समृद्धिको आधार पर्यटन विकास

  • त्रिशूली प्रवाह
  • २६ पुष २०८०, बिहीबार १२:५६

नेपाल पर्यटकीय सम्भावनै–सम्भावना भएको देश हो । संसारका कतिपय देश पर्यटन व्यवसायबाटै चलेका छन् । नदी र समुद्रका किनारमा रहेका देशको व्यवसाय त्यही नदी र समुद्री दृश्य पर्यटकलाई देखाएर चलेको हुन्छ । केही देश भने पर्यटन पूर्वाधारको अभावमा यौन व्यवसायबाट आय–आर्जन गरी चलेका छन् ।

विश्वका विभिन्न प्रकारका प्राकृतिक तथा मानवनिर्मित सम्पदाको प्रवद्र्धन गरी धेरै मुलुकले राम्रो आम्दानी गरिरहेका छन् । भारतको ताजमहल, चीनको ग्रेटवाल यस्ता संसारप्रसिद्ध मानवनिर्मित सम्पदा हुन् भने नायगरा फल्सलगायतका प्राकृतिक सम्पदा पर्यटन विकासको राम्रो माध्यम बनेका छन् । हाम्रो देशमा मानवनिर्मित यस्ता धेरै आश्चर्य र ठूला खालका चाखलाग्दो सम्पदा धेरै छैनन्, तर प्राकृतिक तथा पुरातात्विक सम्पदा भने प्रशस्त मात्रामा रहेका छन् । यिनको उचित सदुपयोग गर्न सक्ने हो भने हामीले रोजगारी खोज्दै अरूका देशमा जानुपर्दैन । अपमानित भएर काम गर्नुपर्दैन । विश्वसम्पदा सूचीमा सूचीकृत दशवटा सम्पदा हाम्रो देशमा रहेका छन् । लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, काठमाडौं, ललितपुर तथा भक्तपुरका तीनवटा दरबार क्षेत्र, चाँगुनारायण मन्दिर क्षेत्र, पशुपतिनाथ मन्दिर क्षेत्र, बौद्धनाथ स्तूप र स्वयम्भूनाथ क्षेत्र त पहिले नै विश्वसम्पदा सूचीमा सूचीकृत भइसकेका छन् भने नुवाकोट दरबार, गोरखा दरबारलगायत केही सम्पदालाई थप सूचीकृत गराउन नेपाल सरकारले माग गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यति मात्र होइन, नेपालको अथाह जलभण्डारकै माध्यमबाट हामी धेरै सम्पन्न हुन सक्छौँ, तर तिनका बारेमा हामीले विश्वसामु प्रचार–प्रसार गर्न सक्नुपर्ने हुन्छ । वर्षौँदेखि योजना बनाइरहेका भए पनि तिनको कार्यान्वयनमा भने पछि परिरहेका छौँ । शान्तिका प्रवर्तक गौतम बुद्धको थातथलो लुम्बिनीको उचित प्रचार–प्रसार हामीले गर्न सकिरहेका छैनौँ । त्यसबारेको भ्रम जुन छ त्यसको निवारणको हाम्रो प्रयास पर्याप्त हुन सकेका छैन । धेरै वर्ष लगाएर जापानी वास्तुविद् जिङ्गो टाङ्गेले आधा शताब्दीअघि बनाएको गुरुयोजनाले अझैसम्म सार्थकता पाउन सकेको छैन । हामीसँग अथाह स्रोत र साधन भएर पनि हामी गरिब भएरै रहिरहेका छौँ । यो नै हाम्रो सबैभन्दा ठूलो विडम्बना हो । यति मात्र होइन, संसारकै आठ हजारभन्दा अग्ला १४ वटा हिमालमध्ये आठवटा त हाम्रै देशमा रहेका छन् । हाम्रो उत्तरी सीमाको कञ्चनजङ्घादेखि दार्चुलासम्म हिमालले घेरिएको छ । संसारमा कहिल्यै हिमाल नदेखेका विभिन्न मुलुकका कैयौँ बासिन्दालाई हामीले उचित व्यवस्था मिलाइदिन सके नेपालका हिमाल हेर्न, आरोहण गर्न र हिउँमा विभिन्न खेल खेल्न आउनेको सङ्ख्या थेग्न हामीलाई धौधौ पर्नेछ । तर, त्यसका लागि उपयुक्त मौकाको सिर्जना गर्न सरकारले आवश्यक प्रक्रिया गर्न सकेको छैन ।

यी सेता हिमाल र तिनबाट निसृत नदीहरूमा अनेकौँ क्रीडा तथा तिनको प्रयोगबाट सिर्जित विकास मात्र गर्न सक्ने हो भने हाम्रो विपन्नता दूर गर्न सकिन्छ । नेपालले बर्सेनि विकासका लागि भनेर अनेकौँ पूर्वाधार विकास गर्ने प्रयास गरेको छ, तर व्यावहारिक प्रयोगमा तदारुकता देखिएको छैन । पर्यटकका लागि हिमाल आरोहणको मार्गदर्शक बनेर आधार शिविरसम्म जानुपर्ने सरकारी अधिकारी त्यहाँसम्म पुगेर आफ्नो जिम्मेवारी पूरा गरेर फर्किएको अभिलेख मिलाएर काठमाडौंमै बसेर त्यसबापतको भत्ता खाने खालका हाम्रा व्यवहार जहिलेसम्म विद्यमान रहन्छन् त्यसबेलासम्म हाम्रो देशको पर्यटनको चौतर्फी विकास भनेको कागजी मात्र हुने कुरामा दुईमत नहोला । सरकारले हालै मात्र दुई सय स्थानलाई पर्यटकीय गन्तव्य तोकेको छ । गन्तव्य तोकेर मात्र पनि विकासले गति लिन सक्ने होइन । नेपालमा यस्ता गन्तव्य अनगिन्ती छन् तिनको आधारभूत विकास पहिले गरिनुपर्ने हुन्छ । त्यसपछि मात्र आगन्तुकलाई त्यहाँसम्म पु¥याउन उचित हुन्छ । सरकारको ध्यान खिच्न सक्नुपर्दछ । हाम्रो देशले अधिकांश समय राजनीतिक खिचातानीमा खर्चिएको छ । पर्यटनसँग सम्बन्धित गतिविधिबाट देशमा विदेशी मुद्रा आर्जन भइरहेको छ । किनकि विश्वका रमणीय देशमध्येको सुन्दर देश नेपाल पनि हो । यदाकदा नेताको मुखबाट ‘नेपाललाई सिंगापुर बनाउँछौँ’, ‘स्विटजरल्याण्ड बनाउँछौँ’ भनेर व्यक्त नगरिएका होइनन् । तर, व्यवहारमा नहुँदा पर्यटनबाट जति लाभ लिनुपर्ने हो, लिन सकिएको छैन । नेपाल यस्तो देश हो जहाँ विभिन्न मुलुकबाट पर्यटक घुम्न वा विचरण गर्न आउँछन् । नेपालमा सन् १९५७ मा नेपाल पर्यटन बोर्डको गठन भएको थियो भने १९५८ मा शाही नेपाल वायुसेवा निगमको स्थापना भएको एक वर्षपछि पर्यटन विभागको स्थापना भएको थियो । हाल देशमा पर्यटनसँग सम्बन्धित निजी संस्थाको संख्या हजारौँ छ, जसले पर्यटकलाई प्रदान गरिने सेवामा विभिन्न स्थानको भ्रमण, पदयात्रा, एडभेन्चर, बन्जी जम्पिङ, क्यानोनिङ, ¥याफ्टिङ, बोटिङ, आइस स्केटिङ, साइक्लिङ, माउन्टेनियरिङ, हाइकिङका साथै होटेल–रिसोर्ट–होमस्टे बुकिङ तथा अन्तर्राष्ट्रिय एवम् आन्तरिक एयर टिकेटिङ, टुरिस्ट बस टिकेट, भाडामा सवारीसाधनको व्यवस्था, होलिडे प्याकेज, माउन्टेन फ्लाइट, हेलिकोप्टर चार्टर, प्याराग्लाइडिङ र जङ्गल सफारीका सेवा प्रदान गर्दै आइरहेका छन् । तर, पर्यटकीय सम्भावना बोकेका धेरै स्थान नेपालमा छन् जहाँ पर्यटन प्रवद्र्धनका लागि सम्बन्धित निकायले खासै चासो देखाउने गरेको पाइँदैन । धार्मिक स्थल र बाइसे–चौबीसे राजाको दरबारको सुधार संवद्र्धनका लागि चासो दिएर प्रचार–प्रसार गर्न सके नेपाल र नेपालीको समृद्धि टाढा छैन ।