गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार उत्सुकलाई

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार १२:३९

सुइरेचौर (शिवपुरी), नुवाकोटबाट ०५७ देखि निरन्तर बिहीबार प्रकाशित हुँदै आइरहेको ‘त्रिशूली प्रवाह साप्ताहिक’का सम्पादक शरण उत्सुक सापकोटा शनिबार गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

सम्पादक समाज नेपालले विगत १८ वर्षदेखि गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ । नुवाकोटको शिवपुरी गाउँपालिकाको पर्यटकीयस्थल सुइरेचौरमा शनिबार आयोजना गरेको विशेष कार्यक्रममा सम्पादक सापकोटालाई गोविन्द वियोगी स्मृति ट्रस्टद्वारा स्थापित ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । उनलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले पुरस्कारस्वरूप १५ हजार एक रुपैयाँसहित प्रशंसापत्र प्रदान गरेका थिए । सम्पादक समाजका अध्यक्ष पुरू रिसालको सभापतित्वमा भएको कार्यक्रममा यस वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार योहो टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीलाई प्रदान गरिएको थियो । उनलाई पुरस्कारस्वरूप २५ हजार एक रुपैयाँ र प्रशंसापत्र प्रदान गरिएको छ । सम्पादक समाज नेपालबाट सो अवसरमा दुईजना पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेमा वरिष्ठ पत्रकार एवम् राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले र उज्यालो रेडियो नेटवर्कमा कार्यरत मन्टेश्वरी राजभण्डारी रहेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सञ्जालको विकासको कारण मूलधारको सञ्चारमाध्यम धरापमा पर्दै गइरहेको बताए । विषयवस्तुको गहिराइमा गएर बुझ्ने बानी हराउँदै गएकाले सामाजिक सञ्जाललाई आधार मानेर नकारात्मक तवरले टीका–टिप्पणी गर्ने संस्कार बसेको उनको भनाइ छ । पत्रकारिता क्षेत्रमा गोविन्द वियोगीको योगदानको चर्चा गर्दै उनले देशमा देखिएको आर्थिक सङ्कटले पत्रकारिता पेसामा समस्या उत्पन्न नगराएकोसमेत उल्लेख गरे । ‘सूचना प्रविधिको विकासले परम्परागत सञ्चारमाध्यम जोखिममा परेका छन् । हातहातमा स्मार्ट फोन छ, त्यहाँ जसले जे पनि राख्न पाउँछ । कतिपय झुटा कुरा पनि सेयर भइरहेका हुन्छन् । हेर्दा–हेर्दै त्यही कुरा मानिसलाई सत्य लाग्न थाल्छ । आममानिसले गम्भीर कुराचाहिँ पढ्न छाडे । मानिस गहिराइमा जान छोडे, टिकटकमा रमाउन थाले । गहिराइमा पुगेर सत्य–तथ्य बुझेर विचार बनाउन मानिसले छाडे । यो अत्यन्तै खतरनाक हो,’ उनले भने । बिपी कोइरालाले भन्ने गरेको कुरा स्मरण गर्दै मन्त्री महतले भने, ‘बिपीले भन्नुभएको थियो– जब सत्यको मुख बन्द हुन्छ, झुटोको थुतुनो चल्छ । अहिले सामाजिक सञ्जालबाट धेरैजसो झुटोको थुनुतो चलेको छ । सत्य बुझेका गाली खाइन्छ भनेर चुप लागेर बसेका छन् ।’ सामाजिक सञ्जालमा मात्र निर्भर हुन नहुने मूलधारका सञ्चारमाध्यमलाई पनि अगाडि ल्याउनुपर्ने उनको भनाइ थियो । प्रतिबन्धित अवस्थामा पनि निर्भीक भएर पत्रकारितामार्फत आफ्नो कुरा राख्नु चानचुने कुरा नभएको उनले बताए । उनले विगतको पत्रकारिता स्मरण गर्दै लोकतान्त्रिक धारबाट होमनाथ दाहाल र वामपन्थी धारबाट मातृभूमि गोविन्द वियोगीले प्रकाशित गर्ने गरेको स्मरण गरे । प्रत्येक साता यी दुई पत्रिका निस्केको दिन हेर्नैपर्ने हुने उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्कालगायतले सञ्चारमाध्यमलाई उचाइमा पु¥याउने पत्रकारको व्यक्तिगत जीवन आर्थिक रूपले कमजोर हुँदै गइरहेकाले राज्यको ध्यान जानु आवश्यक रहेको बताए ।