निर्माण थालेको आठ वर्षपछि तादी खोलाको पक्की पुल सञ्चालनमा

  • त्रिशूली प्रवाह
  • ४ आश्विन २०८०, बिहीबार ११:५०

विदुर, नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ को तादी खोलामा निर्माण थालेको आठ वर्षपछि मोटरेबल पक्की पुलको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । निर्माण सम्पन्न गरिसक्नुपर्नेभन्दा थप पाँच वर्ष ढिलो गरेर पुल निर्माण सम्पन्न भएको सडक डिभिजन नुवाकोटले जानकारी दिएको छ । विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ तादी–सिन्दुरे मोटरेबल पुल निर्माण सम्पन्न भएपछि अनौपचारिक रूपमा गत असार मसान्तदेखि नै सञ्चालनमा आएको हो । पुलको उद्घाटन हुन भने बाँकी छ ।

ठेक्का लागेर निर्माण सुरु भएपछि खोलाले बाटो परिवर्तन गर्दा निर्माण अन्योल भएको थियो । उक्त पुलको दायाँ–बायाँ, वारि–पारि, तल्लो भाग, माथिल्लो भागमा तटबन्दी निर्माण गरेर खोलाको बहाव नियन्त्रणका लागि थप निर्माणकार्य गर्न २०७७ बाट सुरु भएको थियो । डिभिजन प्रमुख अमृतमणि रिमालका अनुसार पुल निर्माणका क्रममा परिवर्तन गरिएको खोलाको बहाव नियन्त्रणमा लापरबाही भएसँगै पाँच वर्षसम्म अलपत्र भएको पुल अहिले सञ्चालनमा आएको हो । ११ मिटर चौडा रहेको उक्त पुलको लम्बाइ दुई सय ५४ मिटर लामो छ । उनले भने, ‘पुल निर्माणको क्रममा तादी खोलाको बहावले विदुरतर्फ खोलाको बहाव परिवर्तन भएसँगै अहिले बनाएको पुलको दूरी जत्तिकै थप स्पान आवश्यक पर्ने जनाउँदै काम रोकिएको थियो । खोलाको बहाव नियन्त्रण गरेसँगै पाँच वर्षसम्म जुन अवस्थामा रहेको थियो, सोही अवस्थाकै पुललाई अहिले सञ्चालनमा ल्याइएको हो ।’ पुल निर्माणको क्रममा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा औँल्याइएको र सुरुवाती ठेक्काको समयमा गरिएको सम्झौताअनुसार १२ करोड ५९ लाख लगानीमा निर्माण सम्पन्न भएको डिभिजन कार्यालयका इन्जिनियर सुमनराज बस्नेतले जानकारी दिए । उनका अनुसार पुल निर्माणको जिम्मेवारी पाएको शर्मा–वाइबा जेभी कम्पनीलाई अझै दश प्रतिशत रकम भुक्तानी दिन बाँकी छ । तादी र सिन्दुरे खोलाको दोभानमा निर्माण गरिएको उक्त पुलले नुवाकोटको सदरमुकाम विदुरलाई राजधानी काठमाडौंसँग जोड्न सबैभन्दा छोटो दूरी पर्दछ । विदुरबाट पाँच किलोमिटरको दूरीमा रहेको उक्त पुल हुँदै ककनीसम्मको दूरी १८ किलोमिटर पर्दछ । अझै यो पुलबाट सीधा मध्यपहाडी सडकको सेराको जोड्ने हो भने हालको दूरीभन्दा कम हुनेछ । हाल सडक घुमाउरो पाराले क्रसर, कोल्ड स्टोर हुँदै मध्यपहाडी सडकखण्डको गँगटे सेरामा जोडिँदाभन्दा पुलबाट सीधै मध्यपहाडी सडकको सेरामा जोड्दा डेढ किलोमिटर कम हुने इन्जिनियर बस्नेतले बताए । पुलबाट सीधा मध्यपहाडी सडकमा जोडिँदा नयाँ बस्ती विकास हुने र उक्त क्षेत्रको जग्गाको मूल्याङ्कन वृद्धि हुनेछ ।

पुलको लम्बाइ दुई सय ५४ मिटर र डेढ मिटर फुटपाथबाहेक ७.५ मिटरमा मोटर गुड्नेछ । प्रिस्ट्रेस आरसिसी पुलको ६ स्पान रहेको छ । साबिकको पासाङल्हामु राजमार्गअन्तर्गत ककनीबाट बालाजु २२ किलोमिटरको दूरीमा रहेकाले नुवाकोटको सदरमुकामबाट काठमाडौं जोड्न तादी खोलाको अहिले सञ्चालनमा आएको पुल सबैभन्दा बढी उपयोगी हुने ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए । उनका अनुसार पुलबाट सवारीसाधन आउजाउ गर्न थालेसँगै ककनी गाउँपालिका पूरै र बेलकोटगढी नगरका पाँच वडाका बासिन्दालाई अहिले प्रयोग गर्दै आएको पासाङल्हामु राजमार्गको भन्दा आधा दूरी छोटो पर्दछ । उनले भने, ‘ककनीमा उत्पादित कृषि सामग्री जिल्लाको सदरमुकामसम्म पु¥याउँदा काठमाडौं घुमाएर अर्को सडकको प्रयोग गर्नुपर्ने बाध्यता टरेको छ । सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन आवश्यकताअनुसार स्तरोन्नतिमा तीनै तहका सरकारले प्राथमिकता दिएका छाँैै ।’