ठाकुर लेयर्स कुखुरापालनमा स्थापित हुँदै

  • त्रिशूली प्रवाह
  • २९ भाद्र २०८०, शुक्रबार १२:२५

विदुर, नुवाकोट जिल्ला पछिल्लो समय पोल्ट्री व्यवसाय उद्योगको रूपमा स्थापित भइरहेको छ । बेरोजगारी युवाको रोजाइमा पोल्ट्री व्यवसाय परेको छ । थोरै पुँजीबाट र आफ्नै घर, जग्गामा व्यवसाय गर्न सकिने भएकाले निम्न आय-स्रोत भएका पढेलेखेका युवाले पनि यो व्यवसाय सुरु गरिरहेका छन् ।

काठमाडौंसँग जोडिएको कारण नुवाकोटमा पोल्ट्री व्यवसाय गर्दा बजारको समस्या नभएकाले पनि दिन प्रतिदिन यो व्यवसायमा आउनेको सङ्ख्या बढिरहेको छ । नुवाकोट पोल्ट्रीजन्य उत्पादनमा आत्मनिर्भर जिल्ला भए पनि ब्रोइलर कुखुरापालन गर्नेको सङ्ख्या बढी छ । विगतमा लेयर्स कुखुरा पाल्नेको सङ्ख्या न्यून रहेको थियो । लेयर्स कुखुरापालन गर्दा लगानी बढी हुने, उत्पादन लिन लामो समय कुर्नुपर्ने, रोगको प्रकोप पनि बढी हुने भएकाले लेयर्सपालनमा कमैले रुचि राख्छन् । जिल्लाको बेलकोटगढी नगरपालिका-७, महाँदेवफाँट (साबिक रातमाटे गाविस-९ महाँदेवफाँट)मा ठाकुरप्रसाद नेपाल विगत १५ वर्षअघि लेयर्स कुखुरापालन सुरु गरेर सिक्दै, अघि बढ्दै, हरेश नखाई निरन्तर व्यवसायमा तल्लीन रहिरहेका छन् । अथक मिहिनेत, परिश्रम र इमानदारिताका कारण नुवाकोटको लेयर्स कुखुरापालनमा स्थापित बन्न उनी सफल छन् । उनले पोल्ट्री व्यवसायमा आएका नयाँ-नयाँ प्रविधिसँग आत्मसात् गर्दै विभिन्न निकायबाट सीप र तालिम लिएर व्यवसायलाई सफल रूपमा अगाडि बढाएका छन् । उनले सुरुमा पालेका कुखुराका लागि अरूसँग दाना खरिद गर्थे भने विगत पाँच वर्षदेखि दानाका लागि आवश्यक विभिन्न कच्चा पदार्थ प्राविधिकको सिफारिसमा ल्याएर आफैँले उत्पादन गरिरहेका छन् । उनले उत्पादन गरेको दाना आफूलाई मात्र नभएर अन्य व्यवसायीलाई पनि बिक्री गरेर थप आम्दानी गरिरहेका छन् ।

सुरुदेखि नै लेयर्स कुखुरा मात्र पालन गर्दै आएका नेपालको अहिले १० हजारभन्दा माथि अण्डा दिने (लेयर्स कुखुरा) फर्ममा रहेका छन् । दैनिक १० हजार अण्डा बिक्री गर्ने नेपालको मासिक आम्दानी खर्च कटाएर तीन लाख रुपैयाँभन्दा बढी रहेको छ । उनले ०७३ मा व्यवसायलाई बढाउँदै कुशल पोल्ट्री फर्म दर्ता गरेर बैंकसँग समेत कारोबार गरिरहेका छन् । उनले १० रोपनी आफ्नै जग्गामा फर्मलाई थप विस्तार गर्न प्राइम कर्मसियल बैंकसँग सहुलियत ऋणसमेत लिएका छन् । फर्ममा उनी र परिवारबाहेक १० जना कामदारले रोजगारी पाएका छन् । सधैँ केही न केही नयाँ कुरा सिक्दै व्यवसाय विस्तार गर्नुपर्छ भन्ने मान्यता राख्ने नेपाल अहिले पनि नयाँ प्रविधि र ज्ञान सिक्न खोजी–खोजी हिँड्ने गर्छन् । व्यवसायको अलावा उनी नुवाकोट पोल्ट्री व्यवसाय सङ्घको सचिवको जिम्मेवारीसमेत बहन गरिरहेका छन् ।