कोरोना फैलियो, सतर्कता अपनाऔँ

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार १२:२५

भारतमा फैलिएको ओमिक्रोन भाइरसको नयाँ भेरियन्ट जेएन–१ नेपालमा पनि देखिइसक्यो । ओमिक्रोनको नयाँ सबभेरियन्ट बिस्तारै फैलिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यसको लक्षणमा सामान्य ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्नेलगायतका छन् । हाच्छयुँ गर्दा निस्केको छिटाबाट नै एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सर्ने गर्छ । यो सबभेरियन्ट भाइरस छिटो फैलिए पनि मानव स्वास्थ्यमा भने हानि पु¥याएको पाइएको छैन ।

बिनामास्क हिँडडुल र जमघट गर्नेको सङ्ख्या दिनानुदिन सबै क्षेत्रमा बढ्दा सङ्क्रमणको फैलावट बढी जोखिम सबै वर्ग र समूहका लागि घातक बन्न सक्छ । त्यसैले, सबै नागरिक सचेत र सजग हुन आवश्यक छ । सरकारले पनि नेपाल–भारत सीमानाकामा सतर्कता अपनाउन जरुरी छ । दुई देशबीच खुला सीमाका कारण आवत–जावतमा विशेष सतर्कता चाहिन्छ । जब कि कोरोनाको नयाँ भेरियन्ट थप भित्रिन नपाओस् । राज्यका निकायको ध्यान यसतर्फ गएको देखिँदैन । यसकै परिणाम नेपालमा नयाँ भेरियन्ट फैलिएको छ । हाम्रा नाकामा विगतमा पनि जति सतर्कता अपनाइनुपथ्र्यो त्यति नअपनाइएको यथार्थ छ । तापनि, विश्वव्यापी महामारीबाट हामी मात्रै अछुतो त रहन सक्दैनथ्यौँ । तर, सतर्कता र सावधानीले पक्कै पनि धेरै हदसम्म जोगाउँछ, बचाउँछ नै । जेएन–१ भेरियन्टको विशेषता के छ भने यसको सङ्क्रमणदर धेरै तीव्र देखिएको छ । त्यहीकारण पनि सतर्कताको मात्रा झन् बढी आवश्यक छ । विज्ञका अनुसार यो भेरियन्टमा पनि ओमिक्रोन भाइरस सङ्क्रमण भएजस्तै टाउको दुख्ने, घाँटी दुख्ने, शिथिल महसुस हुने र ज्वरो आउनेलगायत लक्षण देखिन्छन् । तर, मृत्युदर अघिल्लो खेपमा जस्तो डरलाग्दो छैन । यद्यपि, भारतमा यसको सङ्क्रमणबाट बिरामीको मृत्यु भइसकेको छ । त्यसैले नै हामीकहाँ सतर्कता अपनाउनु अत्यावश्यक भइसकेको छ ।

जुनसुकै सरुवा रोगको प्रसार (फैलने क्रम)मा मुख्य कारण मानिसको गतिविधि नै हो । हामी आफैँ पनि सावधान/सतर्क रहन आवश्यक छ । सङ्क्रमणबाट जोगिने उपाय अपनाउन लाग्नुपर्छ । एका–अर्काबीच भौतिक दूरी कायम गर्नुपर्छ । मास्कको प्रयोग गर्नुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ । अहिले जाडो मौसम भएकाले यसै पनि बालबालिका, अशक्तता भएका, ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन विभिन्न उपाय अवलम्बन गरिरहनुपर्छ । त्यसमाथि यस्ता सङ्क्रमणले बिरामी, ज्येष्ठ नागरिक, दीर्घरोगीलाई सजिलै समातिहाल्छ । तसर्थ, त्यस्ता नागरिकको स्वास्थ्य रक्षार्थ घरपरिवारले पनि सुझबुझपूर्ण व्यवहार गर्नुपर्छ । नागरिक पनि सचेत बन्ने र राज्यले पनि निगरानीसहित सचेतना अभियान चलाउने हो भने सङ्क्रमणले क्षति पु¥याउन मुस्किल हुन्छ ।