प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण र टोखा–छहरे सुरुङमार्गको चर्चा

नुवाकोट दरबार पुनर्निर्माण र पोष्टबहादुर बहुप्राविधिक शिक्षालय निर्माणका लागि सुझाव

  • त्रिशूली प्रवाह
  • २९ भाद्र २०८०, शुक्रबार १२:३७
  • रामलाल श्रेष्ठ
  • शरण उत्सुक सापकोटा

प्रधानमन्त्री पुष्पकमल दाहाल उत्तरी छिमेकको भ्रमणमा जाने तयारी भइरहेको छ । प्रधानमन्त्रीको भ्रमण आगामी असोज ५ गतेदेखि हुँदै छ । प्रधानमन्त्रीको भ्रमणमा नेपाली पक्षले के–कस्ता एजेण्डा उठाउने भन्नेबारे अहिले दैनिकजसो बहस र छलफल चलिरहेको छ । भ्रमणको एजेण्डाबारे विज्ञहरूले आ–आफ्नो बुझाइका सल्लाह र सुझाव दिइरहेका छन् । यसपटकको सरकारमा नुवाकोटका अर्थमन्त्री भएकाले नुवाकोटवासीले प्रधानमन्त्री चीन भ्रमणमा महत्वाकाङ्क्षी ठूला परियोजनाभन्दा पनि सम्भव हुने खालका साना परियोजना तत्कालै लाभ लिन सक्नेमा प्रस्ताव राख्न सुझाएका छन् । वर्तमान अर्थमन्त्री नुवाकोट हप्तैपिच्छे आउँदा टोखा–छहरे सुरुङमार्गको सपना बाँड्दै ताली र वावा बटुलिरहेका छन् ।

झन्डै एक दशकभन्दा बढी हुन लाग्यो नुवाकोटमा टोखा–छहरे सुरुङमार्ग निर्माणको चर्चा हुन थालेको । ७२ सालको कहालीलाग्दो महाभूकम्पपछि तहस–नहस भएको नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माणको चर्चा हुन थालेको पनि आठ वर्ष बितिसकेको छ । बालाजु–रानीपौैवा–त्रिशूली सडकको पुनर्निर्माणको चर्चा चलेको पनि झन्डै एक दशक हुन लाग्यो । केरुङ–काठमाडौं रेलमार्गको चर्चा त हरेकपटक नेपालका प्रधानमन्त्रीको चीन भ्रमणमा महत्वका साथ राष्ट्रियस्तरको चर्चामा रहने विषय बन्दै आइरहेको छ । कहिले सुरु नहुने, तर जहिले पनि चर्चामा रहने यो विषय यसपटक प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण हुनै लाग्दा पुनः चर्चामा आएका विषय हुन् । यसपटक अर्थमन्त्रीसमेत नुवाकोटकै भएको हुनाले टोखा–छहरे सुरुङमार्गको निर्माणमा महत्वपूर्ण पहल भइहाल्छ कि भन्ने भ्रम नुवाकोटे सबैलाई परेको छ । तर, म भने त्यति आशावादी भएको छैन । नेपाल सरकारले एक अर्ब बजेट विनियोजन गरेर टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने छनक देखाए पनि यो रकम वास्तविक लागतको एक प्रतिशत मात्र हो भन्ने हामी सबैलाई थाहा नभएको होइन । ८० देखि ९० अर्ब लगानी हुने यो सुरुङमार्ग चीन सरकारले अनुदानमा निर्माण गरिदिने हो भने मात्र नेपाललाई फाइदा हुन्छ । यदि यो सुरुङमार्ग चीनको ऋण सहयोगमा निर्माण गर्ने हो भने यो सुरुङमार्ग निर्माणमा पहल नगर्दा नै नेपाल तथा नुवाकोटको हितमा हुन्छ ।

चीन सरकारले नुवाकोट दरबार क्षेत्रका ६ वटा ऐतिहासिक र पुरातात्विक भवन पुनर्निर्माणको जिम्मा लिएको झन्डै आठ वर्ष भइसकेको छ । आजसम्म पुनर्निर्माणको कुनै सुरसार छैन । एक–दुई अर्बको लगानीको हाराहारीमा पुनर्निर्माण सम्पन्न हुने नुवाकोट दरबार क्षेत्रको काममा चीन सरकारले किन ढिलो गर्दै छ भन्ने उत्तर कसैसँग छैन । नेपाल सरकारले बारम्बार ताकेता गर्दासमेत दरबार पुनर्निर्माणमा खासै चासो दिएको देखिँदैन । नेपाल सरकारले चीन र भारतबाहेक अन्य दातृ निकायको सहयोगमा पुनर्निर्माण गर्ने निर्णय गरेको थियो भने आजसम्म नुवाकोट दरबारको पुनर्निर्माण भइसक्ने थियो । यसपटक चर्चामा रहेको टोखा–छहरे सुरुङमार्ग चीनको अनुदान सहयोगमा निर्माण हुने चर्चा पनि पहिले पहिलेको जस्तो चर्चामा मात्र सीमित हुने देखिन्छ । एक–दुई अर्बको लागतमा सम्पन्न हुने नुवाकोट दरबारको पुनर्निर्माणमा यत्तिको ढिलो गर्ने चीन ८०÷९० अर्बको लागत पर्ने सुरुङमार्ग अनुदानमा निर्माण गर्दिने आशामा बस्नु बेकारै हो । प्रधानमन्त्रीको चीन भ्रमणमा टोखा–छहरे सुरुङमार्गको निर्माणमा विशेष जोड दिनुको सट्टा नुवाकोट दरबारको पुनर्निर्माणमा विशेष जोड दिँदा सफलता प्राप्त हुने देखिन्छ ।

टोखा–छहरे सुरुङमार्गले नुवाकोटलाई नयाँ काठमाडौंमा रूपान्तरण मात्र गर्नेछ । थानसिंदेखि गँगटेसम्मका हरिया उब्जाउ हुने फाँट सहरमा बदलिनेछ । नुवाकोट आज जति आत्मनिर्भर छ सुरुङमार्गपछि परनिर्भर सहरमा बदलिनेछ । नुवाकोटलाई सुरुङमार्गले फाइदाभन्दा घाटा धेरै हुनेछ । यसपटकको भ्रमणको प्राथमिकतामा ठुल्ठूला परियोजनाभन्दा स–साना परियोजनामा सहयोग माग्ने हो भने ती निर्माणको चरणमा पुग्न सक्ने देखिन्छ । नुवाकोटमा थोरै चर्चा भएको, तर निर्माणको चरणमा नपुगेको एउटा परियोजनामा चीनको सहयोग प्राप्त हुन सक्दछ । नुवाकोटमा सुरु गरिएको पोष्टबहादुर बोगटी प्राविधिक शिक्षालयमा चीनको सहयोग माग्ने हो भने प्राप्त हुन सक्दछ । प्राविधिक शिक्षालाई आवश्यक पर्ने जमिन नेपाल सरकारले उपलब्ध गराइसकेको छ । प्राविधिक शिक्षालयको आवश्यक पूर्वाधार निर्माणका लागि एक–दुई अर्ब अनुदान रकममा दुई–चारवटा भवन निर्माण गर्न पनि सकिन्छ । सामान्य भवनबाट प्राविधिक शिक्षालय सञ्चालन गर्दै जाँदा भोलिको दिनमा नुवाकोटमा एउटा गतिलो प्राविधिक स्कुल सञ्चालन भई देशलाई आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्न सकिन्छ ।

चीनसँग नेपालले असल मित्रको रूपमा ठुल्ठूला परियोजनामा अनुदान सहयोगको आशा लिएर बसेको देखिन्छ । हिजोको चीनले काठमाडौंको रिङरोड, ट्रली बस, भक्तपुर इँटा कारखानाजस्ता क्षेत्रमा उदारतापूर्वक अनुदान लगानी गरेको देखिन्छ । तर, आजको चीन पुँजीवादी चीन हो । उसले लगानीको प्रत्येक अंशमा प्रतिफलको हिस्सा खोजिरहेको देखिन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चीनको ऋण सहयोगमा निर्माण सम्पन्न त भए । तर, सञ्चालनको सकसमा छ । यी विमानस्थल निर्माणको ऋण कसरी तिर्ने भन्ने समस्या भोलिका दिनमा देखिँदै जानेछ । केरुङ–काठमाडौं रेल पनि यस्तै ठूलो परियोजना हो जसको निर्माण सम्पन्न हुन एक हजार अर्ब हाराहारी लगानी पर्दछ । यी यस्ता ठूला लगानीका परियोजना निर्माण गर्ने र समृद्ध हुने सपनामा नेपालको नेतृत्व वर्ग लाग्नु समय बर्बाद पार्नु र देशलाई अधोगतितिर धकेल्नु हुनेछ ।

यस्ता ठुल्ठूला परियोजनामा नगईकन स–साना परियोजनामा छिमेकी देशको सहयोग लिने नीति राष्ट्रिय हितमा हुन्छ । चीनलाई असल मित्रको रूपमा एक–दुई अर्बमा सम्पन्न हुने स–साना परियोजनामा लगानी गराउन सकिन्छ । यसपटक नुवाकोट जिल्लाका अर्थमन्त्रीले टोखा–छहरे सुरुङमार्ग निर्माणभन्दा नुवाकोट दरबार पुनर्निर्माण र पोष्टबहादुर प्राविधिक शिक्षालयमा चिनियाँ लगानी भित्र्याउन प्रयास गर्नुभयो भने भ्रमण सार्थक भएको देखिन्छ । ठुल्ठूला परियोजनाका चर्चा मात्र हुने, तर काम अगाडि नबढ्ने हो भने मित्रराष्ट्रप्रतिको जनताको नकारात्मक दृष्टिकोण मात्र उत्पन्न हुने गर्दछ । नुवाकोटका अर्थमन्त्री प्रकाशशरण महतले चीनको लगानी टोखा–छहरे सुरुङमार्ग, केरुङ–काठमाडौं रेलमार्गजस्ता ठूला परियोजनाभन्दा जनताको आधारभूत आवश्यकता पूरा गर्ने स–साना परियोजनामा चीनको लगानी भित्र्याउने प्रयास गर्नुभयो भने छोटो समयमा जनतालाई प्रतिफल प्राप्त भएको अनुभूतिसमेत हुनेछ । होइन भने विगतमा जस्तै नुवाकोटे नेताले निर्वाचनमा भाषण गर्ने विषयवस्तु मात्रै हुनेछ ।