महाकालीको झुलाघाट-मेचीको चिवा भञ्ज्याङसम्म एमालेको समृद्धि यात्रा सुरू

तीन वर्षअगावै चुनावको झल्को

  • त्रिशूली प्रवाह
  • १४ मंसिर २०८०, बिहीबार १३:५५

आम चुनाव आउन अझै तीन वर्ष बाँकी नै छ । तर, नेकपा एमाले चुनावकै तयारीको झल्को दिने गरी देश दौडाहामा होमिँदै छ । बाहिर जे तर्क दिए पनि आन्तरिक रूपमा मिसन २०८४ को सुरुवात भएको एमालेका नेता–कार्यकर्ताले बुझ्ने गरेका छन् ।

कुनै वेला एमालेको पहाडी क्षेत्रमा राम्रो सङ्गठन थियो । तर, बिस्तारै त्यो खुम्चिँदै गएपछि अहिले आएर त्यसलाई परिपूर्ति गर्नका लागि एमालेले यो अभियान सुरु गरेको बताइएको छ । विशेषगरी कुनै बेला तराईमा कमजोर अवस्था रहेको एमालेले मेची–महाकाली अभियान सुरु गरेर आफ्नो साख विस्तार गरेको थियो । यस क्रममा सप्तरीमा गोली चल्दा पाँचको ज्यानसमेत गएको थियो । सत्ता सञ्चालनको शैलीका कारण र पार्टीभित्र अध्यक्ष ओलीको हुकुमी शैलीका कारण मेची–महाकाली अभियान जति प्रभावकारी हुनुपर्ने हो त्यति नहुने बताइएको छ । सो पार्टीले यसपटक स्थानीय मिडियालाई नै परिचालन गर्ने भएको छ । उपाध्यक्ष विष्णु रिमालले स्थानीय मिडिया नै परिचालन गर्ने जानकारी दिए । जब कि मेची–महाकाली अभियानमा केन्द्रीय मिडिया परिचालन गरिएको थियो । एमालेले सुदूरपश्चिमको झुलाघाट, बैतडीदेखि पूर्वको चिवा भञ्ज्याङ, पाँचथरसम्म झन्डै एक हजार नौ सय किलोमिटर सडकमा शीर्ष तहका नेतालाई यात्रा गराउने भएको छ । एमालेले यस यात्रालाई ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको छ । यात्रा कार्यक्रम मङ्सिर १४ गतेबाट सुरु भएर २१ गते समापन हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । यो यात्रामा पूरै गाडीको ताँती लाग्ने बताइएको छ । यात्राको शुभारम्भ बैतडीको झुलाघाट पुलबाट अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलनबाट गर्नेछन् । ‘अध्यक्षलाई सीधै उहीँ पुग्ने व्यवस्था पनि मिलाइएको छ, गाडीमै स्पट–स्पटमा राखिएको कार्यक्रममा उहाँले सम्बोधन गर्नुहुन्छ,’ ज्ञवालीले भने, ‘सङ्गठनलाई थप बलियो बनाउन, राष्ट्रिय एकताको सन्देश दिन यो अभियान गरिएको हो ।’

तय गरिएको कार्यक्रम मध्यपहाडी लोकमार्गमा पर्छ, जससँग नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको नाम पनि जोडिएको छ । तर, यो अभियान पुष्पलालको जन्मस्थान भँगेरीमा भने नपुग्ने बताइएको छ । गौतम भन्छन्, ‘अभियानको उद्देश्य बहुआयामिक छ । यसबाट एमालेको विचारको प्रचार पनि हुन्छ ।’ अभियान टोली जहाँ पुग्छ, सोही जिल्ला र पालिका कमिटीले व्यवस्थापनको जिम्मेवारी लिएको ज्ञवालीको भनाइ छ । झुलाघाटदेखि चिवा भञ्ज्याङ पुग्ने टोली डेढ सयभन्दा बढीको नहुने उपाध्यक्ष ज्ञवालीले बताए । पार्टी अध्यक्ष र केही पदाधिकारी अभियानमा जोडिनेछन् । ‘जहाँ कार्यक्रम छ, त्यहीँको कमिटी खट्छ, यो सोही भूगोललाई क्रियाशील गर्ने कार्यक्रम हो ।’ सो पार्टीले बताएको छ । जनतासँग पार्टीका नेतालाई प्रत्यक्ष रूपमा जोड्ने कार्यक्रमअन्तर्गत अहिले यो अभियान बनाइएको नेताहरूले दाबी गरेका छन् । ‘जनतालाई आफ्ना कुरा सुनाउनैपर्छ,’ ज्ञवाली भन्छन्, ‘राजमार्गकेन्द्रित कार्यक्रम भएकाले आधुनिक सहर र तीव्र बसाइँसराइ भइरहेको पहाडी बस्तीको अवस्था बुझ्ने कार्यक्रम पनि हो यो । एमालेले त्यस क्षेत्रको थप विकासमा साथ दिन्छ भन्ने सन्देश दिएर कार्यकर्ता परिचालन हुन्छन् भन्ने विश्वास छ ।’ यसअघि राखिएका कार्यक्रम सो क्षेत्रमा नपरेकाले अहिले पहिलो प्राथमिकता दिइएको उनको भनाइ छ । यसअघि एमालेलगायतका दलले मेची–महाकाली अभियान प्रायः तराईको महेन्द्र (पूर्व–पश्चिम) राजमार्गमा गरेका थिए । त्यस हिसाबले एमालेले यसपालि नयाँ रूटमा यात्रा गर्न लागेको हो । पहिलेको सङ्गठन खस्केकोले त्यसलाई पुनर्जीवित गर्नका लागि यो कार्यक्रम तय भएको बताएको छ । तर, एमाले नेताहरूले यसपटक जनता र सर्वसाधारण धेरैको प्रश्नको कठघरामा उभिएर जवाफ दिनुपर्ने बताइएको छ । पार्टीका कार्यकर्ताले पार्टी विभाजनको कारण, सङ्गठनमा व्यक्तिवादी शैली, अध्यक्षको देवत्वकरणका साथै देशमा दल र नेताहरूप्रति बढेको वितृष्णाको कारण खोज्नेछन् । उनीहरूले पार्टीभित्र विधि र पद्धतिको विषयमा पनि प्रश्न उठाउने स्रोतले बतायो ।

पिछडिएको क्षेत्र सुदूरपश्चिमबाट कार्यक्रम उद्घाटन गर्ने र पूरै देश जोड्ने भएकाले यो अर्थपूर्ण रहेको एमाले नेताहरूको दाबी छ । ‘दिनमा एक–दुईवटा आमसभाको कार्यक्रम राखिएको होला, नत्र छोटा कार्यक्रम मात्र हुन्छन्,’ उपाध्यक्ष ज्ञवालीले थपे, ‘औसतमा दैनिक डेढ सय किलोमिटर यात्रा हुन्छ । त्यसमा हिँड्ने कार्यक्रम खासै हुँदैन ।’ एउटा जिल्लाको कार्यक्रममा १० हजारभन्दा बढी सहभागी हुने नेताहरूको भनाइ छ । अभियानका क्रममा क्याम्पस तथा विद्यालयका विद्यार्थीसँग छलफल, किसान र कृषि वैज्ञानिकहरूसँग संवाद पनि राखिएको छ । पहाड जैविक विविधता, कृषि, पशुपालन र जलस्रोत अनि सांस्कृतिक विविधताका दृष्टिले अत्यन्तै महत्वपूर्ण भए पनि यस भूभागबाट बसाइँसराइ गर्ने जुन विरोधाभास छ, त्यसको वास्तविकता बोध गर्ने लक्ष्य पनि राखिएको छ । यात्राका क्रममा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थालाई विशेष ख्याल गरिएको छ । उनको साथमा श्रीमती राधिका हुनेछिन् । त्यसबाहेक सुरक्षाकर्मीको टिमसँगै स्वास्थ्यकर्मीको समूह पनि सँगै हुनेछ । ज्ञवाली भन्छन्, ‘यात्रामा सहभागीलाई स्वास्थ्यमा कुनै समस्या परिहालेको अवस्थामा तत्काल औषधोपचार गर्न स्वास्थ्य टोली खटाइनेछ ।’ अभियानमा सहभागी हुन नेताहरू जिल्ला पुग्न थालिसकेका छन् । जिल्ला कमिटीदेखि पालिका कमिटी, वडा कमिटी, जनवर्गीय सङ्गठन कार्यक्रममा जनताको सहभागिता जुटाउन खटिएका छन् । यात्रा गर्दा बाटोमा पर्ने पार्टीका जिल्ला कमिटीले मातहत कमिटीका पदाधिकारी, सदस्यलाई उपस्थितिको सार्वजनिक सूचना गर्न थालेका छन् ।

यात्राको व्यवस्थापन पक्ष मिलाउन विषयगत समिति गठन गरिएको छ । झुलाघाटमा महाकाली नदीको पुलपारि भारत र वारि नेपाल पर्छ । अहिलेसम्म तय भएको कार्यक्रममा कुनै फेरबदल नभए आज १४ गते बुधबार बिहान ८ बजे ओलीले अभियान थालेको घोषणा गर्नेछन् । त्रिपुरासुन्दरी मन्दिरको दर्शन गरेर ओलीले सहिद दशरथ चन्दको सालिकमा माल्यार्पण गर्नेछन् । बिहान ११ बजे सदरमुकाम गोठलापानीमा राखिएको आमसभालाई सम्बोधन गर्नेछन् । अनि फेरि यात्रा अघि बढ्नेछ । साँझ खोड्पेमा बझाङका नेता–कार्यकतासँगको भेटघाट तय गरिएको छ । मध्यपहाडी लोकमार्गको सुरुवात भएकाले बैतडी रोजिएको एमाले नेताहरूको दाबी छ । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको हो । पुष्पलाल श्रेष्ठलगायत नेताले पार्टी स्थापना गरेको ७५ वर्ष पुगेको अवसर पारेर एमालेले हीरक वर्षका रूपमा मनाउन लागेको बताएको छ । पुष्पलालकै नाममा निर्माणाधीन लोकमार्गमा एमालेले कार्यक्रम राखेको छ ।