गँगटे–बट्टार–विदुर–ढुङ्गे खण्डको मुआब्जा प्रक्रिया सुरु

घरटहराको मूल्याङ्कन र प्राविधिक नापजाँच

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार १२:२२

विदुर, नौ वर्षअघि राष्ट्रिय गौरवको योजनामा छनोट भई निर्माण सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाअन्तर्गत विदुर नगरपालिका क्षेत्रको गँगटे–बट्टार–ढुङ्गे खण्डमा घरटहराको मूल्याङ्कन र प्राविधिक नापजाँचको काम बल्ल सुरु भएको छ । योजना कार्यालयले स्थानीय निकायसँगको समन्वय र सहयोगमा नगरपालिकाको गँगटे र ढुङ्गेबाट घरटहराको मूल्याङ्कन गरेर क्षतिपूर्ति दिने सूचना प्रकाशित गरेको छ । अब यो खण्डमा सडक निर्माणको प्रक्रिया अगाडि बढेको योजना प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

घरटहराको जग्गा प्राप्ति ऐन, २०३४ अनुसार क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएपछि डिजाइनअनुसार निर्माण कार्य अगाडि बढ्ने अपेक्षा सरोकारवालाले गरेका छन् । सडक निर्माण सुरु भएको आठ वर्ष पूरा भइसक्दा पनि बल्ल ५६ प्रतिशत काम सम्पन्न भएको छ । सडक योजनाको कुल लम्बाइ ८२ किलोमिटरमध्ये ३७ किलोमिटर मात्र हाल सम्पन्न भएको छ । तीन खण्डमा निर्माण सुरु गरिएको योजनामा पहिलो खण्डको मात्र काम भएको छ । पहिलो खण्ड धादिङ जिल्लाको पृथ्वी राजमार्गको गल्छीदेखि नुवाकोटको देवीघाट–गँगटे–बट्टार, विदुर–ढुङ्गे–बेत्रावती हुँदै रसुवाको मैलुङसम्मको ४६ किलोमिटर रहेको छ । मैलुङदेखि स्याफ्रुबेँसी दोस्रो खण्ड १९ किलोमिटर र स्याफ्रुबेँसीदेखि रसुवागढी (चीनको सीमा) सम्म १७ किलोमिटर तेस्रो खण्ड रहेको छ । दोस्रो खण्डको ठेकेदार दुई वर्षदेखि सम्पर्कविहीन हुँदै साइड छोडेर हराएपछि योजना कार्यालयले कालोसूचीमा राखेर ठेक्का सम्झौता खारेजको प्रक्रिया अगाडि बढाएको छ । तेस्रो खण्ड स्याफ्रुबेँसी–रसुवागढी सडकको निर्माणको जिम्मा लिएको चीन सरकार अनेक बहाना बनाएर साइडमा आएको छैन । यो खण्ड चीन सरकारको अनुदानमा निर्माण हुने र नेपाल सरकारले कार्यस्थल खाली गर्ने सम्झौता भएको थियो । नेपाल सरकारले सम्झौताअनुसार कार्यस्थल पूर्ण रूपमा खाली गराउन नसक्दा चिनियाँ पक्ष निर्माण क्षेत्रमा आउने समय आजभोलि–आजभोलि भन्दै टारिरहेको योजनाका प्राविधिकले जानकारी दिएका छन् ।

०७२/७३ बाट निर्माण सुरु भएको गौरवको योजनाको यो सडक छिमेकी मित्रराष्ट्र भारतले ०७२ सालमा नाकाबन्दी गरेपछि भारतसँगको परनिर्भरता कम गर्न निर्माण सुरु गरिएको थियो । धादिङ, नुवाकोट र रसुवालाई समेटेर निर्माण सुरु गरिएको यो योजनाको मुख्य उद्देश्य उत्तर–दक्षिण व्यापारी नाकाको रूपमा विकास गर्ने रहेको छ । दक्षिण एसियाली मापदण्डको सडक निर्माण थालेको यो योजना ०७७/७८ मा सम्पन्न गर्ने गरी निर्माण सुरु भए पनि भारतीय नाकाबन्दी, भूकम्प र कोरोनालगायत जग्गा मुआब्जा विवादले निर्माण कार्य रोकिँदै, खुल्दै अगाडि बढिरहेको थियो । पहिलो खण्डको विदुर नगरपालिकाको गँगटे चोकदेखि बट्टार, विदुर हुँदै ढुङ्गे पेट्रोल पम्पसम्म मुआब्जा विवादले निर्माण कार्य अगाडि बढ्न सकिरहेको थिएन । धादिङ, नुवाकोट र रसुवा जिल्लालाई समेटेर निर्माण सुरु गरिएको यो योजनाको मुख्य उद्देश्य उत्तर दक्षिण व्यापारी नाकाको रूपमा विकास गर्ने रहेको छ । दक्षिण एसियाली मापदण्डको सडक निर्माण थालेको यो योजना ०७७/७८ मा सम्पन्न गर्ने गरी निर्माण सुरु भए पनि भारतीय नाकाबन्दी, भूकम्प र कोरोनालगायत जग्गा मुआब्जा विवादले निर्माण कार्य रोकिँदै, खुल्दै अगाडि बढिरहेको थियो । निर्माण कार्यलाई तीन खण्डमा विभाजन गरेर सुरु भएको योजनाको पहिलो खण्ड धादिङ जिल्लाको पृथ्वी राजमार्ग गल्छीदेखि नुवाकोटको देवीघाट, बट्टार, ढुङ्गे, बेत्रावती हुँदै रसुवाको मैलुङसम्मको ४६ किलोमिटर रहेको छ । मैलुङदेखि स्याफ्रुबेँसी दोस्रो खण्ड १९ किलोमिटर र चीन सरकारबाट निर्माण गर्ने स्याफ्रुबेँसी–रसुवागढी १७ किलोमिटर तेस्रो खण्ड रहेको छ । तीन खण्डमध्ये पहिलो खण्डको मात्र निर्माण कार्य आठ वर्षमा भएको छ । दुईवटा खण्डमध्ये दोस्रो खण्डको निर्माण कार्य छाडेर ठेकेदार सम्पर्कविहीन भएको छ भने तेस्रो खण्डको निर्माण कार्य चीन सरकारले गर्ने सम्झौता भए पनि आठ वर्षको यो अवधिमा सुरु नै गरेको छैन । पहिलो खण्डको विदुर नगरपालिकाको गँगटे चोकदेखि बट्टार, विदुर हुँदै ढुङ्गे पेट्रोल पम्पसम्म मुआब्जा विवादले निर्माण कार्य अगाडि बढ्न सकिरहेको छैन । योजना कार्यालयले मुआब्जा दिन नसक्ने भएपछि निर्माण कार्य थप जटिल बनेको छ । गँगटे–ढुङ्गे क्षेत्रमा केन्द्रविन्दुबाट सडकको सीमा दायाँबायाँ १५–१५ मिटर बनाउने गरी ३० मिटरको डिजाइन स्वीकृति भएकोले यही अवस्थामा नबन्ने भएको छ ।

गल्छी–त्रिशूली–मैलुङ सडकखण्डको पिपलटार चोकमा रहेका शिवप्रसाद गजुरेलले सडक निर्माणमा अवरोध गर्दै उच्च अदालतमा दिएको मुद्दाको फैसला भइसकेको भए पनि स्थानीय प्रशासन र स्थानीय निकायले कार्यान्वयनमा सहयोग नगर्दा बेवारिस बनिरहेको छ । त्यसैगरी, यो खण्डको पिपलटार–ढुङ्गे क्षेत्रका प्रभावितले मुआब्जाका लागि अदालतमा दिएको मुद्दामा अदालतबाट परमादेश जारी भएको झण्डै डेढ वर्षपछि घरटहरा हटाउन स्थानीय प्रशासन, विदुर नगरपालिकाले समन्वय गरी प्रक्रिया अगाडि बढेको छ । यो खण्डको आठ किलोमिटर सडकमा काम गर्ने प्रक्रिया बल्ल सुरु भएको छ । ठेकेदार र योजना कार्यालयले यो क्षेत्रका आठ सयभन्दा बढी घरटहरा भत्काउने विवरण तयार गरेर चिनो लगाउने कार्य आठ महिनाअघि नै सुरु गर्दा स्थानीयले अवरोध गरेका थिए । नापजाँच गर्न बट्टारमा स्थानीयले प्राविधिकलाई छिर्नसमेत दिएका थिएनन् । अदालतको फैसलापछि यो खण्डका सडक प्रभावितले जग्गाको मुआब्जा नपाउने भए पनि घरटहराको नापजाँच गरेर नगरपालिका र वडा कार्यालयले चित्तबुझ्दो मूल्याङ्कन गर्ने आश्वासन दिएपछि प्रक्रिया अगाडि बढेको हो । यसै खण्डको बेत्रावती पुलदेखि बेत्रावती वाई–जङ्सनसम्म सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले तीन सय मिटर सडक निर्माणको काम रोकिएको छ । उक्त क्षेत्रमा जग्गा प्राप्तिदेखि निर्माण कार्य पूर्ण रूपमा सुरु हुन सकेको छैन । त्यसैगरी, गल्छी–मैलुङखण्डको एक किलोमिटर शान्तिबजार क्षेत्रमा स्थानीयले मुआब्जा र घर, टहराको क्षतिपूर्ति पनि नबुझ्ने र निर्माण कार्य पनि गर्न नदिएर विरोध जारी राखेकाले तीन वर्षदेखि निर्माण रोकिएको छ । यसमा पनि स्थानीय प्रशासन र स्थानीय तहले समन्वय र सहयोग नगरे निर्माण कार्य अलपत्र पर्ने भएको छ ।

तत्कालीन अघोषित भारतीय नाकाबन्दीसँगै नेपाल र चीनबीच रसुवागढी–केरुङबाट हुने आर्थिक तथा व्यापारिक कारोबारलाई छिटो–छरितो र सहज तुल्याउने उद्देश्यले योजनाको पहिलो चरणअन्तर्गत गल्छी–त्रिशूली–मैलुङ सडक ०७३ साल कात्तिक ७ गतेबाट निर्माण थालिएको थियो । पारित समय र तालिकाभन्दा निकै ढिलो गरी निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङको ४६ किलोमिटरमध्ये विभिन्न आरोह, अवरोहका बाबजुद पनि आ.व.०७९/८० को असार मसान्तसम्म ३६ किलोमिटर सडक अन्तर्राष्ट्रिय मापदण्डबमोजिम कालोपत्रे भइसकेको छ । त्यसपछि टुक्रा–टाक्री जोड्दा एक किलोमिटर ६ महिनामा कालोपत्रे भएको छ । सामुदायिक वनको रुख कटान तथा स्थानीय मुआब्जा विवादलगायतका समस्याका कारण निर्धारित समय र तालिकाभन्दा निकै ढिलो निर्माण भइरहेको योजनाको हाल निर्मित संरचना तथा कालोपत्रेसँगै उक्त क्षेत्रको सौन्दर्य मनोरम देखिएको छ । गल्छी–त्रिशूली–मैलुङअन्तर्गत धादिङको गल्छीदेखि रसुवा र नुवाकोट सीमा बेत्रावतीसम्मका विभिन्न क्षेत्रमा डबल लेनको चौडा सडक हाल विश्वमा प्रचलित आसफाल्ट प्रविधिमा कालोपत्रे भइसकेको छ । जसका कारण विगतमा धुवाँ, धुलोले आजित सर्वसाधारण अहिले आफ्नो घरआँगन छेउमा अन्तर्राष्ट्रियस्तरको डबल लियरसहितको फराकिलो र चौडा सडक निर्माणसँगै अहिले धुवाँ, धुलोबाट राहत मिलेको बेत्रावतीका विवश डङ्गोलले बताएका छन् । निर्माण कार्यतालिकाअनुसार २१ महिना अर्थात् २०७५ भदौ ७ गते निर्माण सम्पन्न गर्ने गरी २०७३ साल कात्तिक अन्तिमबाट निर्माण थालेको यो सडक योजनाको पहिलो खण्ड तीन अर्ब ६३ लागतमा निर्माण भइरहेको छ । गल्छी–त्रिशूली–मैलुङ खण्डको ४६ किलोमिटर सडक निर्माण कम्पनी कोबेक–तुन्दी र रसुवा ज्वाइन्ट भेन्चरमा निर्माण भइरहेको हो । यो खण्डको निर्माणकार्य ८२ प्रतिशत सम्पन्न भएको छ । यसै खण्डमा निर्माण हुन बाँकी रहेको स्थानका लागि टेवा पर्खालको परिणाम पर्याप्त नभएकाले निर्माण व्यवसायीले पेस गरेको भिओभी (भेरिएसन आदेश) को चरणमा रहेको जानकारी योजना प्रमुख ध्रुवकुमार श्रेष्ठले दिए । गल्छी–त्रिशूली–मैलुङ खण्डको मैलुङ र सिम्लेमा मात्र सबबेसको काम भइरहेको छ । यो खण्डको ठेकेदारले काम गर्ने ठाउँ योजना कार्यालयले खाली नगदिएको, समन्वय र सहयोग नगरेको आरोप लगाएको छ ।