य भन्ने बुझिन्छ । पार्वतीकुण्डको सम्बन्ध भारतको हिमाचलको बुद्धगयाको छोपेमाकुण्डसँग र गोसाइँकुण्डसँग धार्मिक सम्बन्ध जोडिएको विश्वास रहेको छ । यदि भारतको बुद्धगयाको छोपेमा कुण्डको दर्शन गर्न नसकेमा पार्वतीकुण्डको दर्शन गरे आफ्नो मनोकाङ्क्षा पूरा हुने किंवदन्ती छ भने गोसाइँकुण्डको दर्शन गरेपश्चात् अनिवार्य पार्वतीकुण्डको दर्शन गरेमा मनका इच्छा पूरा हुने जनविश्वास रहेको स्थानीय समाजसेवी फुर्पुसिङ्गी तामाङले बताए ।

पार्वतीकुण्ड जान काठमाडौंबाट बिहान ६ बजेको गत्लाङसम्मको सार्वजनिक बस छुट्छ वा आफू समूह मिलेर रिजर्भ गाडीमा आए पनि हुन्छ । पार्वतीकुण्ड सदरमुकाम धुन्चेबाट ३२ किलोमिटर टाढा पर्दछ । पार्वतीकुण्ड पुग्न धुन्चेदेखि ११ किलोमिटर स्याफ्रुबेँसी पुगेपछि कोमिन वा रोङ्गाखोला दुवै बाटो हुदै पुग्न सकिन्छ । पहिलो बाटो स्याफ्रुबेँसी पुगेपछि कोमिन, बाहुनडाँडा हुँदै गत्लाङ जाने बाटोबाट पुग्न सकिन्छ भने दोस्रो बाटो स्याफ्रुबेँसी, रोङ्गाखोला, चिलिमे, गोल्जुङ हुँदै कुण्ड पुग्न सकिन्छ । पार्वतीकुण्डबाहेक यस क्षेत्रमा अरू ठाउँ प्राकृतिक रूपमा निर्मित एक दर्जन दृश्वालोकन गर्ने स्थान रहेका छन् । धार्मिक पाठपूजापश्चात् कुण्डको वरिपरि एक सय आठ धारा, बुद्धपार्क र भ्युप्वाइन्ट अवलोकन गर्न सकिन्छ । पार्वतीकुण्ड तामाङ सम्पदामार्गमा पर्ने भएको हुँदा यस क्षेत्रको तामाङ समुदायको कालोगाउँले परिचित गत्लाङ गाउँ अवलोकनको साथै तामाङको कला, संस्कृति, परम्परा र रहन–सहनको अध्ययन गर्न पनि सकिन्छ । यहीँबाट सोमदाङ जाने सडक र रुबिभ्याली पनि पर्यटन पथमार्ग पनि सुरु हुन्छ । यहाँ पुग्ने तीर्थयात्रीले नजिकमा रहेको गत्लाङ याक चिज उत्पादन केन्द्र, जागेश्वरकुण्ड, नोज्येकुण्ड, नाककुण्ड र ज्यार्सातेन्जो भ्युप्वाइन्टसमेतको अवलोकन र भ्रमण गर्न सक्छन् ।