- राजेन्द्र बस्नेत
धादिङबेँसी, नेपाली मात्रको दोस्रो ठूलो चाड तिहार गत हप्ता सम्पन्न भएको छ । तिहारमा देउसी–भैलोमा मादल, बाँसुरी, मजुरालगायतका बाद्यवादनका सामग्री प्रयोग भएको त देख्नुभएकै होला । तर, धादिङमा भने अनौठो तरिकाले देउसी–भैलो खेलिएको छ । पञ्चेबाजा बजाउँदै देउसी खेल्दै घर–आँगनमा आउँदा जोकोहीलाई अनौठो लाग्नु स्वाभाविक नै हो ।
यो दृश्य कुनै विवाहमा पञ्चेबाजा बजाउँदै जन्ती आएको दृश्य नभएर तिहारको अवसरमा खेलिएको देउसी–भैलो हो । प्रायः विवाहमा देखिने यस्तो दृश्य तिहारको औँसीको साँझ धादिङको गजुरी गाउँपालिका– १ स्थित पृथ्वी राजमार्गअन्तर्गत गजुरीे बजारमा देखियो । धादिङको नेपाली पञ्चेबाजा समूहको आयोजनामा तिहारको अवसरमा पञ्चेबाजा बजाउँदै देउसी–भैलो खेलिएको थियो । रीतिरिवाज, मौलिकता र संस्कृति बचाउन आफूहरूले पञ्चेबाजाको साथमा देउसी–भैलो खेल्न सुरु गरेको सहभागी युवा बुद्धि सुन्दासले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । बाउबाजेदेखि नै परम्परा जोगाउनका लागि देउसी–भैलो खेल्ने गरेको उनले बताए ।
पछिल्लो समय युवा बिदेसिँदा गाउँघरमा देउसी–भैलो खेल्ने परम्परा लोप हुँदै गइरहेको छ । गजुरीका युवाले भने आफूसँग उपलब्ध भएका पञ्चेबाजा नै लिएर भए पनि आफ्नो संस्कृति बचाउने र मनोरञ्जन पनि गर्ने उद्देश्यसहित भैलो खेलेको पाइयो । तिहारलाई नेपाली संस्कृति, परम्परा झल्काउने पर्वका रूपमा लिइन्छ । भैलो खेल्नेले सम्बन्धित घर र घरधनीको गुणगान गाउँदै, आफूहरू आउनुको ऐतिहासिक कारण खोल्ने परम्परा छ । घरधनीले पनि रोटीलगायतका खानेकुराका साथै गच्छेअनुसार दान, दक्षिणा दिएर बिदाइ गर्ने प्रचलन रहेको छ । देउसी–भैलो नेपालका हरेक क्षेत्रमा आ–आफ्नै ढङ्ग र परम्पराअनुसार खेलिने गरिन्छ । विगतमा भन्दा पछिल्लो समय आधुनिकताले गर्दा देउसी–भैलोको मौलिकता हराउँदै जान थालेको धादिङ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ध्रुवबहादुर थापाले बताए । आगामी दिनमा हाम्रो मौलिक देउसी–भैलो जोगाउनै मुस्किल पर्नेसमेत उनले चिन्ता गरेका छन् ।