विदुर, नुवाकोटको सदरमुकाममा रहेको विदुर नगरपालिका क्षेत्रमा खानेपानी वितरण गर्न विदुर खानेपानी तथा उपभोक्ता संस्थालाई हरेक वर्ष बाढीपहिरोले समस्या पर्ने गरेको छ । हरेक वर्ष संस्थालाई बर्खा लागेपछि खानेपानी वितरण गर्न समस्या पर्ने गरेको छ ।
यस वर्ष पनि गत साउन २७ र २८ गतेको अविरल वर्षासँगै आएको बाढीले उपभोक्ता संस्थाले पानी ल्याएको फलाखु खोलामा रहेको मुहान बगाएको थियो । उक्त मुहान मर्मतको काम नसक्दै भदौ २३ गते गएको सुक्खा पहिरोले मुहान क्षेत्र पुरिएको थियो । उक्त पहिरो पन्छाउन तत्काल नसक्ने अवस्था आएपछि संस्थाले सरोकारवालासँग हारगुहार गरेर विद्युत् लाइन मुहानसँग पु¥याएर मोटर पम्प जडान गरी पानी तानेर दसैँअगाडि सञ्चालन गरेको थियो । यस वर्ष मुहानदेखि विदुरका उपभोक्ताको घरसम्म पानी पु¥याउने संस्थाले ४९ लाख ८७ हजार नौ सय ६ रुपैयाँ खर्च भएको शनिबार सार्वजनिक भएको छ । विदुर नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६, ८ र ९ का उपभोक्ताले उपभोग गरिरहेका पानीको मुहान मर्मत गर्न संस्थालाई आ.व. ०७९/८० मा डिभिजन खानेपानी तथा सरसफाइ फिल्ड कार्यालय नुवाकोटबाट प्राप्त बजेटले बेलकोटगढी नगरपालिका–९ नलगाउँ रिजर्भवायर ट्याङ्कीमा ग्याबिन वाल, मेसिनरी वाल, कम्पाउन्ड वाल, गेट, खानेपानी पाइपलाइन विस्तारलगायतको कार्य गरिएको जानकारी अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले जानकारी दिए ।
गत आ.व. मा संस्थालाई पानीको मुहान मर्मत र सुधार गर्न सङ्घीय सरकारबाट ४७ लाख चार हजार तीन सय ६० र बागमती प्रदेश सरकारबाट आठ लाख १५ हजार आठ सय ५२ रकम प्राप्त भएको थियो । उक्त रकमले संस्थाले विदुर नगरपालिका–१० बेत्रावतीमा ग्याबिनवाल र सातबिसे खोलामा फलामे पुल, विदुर नगरपालिका–१ रिमालडाँडामा मेसिनरी वाल, ह्युमपाइप जडान, विदुर नगरपालिका–१ बान्द्रेमा पाइप जडान, सुरक्षा बार, विदुर नगरपालिका–२ बाराहीमार्गमा ह्युमपाइप जडान गर्नेलगायत संस्थामा आवश्यक सामान खरिद गरिएको खर्चको विवरण अध्यक्ष श्रेष्ठले शनिबार सार्वजनिक गरे । संस्थाले शनिबार बागमती प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामासहित जिल्लाबाट सरोकारवाला निकायका प्रमुख प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीसहित विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटी, वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्जित, वडा नम्बर ४ का अध्यक्ष नीलमबाबु ढुङ्गेल, वडा नम्बर १० का अध्यक्ष गणेश नेपाल, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायत उपभोक्तासमेत सहभागी टोलीले मुहानको निरीक्षण गरेर सभामा परिणत भएको थियो । संस्थाले नगरपालिकाका सात वडाका चार हनार पाँच सय घरधुरी एवम् २५ हजार व्यक्तिलाई खानेपानी सेवा दिइरहेको छ ।
गत साउन र भदौको बाढी र पहिरोले क्षति पु¥याएपछि पानी सञ्चालनका लागि झन्डै ५० लाख खर्च भइसकेको संस्थाले जनाएको छ । खानेपानी मुहानलाई स्थायी रूपमा सञ्चालनका लागि अझै ४५ लाख खर्च हुने इस्टिमेट भएका संस्थाले जनाएको छ । कार्यक्रममा अध्यक्ष श्रेष्ठले खानेपानी महसुल ६० प्रतिशत मात्र असुल गर्न सकेको जानकारी दिए । अध्यक्षका अनुसार गत आ.व. मा संस्थाले मङ्सिरमा शुल्कबापत एक करोड ९४ लाख ६२ हजार सात सय ८० असुली गरेकोमा उक्त रकममध्ये कर्मचारी तलब–भत्तामा ८९ लाख ५२ हजार पाँच सय ५५ खर्च भएको र मर्मतमा ७० लाख ८४ हजार १४ रुपैयाँ खर्च भएको छ । तेस्रो साना सहरी आयोजनाको ऋण दुई करोडको वार्षिक साँवा र ब्याजसहितको किस्ताबापत एक करोड रकम नगर विकास कोषलाई भुक्तानी गरिएको सचिव राजेन्द्रप्रसाद पाण्डेले सो सभामा जानकारी गराए ।