चर्चामा मध्यपहाडी लोकमार्ग

  • त्रिशूली प्रवाह
  • १२ पुष २०८०, बिहीबार १२:४५

मध्यपहाडी क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत बुझ्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची–महाकाली सङ्कल्प यात्रा समापन गरेर आइतबार पत्रकार सम्मेलन गरेर निर्माणको अवस्था सार्वजनिक गरेको छ । एमालेको उक्त यात्रापछि मध्यपहाडी लोकमार्गको चर्चा चुलिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मेची–महाकाली सङ्कल्प यात्रा मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएर पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त भएको थियो । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व टोलीलाई मध्यपहाडी लोकमार्ग हुँदै बनिरहेको सडकको करिब एक हजार आठ सय किलोमिटरको यात्रा सम्पन्न गर्न १८ दिन लागेको थियो । सङ्कल्प यात्राको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओली हेलिकोप्टर चढेर चिवाभञ्ज्याङ पुगेका थिए । यात्राको १८औँ दिन पाँचथर सदरमुकाम फिदिमदेखि च्याङथापु हुँदै एक सय किलोमिटर सडक यात्रा गर्दै चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम थियो । तर, गाडीबाट छिचोल्न नसकिएपछि अध्यक्ष ओलीलगायत वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिवसहितका नेताले हेलिकोप्टर प्रयोग गरेका थिए । मध्यपहाडी लोकमार्गकेन्द्रित सङ्कल्प अभियानको खास अभीष्ट के हो ? भन्ने कुरा एमालेले आइतबार पत्रकार भेटघाट गरेर खुलाएको छ । देशको अर्थतन्त्रको एउटा मेरुदण्ड रहेको, एउटा आर्थिक केन्द्रको रूपमा रहेको मध्यपहाडी भेग, ठूलो जनसङ्ख्या रहेको मध्यपहाडी भेगको उपेक्षा हुनु देशको भविष्य अप्ठ्यारोमा पर्नु हो भन्ने एमालेको निष्कर्ष रहेको छ ।

गणतन्त्रको स्तम्भका रूपमा विश्वलाई नै देखाउन लायक भौतिक पूर्वाधार निर्माण गर्ने भन्दै ०६५ सालमा थालनी गरिएको मध्यपहाडी लोकमार्ग अझै पनि अधुरो रहेछ भन्ने सन्देश नेताहरूको हेलिकोप्टर यात्राले दिएको छ । सङ्कल्प यात्रापछि एमालेका नेता प्रदीप ज्ञवालीले भने, ‘लोकमार्ग भनिए पनि लोकमार्गजस्तो भएको रहनेछ, लोकमार्ग यति लामो दूरीको हुँदैन ।’ मध्यपहाडी लोकमार्गको निर्माण थालनी हुनुमा नेकपा एमालेको महत्वपूर्ण योगदान रहेको छ भन्ने कुरो साँचो हो । मध्यपहाडी लोकमार्ग निर्माणको थालनी गरिएयताको १५ वर्षको अवधिमा नेकपा एमालेले पाँचपटक सरकारको नेतृत्व गरेको छ । ०६६ देखि ०६९ सम्म करिब साँढे दुई वर्षसम्म माधवकुमार नेपाल र झलनाथ खनालले सरकारको नेतृत्व गरे । ०७२/७३ मा नौ महिना र ०७४/०७८ मा साढे ३ वर्ष गरी करिब पाँच वर्ष केपी शर्मा ओलीले नेतृत्व गरे । यो १५ वर्षको अवधिमध्ये पुग–नपुग आधा समय एमालेले सरकारको नेतृत्व ग¥यो । त्यसबाहेकको आठ वर्ष पनि केही अपवादबाहेक अधिकांश एमाले सरकारमा सहभागी छ । त्यति मात्रै होइन, मध्यपहाडी लोकमार्गसँग जोडिएका धेरैजसो जिल्लामा नेकपा एमालेले अधिकांश चुनाव जित्दै आएको छ । निर्माण थालिएको १५ वर्ष बितिसकेको छ । यो मार्गमा करिब एक खर्ब रुपैयाँ खर्च भइसकेको छ । तर, गाडी चढेर यो लोकमार्ग छिचोल्न नेकपा एमालेलाई १८ दिन लाग्यो । त्यतिले पनि नपुगेर हेलिकोप्टर प्रयोग गर्नुप¥यो । देशको ढुकुटी, साधन–स्रोत तथा समयको कतिसम्म दुरुपयोग भएको रहेछ ? भन्ने उदाहरण योभन्दा अर्को के हुन सक्ला ?

आज भन्दा ६० वर्षअघि नै तराईमा पूर्व–पश्चिम राजमार्गको निर्माण गरेर राजा महेन्द्रले इतिहासमा आफ्नो नाम दर्ज गरिसकेका छन् । राजनीतिक रूपमा राजा महेन्द्र जतिसुकै निरङ्कुश भए पनि उनी राष्ट्रवादी र विकासप्रेमी थिए भन्ने उदाहरण यही पूर्व–पश्चिम राजमार्गले दिएको छ । गणतन्त्र स्थापनापछि यस्तै कालजयी भौतिक संरचना निर्माण थालिनु अपरिहार्य थियो । मध्यपहाडी लोकमार्गका रूपमा त्यो कामको थालनी भयो । मध्यपहाडी लोकमार्गको सपना ठीक हो, नेपालको सन्तुलित विकासका लागि अपरिहार्य हो भन्ने कुरामा कुनै विमति छैन । तर, जुन ढङ्गले रेखाङ्कन गरियो, त्यहाँनिर ठूलो बेइमानी भएको छ । नेपालको पूर्व–पश्चिम लम्बाइ जम्मा आठ सय किलोमिटर छ । तर, पूर्व–पश्चिम मध्यपहाडी लोकमार्ग एक हजार आठ सय किलोमिटर लम्बाइको हुने गरी रेखाङ्कन गरियो । त्यसैले निर्माण सम्पन्न भइहालेछ भने पनि यो सडक सहायक मार्ग हुनेछ, लोकमार्गका रूपमा प्रयोग हुने सम्भावना नै छैन । लोकमार्गका रूपमा प्रयोगमा ल्याउने हो भने कम्तीमा पनि एकतिहाइ लम्बाइ घटाउनुपर्छ । एक हजार आठ सय किलोमिटरबाट एक हजार दुई सय किलोमिटरमा झार्न सकिएन भने यो सडक लोकमार्गका रूपमा प्रयोगमा आउन सक्दैन । एक हजार दुई सय किलोमिटरमा झार्न सकिने भौगोलिक सम्भावना छ । यसका लागि नीति निर्माण तहमा बस्नेहरू इमानदार बन्नैपर्छ ।