एमाले बागमती प्रदेशले तोक्यो जिम्मेवारी, नुवाकोटमा भने असन्तृष्टि

  • त्रिशूली प्रवाह
  • २१ मंसिर २०८०, बिहीबार ११:३९

विदुर, नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बागमती प्रदेश कमिटीको संवैधानिक सङ्घीय संरचनाको व्यवस्थाअनुरूप गत ०८० असोज ८ र १२ गते काठमाडौंमा पहिलो प्रदेश अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनबाट नवनिर्वाचित प्रदेश कमिटीको हालै सम्पन्न पदाधिकारीको प्रथम पूर्ण बैठकले बागमती प्रदेश कमिटीले नुवाकोट, धादिङ र रसुवा जिल्लालगायत सम्पूर्ण नवनिर्वाचित सदस्य तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । जिम्मेवारी तोकेपछि नुवाकोटबाट प्रदेश कमिटीमा निर्वाचित एमालेका नेताहरूले भने असन्तुष्टि व्यक्त गरेका छन् ।

नयाँ व्यवस्थाअनुसार ठूलो आकारको भद्दा चलायमान हुन नसक्ने सङ्गठनभन्दा चुस्त–दुरुस्त सिर्जनशील कामकाजी ६ वर्षअघिकै अवस्थामा फर्काउन सक्ने नेतृत्व निर्माण भएको प्रदेश नेतृत्वले दाबी गरेको छ । बागमती प्रदेशको गत नेतृत्वकालमा संसदीय र स्थानीय निर्वाचनमा नराम्ररी पछारिएको एमालेलाई पुरानै अवस्थामा फर्काउन अहिलेको नेतृत्वले प्रदेश तहको साङ्गठनिक अवस्थालाई वैचारिक रूपले सुदृढ गरी विगतको हारको समीक्षा गरी एमालेलाई बागमतीमा नयाँ उचाइमा पु¥याउने बताएको छ । जिम्मेवारी विभाजनका कारण जिल्ला–जिल्लामा समस्या उत्पन्न भएको जिम्मेवारी पाएका नेताले नै बताउन थालेका छन् । बागमती प्रदेशमा अहिले साबिक चार सय ५३ बाट घटेर दुई सय ४० मात्र सदस्य रहने व्यवस्था भएकाले विगतका दुई सय १३ जना प्रदेश सदस्य बाहिरिएका छन् । हिजो पनि तोकिएका जिम्मेवारी खासै पूरा गर्न नसकेको र जम्बो टोली परिचालन र व्यवस्थापनमा नेतृत्वमै समस्या देखिएको थियो भने कतिपय सदस्यलाई आफ्नो जिम्मेवारीको अनुभूतिसमेत थिएन । गत कार्यकालमा नेता–कार्यकर्ता व्यवस्थापन गर्ने नाममा योग्यता, क्षमता, इतिहास, योगदान, नीति, सिद्धान्त र वर्गपक्षधरता आदिको ख्यालै नगरी, आफ्ना मान्छे मिलाउने नाममा ३४ जनाभन्दा बढी नुवाकोट जिल्लाबाट प्रदेश कमिटीमा प्रतिनिधित्व गराएको थियो । केही अपवादबाहेक ती सदस्यले के काम गरे थाहा पाउन नसकिएको नुवाकोटका एक जिल्ला सचिवालयका सदस्यले बताएका छन् ।

विगतमा अधिकांशको भूमिका भनेको काठमाडौंमै नेताहरूको वरिपरि परिक्रमा गर्ने, पार्टी काममा माखो नमार्ने, तर गलत रिपोर्टिङ गर्ने र कार्यक्रममा फूलमाला पहिरिनेमै सीमित थियो । प्रदेशको प्रथम अधिवेशनबाट विभिन्न क्लस्टर र प्रतिनिधित्वको आधारमा नुवाकोट जिल्लाबाट अहिले १५ जनाले प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् भने रसुवा जिल्लाबाट सातजना र धादिङबाट १७ जनाले प्रतिनिधित्व गरिरहेका छन् । प्रदेश कमिटीको बैठकले तोकिएका जिम्मेवारीबारे पनि विगतमा कामको मूल्याङ्कन नभएको, सिनियारिटीलाई ख्याल नगरेको, भूगोलमा पाइला नटेक्ने र विगतमा एउटा बैठकसमेत आयोजना गर्न नसक्नेलाई नै भूगोल जिम्मा लगाइएको स्थानीय तह, सङ्घ र प्रदेश निर्वाचन क्षेत्रको जिम्मेवारी हचुवाका भरमा गरिएकाजस्ता टिप्पणी बाहिर आएका छन् । नुवाकोट एमालेले आयोजना गरेको एउटा जिल्लास्तरीय कार्यक्रममा एकजना पदाधिकारीले त प्रदेशले गरेको जिम्मेवारी त्रुटिपूर्ण रहेको र तोकिएका व्यक्ति सम्बन्धित क्षेत्र र भूगोलमा योगदान दिन नसक्ने र पार्टीलाई एकमना ढङ्गले अगाडि बढ्न सहज नहुनेसमेत बताएपछि प्रदेशको निर्णयको असन्तुष्टि बाहिर आएको हो ।

नुवाकोटबाट प्रदेश कमिटीमा निर्वाचित भएका प्रदेश कमिटीका सदस्यले भूगोलमा काम गर्ने जिम्मेवारी पाएका छन् । जिम्मेवारी पाउने भाग्यमानी नेतामा कृष्णप्रसाद लामिछाने (के.पी.) इन्चार्ज दुप्चेश्वरी र तादी गाउँपालिका, अजितमान तामाङ इन्चार्ज बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिका, कल्पना नेपाली सहइन्चार्ज उत्पीडित जातीय मुक्ति समाज, काशीराज अधिकारी इन्चार्ज प्रदेश निर्वाचन क्षेत्र नं. १ को प्रदेश १, गणेशकुमार श्रेष्ठ इन्चार्ज सङ्घीय निर्वाचन क्षेत्र नं. २, गीताकुमारी दाहाल सहइन्चार्ज विदुर नगरपालिका, निर्मला अधिकारी (खड्का) इन्चार्ज लिखु गाउँपालिका, पूर्णलाल श्रेष्ठ इन्चार्ज प्रदेश निर्वाचन क्षेत्र नं. १ को प्रदेश २, प्रह्लाद प्याकुरेल इनर्ज विदुर नगरपालिका र सूर्यगढी गाउँपालिका, बलराम आचार्य इन्चार्ज सङ्घीय निर्वाचन क्षेत्र नं. १, बिन्दा नेपाल इन्चार्ज प्रदेश निर्वाचन क्षेत्र नं. २ प्रदेश १, विष्णुप्रसाद लोहनी इन्चार्ज प्रदेश निर्वाचन क्षेत्र नं. २ प्रदेश २, श्रीमाया लामा (तामाङ) इन्चार्ज म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिका, सञ्जु पण्डित इन्चार्ज तारकेश्वर गाउँपालिका, सरस्वती थापा (खड्का) इन्चार्ज पञ्चकन्या र शिवपुरी गाउँपालिका रहेका छन् ।