+
Search

ताजा अपडेट +

पपुलर +

चर्चामा मध्यपहाडी लोकमार्ग

चर्चामा मध्यपहाडी लोकमार्ग
त्रिशूली प्रवाह
२ साल अगाडी

मध्यपहाडी क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत बुझ्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची–महाकाली सङ्कल्प यात्रा समापन गरेर आइतबार पत्रकार सम्मेलन गरेर निर्माणको अवस्था सार्वजनिक गरेको छ । एमालेको उक्त यात्रापछि मध्यपहाडी लोकमार्गको चर्चा चुलिएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची–महाकाली सङ्कल्प यात्रा मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएर पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त भएको थियो । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व टोलीलाई मध्यपहाडी लोकमार्ग हुँदै बनिरहेको सडकको करिब एक हजार आठ सय किलोमिटरको यात्रा सम्पन्न गर्न १८ दिन लागेको थियो । सङ्कल्प यात्राको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओली हेलिकोप्टर चढेर चिवाभञ्ज्याङ पुगेका थिए । यात्राको १८औँ दिन पाँचथर सदरमुकाम फिदिमदेखि च्याङथापु हुँदै एक सय किलोमिटर सडक यात्रा गर्दै चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम थियो । तर, गाडीबाट छिचोल्न नसकिएपछि अध्यक्ष ओलीलगायत वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिवसहितका नेताले हेलिकोप्टर प्रयोग गरेका थिए । मध्यपहाडी लोकमार्गकेन्द्रित सङ्कल्प अभियानको खास अभीष्ट के हो ? भन्ने कुरा एमालेले आइतबार पत्रकार भेटघाट गरेर खुलाएको छ । देशको अर्थतन्त्रको एउटा मेरुदण्ड रहेको, एउटा आर्थिक केन्द्रको रूपमा रहेको मध्यपहाडी भेग, ठूलो जनसङ्ख्या रहेको मध्यपहाडी भेगको उपेक्षा हुनु देशको भविष्य अप्ठ्यारोमा पर्नु हो भन्ने एमालेको निष्कर्ष रहेको छ ।

Suzuki New Bike & Scooter

गणतन्त्रको स्तम्भका रूपमा विश्वलाई नै देखाउन लायक भौतिक पूर्वाधार निर्माण गर्ने भन्दै ०६५ सालमा थालनी गरिएको मध्यपहाडी लोकमार्ग अझै पनि अधुरो रहेछ भन्ने सन्देश नेताहरूको हेलिकोप्टर यात्राले दिएको छ । सङ्कल्प यात्रापछि एमालेका नेता प्रदीप ज्ञवालीले भने, ‘लोकमार्ग भनिए पनि लोकमार्गजस्तो भएको रहनेछ, लोकमार्ग यति लामो दूरीको हुँदैन ।’ मध्यपहाडी लोकमार्गको निर्माण थालनी हुनुमा नेकपा एमालेको महत्वपूर्ण योगदान रहेको छ भन्ने कुरो साँचो हो । मध्यपहाडी लोकमार्ग निर्माणको थालनी गरिएयताको १५ वर्षको अवधिमा नेकपा एमालेले पाँचपटक सरकारको नेतृत्व गरेको छ । ०६६ देखि ०६९ सम्म करिब साँढे दुई वर्षसम्म माधवकुमार नेपाल र झलनाथ खनालले सरकारको नेतृत्व गरे । ०७२/७३ मा नौ महिना र ०७४/०७८ मा साढे ३ वर्ष गरी करिब पाँच वर्ष केपी शर्मा ओलीले नेतृत्व गरे । यो १५ वर्षको अवधिमध्ये पुग–नपुग आधा समय एमालेले सरकारको नेतृत्व ग¥यो । त्यसबाहेकको आठ वर्ष पनि केही अपवादबाहेक अधिकांश एमाले सरकारमा सहभागी छ । त्यति मात्रै होइन, मध्यपहाडी लोकमार्गसँग जोडिएका धेरैजसो जिल्लामा नेकपा एमालेले अधिकांश चुनाव जित्दै आएको छ । निर्माण थालिएको १५ वर्ष बितिसकेको छ । यो मार्गमा करिब एक खर्ब रुपैयाँ खर्च भइसकेको छ । तर, गाडी चढेर यो लोकमार्ग छिचोल्न नेकपा एमालेलाई १८ दिन लाग्यो । त्यतिले पनि नपुगेर हेलिकोप्टर प्रयोग गर्नुप¥यो । देशको ढुकुटी, साधन–स्रोत तथा समयको कतिसम्म दुरुपयोग भएको रहेछ ? भन्ने उदाहरण योभन्दा अर्को के हुन सक्ला ?

आज भन्दा ६० वर्षअघि नै तराईमा पूर्व–पश्चिम राजमार्गको निर्माण गरेर राजा महेन्द्रले इतिहासमा आफ्नो नाम दर्ज गरिसकेका छन् । राजनीतिक रूपमा राजा महेन्द्र जतिसुकै निरङ्कुश भए पनि उनी राष्ट्रवादी र विकासप्रेमी थिए भन्ने उदाहरण यही पूर्व–पश्चिम राजमार्गले दिएको छ । गणतन्त्र स्थापनापछि यस्तै कालजयी भौतिक संरचना निर्माण थालिनु अपरिहार्य थियो । मध्यपहाडी लोकमार्गका रूपमा त्यो कामको थालनी भयो । मध्यपहाडी लोकमार्गको सपना ठीक हो, नेपालको सन्तुलित विकासका लागि अपरिहार्य हो भन्ने कुरामा कुनै विमति छैन । तर, जुन ढङ्गले रेखाङ्कन गरियो, त्यहाँनिर ठूलो बेइमानी भएको छ । नेपालको पूर्व–पश्चिम लम्बाइ जम्मा आठ सय किलोमिटर छ । तर, पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग एक हजार आठ सय किलोमिटर लम्बाइको हुने गरी रेखाङ्कन गरियो । त्यसैले निर्माण सम्पन्न भइहालेछ भने पनि यो सडक सहायक मार्ग हुनेछ, लोकमार्गका रूपमा प्रयोग हुने सम्भावना नै छैन । लोकमार्गका रूपमा प्रयोगमा ल्याउने हो भने कम्तीमा पनि एकतिहाइ लम्बाइ घटाउनुपर्छ । एक हजार आठ सय किलोमिटरबाट एक हजार दुई सय किलोमिटरमा झार्न सकिएन भने यो सडक लोकमार्गका रूपमा प्रयोगमा आउन सक्दैन । एक हजार दुई सय किलोमिटरमा झार्न सकिने भौगोलिक सम्भावना छ । यसका लागि नीति निर्माण तहमा बस्नेहरू इमानदार बन्नैपर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह