सुनसान गाउँ : खुम्चिएको दसैँ

  • त्रिशूली प्रवाह
  • १६ कार्तिक २०८०, बिहीबार ११:४३

नेपाली मात्रको महान् चाड दसैँ यस वर्ष बिदा भइसकेको छ । विगत केही वर्षदेखि गाउँघरमा युवाको सङ्ख्या घट्दै जाँदा दसैँको मौलिकपन हराउँदै गएको छ । दसैँ नेपालीको संस्कृति र संस्कारको पर्व हो । यसलाई भुल्दै जानु भनेको हाम्रो पहिचान मेटिँदै जानु हो । दसैँ सुरु भएसँगै विगतदेखि नै सहरबजार रित्तिने र गाउँघर भरिने गर्दथ्यो । दसैँको रौनक गाउँघरमा जति सहरबजारमा हुँदैन । तर, केही वर्षदेखि गाउँघरमा युवाको सङ्ख्या घट्दै जाँदा दसैँको रौनक खुम्चिँदै गएको छ ।

गाउँघरमा दसैँको रमझम सुरु हुनुपर्नेमा युवा बिदेसिएपछि खेतीबारी बाँझै हुँदा दसैँका लागि आवश्यक खाद्य सामग्रीको जोहो सहरबजारबाटै गर्नुपर्ने बाध्यताले औपचारिकतामै दसैँ मनाइने संस्कार स्थापित भइरहेको छ । ‘जोत्ने कोही छैन, खेतबारी जोत्ने कोही छैन, चुल्हो–चम्को, मझेरी लौ पोत्ने कोही छैन’ भन्ने शिशिर योगीको गीतले गाउँघरको यथार्थ वर्णन गरेको छ । दसैँ आएसँगै गाउँका बाटा–घाटा सफा गर्ने, धारा, पँधेरा, चौतारा, मठ–मन्दिर सफा गर्ने सामूहिक अभियान सुरु हुन्थ्यो । अहिले त्यो इतिहासमा सीमित छ । गाउँघरमा बुढाबुढी र भुराभुरी मात्र हुँदा पिङ हाल्ने, बाटो–घाटो सफा गर्ने, घर रंग्याउने प्रचलन हराउँदै गएको छ । विदुर नगरपालिका–७ तुप्चेका ८४ वर्षीय जगतबहादुर सापकोटा भन्दै थिए, ‘पहिला पिङ हाल्न घर–घरमा बाबियो उठाउन आउँथे, सबै मिलेर लठारो बाड्थ्यौँ, अब त आफ्नै छोराछोरी पाहुनाझैँ आउँछन् । कसले हालोस् पिङ ?’ कहीँ–कहीँ देखिने पिङ पनि नाइलन र जुटको डोरीको हुने गरेको छ । त्यसैले बाबियो कसैले खोज्दैन अब । न घर रंग्याउन रातो माटो, कमेरो माटो र कालीमाटी खोज्न निस्कने समूह देखिन्छ । चिउरा कुट्न, तेल पेल्न, मसला पिस्न हिँड्ने लर्को अहिले कहीँ–कतै देखिँदैन ।

चाड सुरु भएसँगै आफू हिँड्ने बाटो आफैँ बनाउने चलन थियो । प्रत्येक घरको एक–एक सदस्य अनिवार्य उपस्थित हुनुपथ्र्यो । तर, अब यी सबै ‘विगत’मा परिणत भए । सबै आफ्नै घरमा सीमित हुन थाले । न पिङको चाचाहुईको आवाज, न त मासु र चिउराकै महत्व । फूलपाती, अष्टमी र नवमीमा गाउँघरका दाजुभाइ, दिदीबहिनी मिलेर गाइने गीत, स्थानीय नाटक आदि पनि एकादेशका कथा भएका छन् । रोटेपिङ, लठारेपिङ, जाँतेपिङ र लिङ्गेपिङको वरिपरि बसेर गाइने झ्याउरे गीत, लङ्गुरबुर्जा खेल्ने समूह मात्र होइन, आमाले काखमा राखेर सुनाउने कथा पनि गाउँबाट हराइसकेको छ । सहर तथा गाउँबाहिर जानेहरू भेला हुने र गाउँको विकासबारे छलफल गर्ने अवसर हुन्थ्यो दसैँमा । तर, आज फेसबुकबाट सरकारले यो गरेन, नेताले त्यो गरेन भन्ने गाली मात्र आउँछ । अहिले बाटो छ । बिजुली छ । झन् नयाँपन छ । त्यसैले जोस, जाँगर हुनुपर्ने हो, तर कोही कसैलाई जाँगर छैन । विजयादशमीको दिन परिवारमध्येको ज्येष्ठ नागरिक भएको घरमा सबैजना गएर आशीर्वाद थाप्ने चलन थियो । आधुनिकताले यो चलन पनि हराउँदै गएको छ ।

रेडियो, टिभीमा समाचार सुन्दा/हेर्दा सहर छाडी गाउँ जानेको ताँती लागेको यसपटक पनि सुनियो–देखियो । तर, गाउँमा आएको त्यो ताँती कता लुक्छ, कुनै पत्तो छैन । गाउँ फर्के पनि मोबाइलमा झुन्डिरहेपछि, घरै नछाडेपछि, लुक्न आएजस्तो गरेपछि पत्तै लागोस् पनि कसरी ? अघिपछि त गाउँ खाली भयो–भयो । तर, चाडपर्वमा घरका सबै सदस्य जम्मा हुँदा, सहरमा भएका युवा गाउँमा पुग्दा पनि गाउँ खाली देखिनु विडम्बना नै भन्नुपर्छ । एक दशकअघिसम्म गाउँघरमा वल्लो गाउँ, पल्लो गाउँ, माथ्लो गाउँ र तल्लो गाउँका बस्ती बाक्लो थियो । सबै घरमा मानिस टन्न हुन्थे । निकै रमाइलो थियो । चाडपर्वमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गथ्र्यो । साथीभाइको ठूलो जमघट हुने गथ्र्यो । दसैँको समयमा नाचगान, नाटक र लिङ्गेपिङसहितका मेला/महोत्सवमा धेरै मानिसको उपस्थिति हुन्थ्यो । त्यसैले पनि यस्ता चाडको प्रतीक्षा दुई–तीन महिनादेखि हुन्थ्यो । कुनै यस्तो चाडपर्व थिएन, जहाँ हर्ष–उमङ्ग नहोस् । गाउँमा मेलापात गर्दा होस् वा गाईबाख्रा चराउन वन जङ्गलमा जाँदा चुत्रो, ऐंसेलु, काफल टिपेर खाँदाका पल कति रमाइला थिए । वर्षायाममा होस् वा हिउँदमा जुनसुकै समयमा पनि गाउँघरमा छुट्टै उल्लास हुने गथ्र्यो, तर आजभोलि ती सबै कुरा इतिहास बनिसकेछन् । सबैले गाउँ बिर्सिए । त्यो बेलाको रमझम र गाउँलेपन सबै हराएछ । यस्तै पारा बढ्दै जाने हो भने थाहा छैन हामी संस्कृति र संस्कारको संरक्षण गर्दै छौँ वा विनाश ?