तितेकरेला : गुणैगुणले भरिपूर्ण

  • त्रिशूली प्रवाह
  • २९ भाद्र २०८०, शुक्रबार १२:२७

हाम्रा वरिपरि रहेका हरेक खाने चिज कुनै न कुनै रूपमा औषधीय गुणले भरिपूर्ण रहेका हुन्छन् । त्यसलाई हामी कसरी ग्रहण गर्छौँ भन्ने कुरा हो । आउनुहोस् यहाँ चर्चा गरौँ तितेकरेलाबारे । नाम नै तितेकरेला, नामअनुसार यसको स्वाद तितो नै हुन्छ । तर, यो गुणले भरिएको तरकारीमा पर्छ ‘मुखै तितो बनायो तितेकरेलीले मलाई लठ्ठै बनायो झिमझिम परेलीले’ भन्ने लोकलयको गीतले पनि करेलाको महत्वलाई उजागर गर्न बल पुगेको छ ।

वैज्ञानिक वर्गीकरणअनुसार फूल फुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्छ यो । ‘मोमोरडिका चरनिटा’ वैज्ञानिक नामबाट चिनिने तितेकरेलालाई संस्कृतमा कंटफल, उग्रकान्ड र हिन्दीमा करेला नै भनिन्छ । अङ्ग्रेजीमा भने यसलाई बिटरमेलन वा बिटरगोर्ड भन्ने गरिन्छ । हरियो र सेतो देखिने यो खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर तरकारी मानिन्छ । यो लहरामा फल्ने फल हो । यसमा रहेको ‘मोमोरडिका’ नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तितो हुने गर्दछ । आयुर्वेदिक चिकित्सामा तितेकरेलालाई विभिन्न औषधिमा उपयोग गर्ने गरिन्छ । उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोगका साथै विभिन्न रोग निदानका लागि समेत यसको प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा यसले पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरुस्त राख्दछ, आऊँ र कफलाई राम्रोसँग निको पार्छ । पत्थरीको रोग, पक्षाघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पु¥याउँछ । रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ । त्यसको आपूर्ति करेलाबाट लिन सकिन्छ । यसमा फस्फोरस, क्याल्सियम, प्रोटिन कार्बोहाइड्रेट, रेसा र अन्य खनिज पदार्थ पाइने गर्दछ । १०० ग्राम तितेकरेलामा भिटामिन ‘ए’ दुई सय १० मिलिग्राम, भिटामिन ‘बी’ ०.०७ मिलिग्राम रहेको हुन्छ । यसका अन्य गुणमा यसले कब्जियन, अरुचि हटाउने एवम् पाचन र मल निष्कासनलाई नियमित गर्दछ । त्यस्तै, दाद, खुजुली निस्किएको ठाउँमा करेलाको रस लगाइदिएमा धेरै राम्रो हुने गर्दछ । करेला स्वादमा तितो भए पनि यो गुणैगुणले भरिएको तरकारी हो ।